भर्खरै

संघ महासंघलाई लागेको दाग ?

  • प्रकाशित मिति : बुध, जेठ १८, २०७९
  • - विद्युत संसार
title

काठमाडौं १८ जेठ । विद्युतीय सामग्रीको क्षेत्र भोटेबहालमा यो साता एउटा घटनाले सबैलाई चकित बनायो । जुन घटनाले विद्युतीय व्यवसायीलाई मात्र होईन सबै क्षेत्रका व्यवसायीमा लागेको आँखाको पट्टि खोलिदिएको छ । चोरीको घटनाहरु बजारमा प्रायः नसुनेको दिन कमै हुन्छ तर चोरीको यस्तो घटना जहाँ काम गर्दै गरेका कर्मचारी नै सांगठनिक रुपमा आफैंले काम गरेको पसलमा चोरी गर्दथे ।
 
विगत केही समयदेखि भोटेबहालका विभिन्न पसलहरु मा कार्यरत कर्मचारीहरुको मिलेमतोमा भएको चोरीले भोटेवहालका व्यवसायीहरुलाई त्रसित बनाएको छ । भोटेबहालको बिजुली बजार भवनबाट चोरी भएका सामग्रीहरु जनसेवा प्रहरीको सहयोगमा बरामद गरिएको छ । चोरी भएका सामान करिब रु.५० लाख बराबरको रहेको छ । तीन पसलका कर्मचारीहरुले सांगाठनिक रुपमा नै चोरी गरी राखिएका सामानहरुको गोदाम समेत प्रहरीले फेला परेको छ । 
 
यो कार्यमा संलग्न ६ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चोरी गरिएको सामग्री किन्ने दुई पसलका संचालक समेत पक्राउ परेका छन् । यसले के संकेत गर्दछ भने एउटै व्यवसायमा आवद्ध भएका व्यवसायीहरु नै एकताबद्ध नभई आ–आफ्नै स्वार्थमा चल्ने गरेका छन् । किनकी कुनै पनि सामग्री विना बिल खरिद बिक्रि हुन्छ भने त्यो गैरकानुनी हो भनी नेपाल सरकारले व्याख्या गरेको छ । व्यवसायी–व्यवसायी एकताबद्ध र सदाचार बनाउन विद्युतीय व्यवसायी संघ देखि महासंघ सम्म भएको अवस्थामा यस्ता घटनाहरुले व्यवसायी बीचको द्धन्द्धलाई नै चित्रण गराएको छ । 
 
 हुन त यस्ता घटनामा संघ महासंघले आफ्नो भुमिकाबाट बाहिर गएको छ भन्न त खोजिएको होईन तर पनि बेलाबखत व्यवसायी बीचको एकतामा ठूलो भाषण र नारा घन्काउँदै गर्दा व्यवसायी बीच नै दुरी टाढा भएको यस घटनाले पुष्टि गर्दछ । संघ महासंघलाई लाग्ने गरेको यस्ता दाग कसरी मेटाउँदछ त्यो त समयले बताउने नै छ । अझ यस्ता घटनामा आवद्ध भएका कर्मचारी देखि स्वयम् व्यवसायीहरुलाई कानुनी दायरामा ल्याउनका निम्ति संघ महासंघ तथा सम्बन्धित निकायहरुले ठूलो भुमिका खेल्नुपर्ने देखिन्छ । 
 
यस्तो समस्या आउनुको मुख्य कारण भनेको व्यवसायी–व्यवसायी बीच बेमेल हुनु हो । व्यवसायी–व्यवसायी भाइचाराको सम्बन्ध नभई आफ्नो स्वार्थ हेर्ने भएकोले चोरीका घटनाहरु मौलाई रहेको छ । त्यसैले यस्ता घटनाहरु जरै देखि उखेलेर फ्याक्न संघ महासंघ ठूलो भूमिका खेल्नुपर्ने जरुरी देखिन्छ । 

प्रतिक्रिया