विद्युत् विस्तारमा गति लिँदै भोजपुर

  • प्रकाशित मिति : आइत, जेठ २९, २०७९
  • - रासस
title

भोजपुर, २९ जेठ । पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ । यहाँका जनताले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४० वर्ष पुग्यो । विसं २०३८ मा सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले उपभोग गर्न गर्दै आएका थिए । 
 
२५० किलोवाट क्षमताको उक्त जलविद्युत् गृहमा उत्पादन भएको विद्युतले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो । स्थानीयस्तरमा उत्पादन भएको यो विद्युतगृह तत्कालीन विद्रोही नेकपा (माओवादी)ले भत्काइदिएपछि लामो समय भोजपुर अन्धकारमय समेत बनेको थियो । यहाँ यो गृहबाहेक विद्युतको अन्य कुनै विकल्प पनि थिएन । 
 
मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचेअनुरुपले काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइनको विस्तारको पहल थलिएको हो । त्यो अवधिमा केही स–साना विद्युत् आयोजना सञ्चालन थिए । ग्रामीण भेगका अधिकांश स्थानीयले भने सौर्यबत्ति, टुकीबत्ती, दियालोलगायत बालेर आफ्नो जनजीवन चलाउँदै आएको अवस्था देखिन्छ । भोजपुरको विद्युतको इतिहास बोकेको सो विद्युतगृह भने हाल बन्द अवस्थामा छ । 
 
विसं २०६७ कात्तिक १९ देखि हिले–भोजपुर ३३ केभीए राष्ट्रिय प्रसारण लाइन भोजपुरमा जोडिएको हो । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युतको प्रसारण लाइनबाट यहाँका ५० दशमलब ३३ प्रतिशत जनता मात्र लाभान्वित छन् । हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको छ । काममा ढिलाइ हुँदा विद्युत् प्राधिकरणले गरेको कामप्रति यहाँका स्थानीय तह तथा नागरिक असन्तुष्ट बनेका छन् । 
 
केन्द्रीय प्रसारण लाइन यहाँका प्रायःसबै स्थानीय तहमा पु¥याउने प्रयास भइरहेको छ । पूर्णरुपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिदैन । सबै भन्दाबढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत मानिसले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गरिरहेका छन् । यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ । यो  प्रदेश १ उज्यालो बन्ने पहिलो स्थानीय तह पनि हो । 
 
दोस्रोमा केन्द्रीय प्रसारणलाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ । यी दुई स्थानीय तहमा पनि पूर्णरुपमा केन्द्रीय प्रसारण लाइन विस्तार हुन् बाँकी छ । यहाँका केही नागरिकले स्थानीयस्तरका साना जलविद्युत् तथा सोलारको प्रयोग गरिरहेको अवस्था रहेको छ । 
 
थपिँदैछन् जलविद्युत् आयोजना 
 
भोजपुरमा पनि जलविद्युत्का क्षेत्रमा लगानी बढिरहेको छ । इष्टर्न हाइड्रोपावर र टक्सार पिखुला खोला हाइड्रो पावरको निर्माण सम्पन्न भएर यसको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।  इष्टर्नबाट पाँच र टक्सार पिखुवा खोला हाइड्रोपावरबाट आठ गरी दैनिक १३ मेगावाट विद्युत् उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । यी  विद्युत् गृहबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । 
 
उत्तरी क्षेत्रमा अवस्थित चिर्खुवा खोला–अपर र लोअर दुई आयोजना निर्माण भइरहेका छन् । चार दशमलव सात मेगावाटको अपर चिर्खुवाको काम ८० प्रतिशत बढी काम सकिएको निर्माण कम्पनीले जनाएको छ । 
 
यसको पाइपलाइन तीन किलोमिटर रहेको छ ।  त्यस्तै चार दशमलव छ मेगावाटको लोअर इर्खुवाको पनि काम सुरु हुने चरणमा छ । 
 
त्यस्तै जिल्लाको सबैभन्दा ठूलो इर्खुवा खोला जलविद्युत् आयोजनाको काम पनि तीव्रगति भइरहेको छ । १५ मेगावाट क्षमता रहेको यो आयोजना दुई वर्षअघिबाट सुरु भएको हो । दुई दशमलव पाँच किलोमिटर पाइपलाइन भएको यस आयोजनाको दुई दशमलव तीन किलोमिटर पाएप लाइन सुरुङ रहेको छ । 
 
सोही खोलामा १५ मेगावाट क्षमताको अपर इर्खुवा खोला आयोजना निर्माणको तयारी भइरहेको लगानीकर्ताले बताएका छन् । 
 
त्यस्तैगरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको सिमनामा पर्ने श्याम खोलाबाट पनि सात मेगावाट क्षमताको विद्युत् आयोजना सञ्चालनको तयारी भइरहेको छ । यीबाहेक जिल्लामा सानाठूला गरी दुई दर्जन बढी आयोजना सञ्चालन तथा निर्माणको तयारीमा रहेको विद्युत् क्षेत्रमा काम गर्दै आएका कम्पनीले जनाएका छन् । 
 
आयोजनाको संरक्षणमा ध्यान दिइएन 
      
संरक्षणको अभावमा जीर्ण बनेको भोजपुरको सिक्तेल खोला जलविद्युत् आयोजनाको संरक्षण ध्यान दिइएको छैन । बिग्रिएको करिब १३ वर्षभन्दा बढी समय हुँदा पनि सञ्चालनमा नआउँदा विद्युतका सामग्री कबाडीमा परिणत भएका छन् । 
 
जिल्लामा तत्कालीन समयमा बजार क्षेत्रसँगै आसपासका ठाँउमा विद्युत् वितरण गरिरहेको यो आयोजना सम्बन्धित निकायको आपसी विवादका कारण अलपत्र परेको हो  । बन्द भएको लामो समय हुँदा पनि सञ्चालनमा ल्याउन कसैको खास चासो गएको छैन । सडक विस्तार गर्ने क्रममा ढुङ्गा लडेर विद्युत् गृहमा क्षति पुगेको छ भने सामग्री क्षत्विक्षत् बनेका छन् । 
 
तत्कालीन समयमा सरकारले निजी क्षेत्रलाई विद्युतगृह हस्तान्तरण गर्ने क्रममा यो जलविद्युत् आयोजना  भोजपुर विद्युत् सहयोग समितिलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि सिर्जना भएको समिति र प्राविधीकरणबीच आपसी किचलोका कारण यो विद्युतगृह अलपत्र बनेको हो ।
 
जिल्लामा केन्द्रीय प्रसारण लाइन नजोडिँदासम्म यो विद्युत्गृहले भोजपुुरमा विद्युत् वितरण गरिरहेको थियो । आयोजनाले तत्कालीन समयमा २५० किलोवाट विद्युत् उत्पादन गरेको थियो । विद्युतगृह बन्द हुनुमा स्थानीयले पनि दुखः व्यक्त गरिरहेका छन् ।
 
विद्युत्गृह विसं २०३८ सालबाट सञ्चालनमा आएको थियो । भोजपुरको विद्युत्को विकासमा महत्वपूर्ण भूमिका खेलेको उक्त विद्युतगृह संरक्षण गरिनुपर्ने स्थानीयको माग छ । सरोकारवाला पक्षले यसको संरक्षणमा ध्यान नदिँदा राज्यको करोडौँका सामग्री कबाडीमा परिणत भएका छन् । 
 
यसलाई पुनःनिर्माण गरेर विद्युत् उत्पादनसँग जोड्नसके आर्थिकरुपमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–६ कोटमा पर्ने यो विद्युत्गृहको पोखरी पनि जीर्ण बन्दै गएको छ भने पानी ल्याउन प्रयोग गरिएका कुलोसमेत जीर्ण बनेको छ । 
 
केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि यो जलविद्युत् आयोजना ओझेलमा परेको देखिन्छ । यो आयोजना अलपत्र हुँदा यहाँका कर्मचारीले रोजगारीसमेत गुमाएका छन् । अहिले यहाँका अधिकांश मेसिन उपकरण काम नलाग्ने अवस्थामा पुगेका छन् । 

प्रतिक्रिया