भर्खरै

चौपायालाई लामखुट्टेबाट जोगाउन बालिएको घुरबाट कतै विद्युत् सर्ट हुँदा आगलागी, करोडौ क्षति

  • प्रकाशित मिति : शुक्र, जेठ १३, २०७९
  • - विद्युत संसार
title

काठमाडाै १३ जेठ । सप्तरीको छिन्नमस्ता गाउँँपालिका–५ लोखरम भटोत्तरमा आज बिहान आगलागी हुँदा छ वटा घरमा क्षति पुगेको छ । आगलागीका कारण महेन्द्र कामैत, शङ्कर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा पूर्णरुपमा क्षति भएको छ । 
 
आगलागीबाट गाउँबस्तीलाई जोगाउन बेचन कामैत र शनिचर कामैतको घरसमेत भत्काउनुपरेको छिन्नमस्ता गाउँपालिका–५ का वडाध्यक्ष जयप्रकाश ठाकुरले बताए । उनका अनुसार गुहाली घरबाट सल्केको आगो बिहान ३ बजे महेन्द्रले थाहा पाएर गुहार मागेपछि करिब तीन घण्टाको प्रयासमा स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् । 
 
चौपायालाई लामखुट्टेबाट जोगाउन बालिएको घुरबाट आगो सल्किएको महेन्द्रले बताए । आगलागीबाट मानवीय क्षति नभए पनि दुई खसी र दुई बाख्रा जलेर मरेका छन् । 
 
आगलागीका कारण ती परिवारको घर र गोठसहित लत्ताकपडा, फर्निचर, अन्नपात, भाँडाकुँडा जल्दा रु २३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बारुणयन्त्र पुग्ने बाटो नभएकाले बढी क्षति भएको भरत कामैतले बताए ।
 
बागलुङमा आगलागी हुँदा घर नष्ट
बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा  आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।  गए राति विद्युत् सर्ट हुँदा भएको  आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद र सुनचाँदीसमेत जलेर नष्ट भएको परिवारले जनाएको छ ।
 
रातको समयमा एक्कासी आगलागी भएपछि परिवारले भागेर ज्यान जोगाएको गौतमले बताए । राति ९ बजेदेखि सुरु भएको आगलागी १ बजेमात्रै नियन्त्रणमा आएको थियो । आगलागीलगत्तै प्रहरीलाई खबर गरेपछि बागलुङ नगरपालिकाको दमकल र प्रहरी तथा स्थानीयवासीको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । 
 
आगलागीबाट घर पूर्णरूपमा जलेको छ भने ग्यास सिलिन्डर पड्किँदा छिमेकका केही घरमा समेत आगो पुगेको थियो । घर जलेर भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रनाउ रानाले बताए ।

प्रतिक्रिया