भर्खरै

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर १९९, डिजेल १९२ रुपैयाँ

  • प्रकाशित मिति : सोम, असार ६, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, ६ असार । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार  राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले गरेको मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर रु १९९  र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १९२ पुगेको छ ।
 
निगमले आइतबार राती एक विज्ञप्ति जारी गरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा रु २१ ले वृद्धि गरी प्रतिलिटर रु १९९ सय रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा रु २७ ले वृद्धि गरी प्रतिलिटर रु १९२ रुपैयाँ कायम गरिएको जनाएको छ ।
 
त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ रु १९ ले वृद्धि गरी प्रतिलिटर १८५ र हवाई इन्धन (बाह्य) तर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर अमेरिकी डलर १,६४५ कायम गरिएको जनाएको छ । निगमले एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत नै राखिएको जनाएको छ
 
पछिल्लो १५ दिनमा मात्र निगमलाई करिब ४ अर्ब ८१ करोड रुपैयाँ घाटा भएको जनाइएको छ । असार २ गते इन्डियन आयल कर्पोरेसनले तेलको बढेको मूल्य पठाएको थियो ।
    
मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन
 
 पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा प्रदर्शन गरेको छ ।
 
बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सडकमा टायर बालेर केहीबेर सवारी साधनलाई चल्न नदिएका हुन् ।
 

प्रतिक्रिया