भर्खरै

मुआब्जा रकम बैंकहरुले झिक्न नदिएको भन्दै प्रभावित स्थानीयको गुनासो

  • प्रकाशित मिति : सोम, असार ६, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ६ असार । १२ सय मेगावट बुढीगण्डकी आयोजनाबाट प्रभावित स्थानीयको घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा रकम बैंकले झिक्न नदिएको प्रति गुनासो गरेका छन् ।
 
बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले आज सोमबार एक विज्ञप्ती जारी गर्दै मुआब्जा रकम प्रयोग गर्न नपाएको प्रति आक्रोश व्यक्त गरेको छ । बुढीगण्डकी वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाले बैंक खातामा रकम पठाएको १५ दिन भइसक्दा पनिसम्बन्धित बैंकले प्रयोग गर्न नदिएको भन्दै समितिले विरोध जनाएको हो । 
 
समितिको विज्ञप्तिमा भनिएको छ, ‘मुआब्जा रकम बैंक खातामा दाखिला भएको १५ दिनभन्दा बढी हुँदा पनि बैैंकले प्रयोग गर्न नदिनुमा आयोजना कार्यालयका जिम्मेवार अधिकारी र बैंक कर्मचारीको मिलेमतोको आशंका गरिएको छ ।’ 
 
समितिले मुआब्जा वापत् खातामा आएको रकम डुवानबासीलाई आफ्नो चाहना अनुसार प्रयोग गर्न दिन सरोकारवाला निकायसँग माग गरेको छ । 
 
बूढीगण्डकी मुआब्जा, वातावरण, पुनर्बास तथा पुनः स्थापना इकाइले प्रभावितलाई आफ्नो घर गोठ, संरचना र बोटविरुवाको कति दररेटमा मुआब्जा दिएको हो भनी जानकारी दिएको छैन । 
समितिका संयोजक हरेराम ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘बुढीगण्डकी मुआब्जा, वातावरण, पुनर्बास तथा पुनर्स्थापना इकाइले डुवानबासीलाई आफ्नो घर गोठ, संरचना र बोटविरुवाको के कति दररेटमा कति मुआब्जा दिएको हो भनी जानकारी दिन अस्वीकार गर्नु गैरजिम्मेवारीपन हो ।’ 
 
 डुवानबासीलाई आफ्नो घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा दररेट थाहा दिन र यदि घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा दिन छुटेको भए मुआब्जा पाउने सुनिश्चित गर्न पनि सरोकार समितिले माग गरेको छ ।
 

प्रतिक्रिया