भर्खरै

दूधकोसीको पावरहाउस जाने सडक निर्माण गर्ने समझदारी

  • प्रकाशित मिति : शुक्र, असार २४, २०७९
  • - रासस
title

खोटाङ, २४ असार । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाबजारबाट उत्पादन गरिने दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको पावरहाउ निर्माण गरिने ठाउँसम्म पुग्ने सडक निर्माण गर्न समझदारी कायम गरिएको छ । 
 
नेपाल विद्युत् प्राधिकरण, दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना र हलेसी तुवाचुङ नगरपालिकाबीचमा धितुङको रातेखोलादेखि बैखुखोलासम्मको साढे तीन किलोमिटर कन्ट्रक्सन एक्सेस रोडको ट्याक खोल्ने समझदारी–पत्रमा हस्ताक्षर भएको हो । 
 
खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सीमानामा पर्ने रभुँवाबजारबाट ६३५ मेगावाट क्षमताको जलाशययुक्त जलविद्युत् आयोजनाको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा रहने पावरहाउससम्म पुग्ने सडक निर्माण गर्नका लागि समझदारी कायम गरिएको जनाइएको छ । रु एक करोड बराबरको बजेटमा उपभोक्ता समितिमार्फत जलविद्युत् आयोजनाको पावरहाउसस्थल पुग्ने सडक निर्माण गरिने र उपभोक्ता समितिले दश प्रतिशत लगानी गर्ने समझदारी भएको हलेसी तुवाचुङका नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । 
 
पावरहाउस निर्माणस्थलसम्म पुग्न र फर्कनका लागि करिब नौ महिनाभित्र एक्सेस रोड बनाएर सञ्चालनमा ल्याउने समझदारी–पत्रमा उल्लेख छ । लामीडाँडाको रभुँवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३ दशमलव ३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले आयोजनाको काम अघि बढाएको हो ।
 
नेपाल सरकारले राष्ट्रिय गौरवकको आयोजनामा राखेको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि अहिले उक्त आयोजनाले ओगट्ने खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको छ । आयोजना सञ्चालन गर्दा खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहण हुने जनाइएको छ । 
 
जलविद्युत् आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक करिब २० हजार रोपनी सार्वजनिक जग्गा अधिग्रहण हुने अनुमान गरिएको छ । खोटाङको रावाबेँसी गाउँपालिकाका पाँच हजार ३०४ कित्ता, ऐंसेलुखर्क गाउँपालिकाका ५२२ कित्ता, ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिकाका दुई हजार ४०९ कित्ता जग्गा अधिग्रहणको काम भइरहेको छ । अधिग्रहण भएका जग्गाधनीले आयोजनाले मुआब्जा दिन ढिलाइ गरेको भन्दै गुनासो समेत गरिरहेका छन् ।
 
आयोजनाबाट तीन जिल्लाका एक हजार १५० घरधुरी प्रभावित हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)ले देखाएको छ । खोटाङका ६५७, ओखलढुङ्गाका ४७९ र सोलुखुम्बुका १४ गरी एक हजार १५० घरधुरी प्रभावित हुने भएका हुन् ।
 
दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि नेपाल सरकारले यस वर्ष करिब रु एक करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएसँगै दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण हुने पक्का भएको छ । 
 
आयोजना निर्माण सम्पन्न भएपछि वार्षिक तीन अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुने विद्युत् प्राधिकरणले जनाएको छ । यसमध्ये हिउँदको समयमा एक अर्ब ३५ करोड ८० लाख र वर्षायाममा दुई अर्ब आठ करोड ४० लाख युनिट विद्युतीय ऊर्जा उत्पादन हुने डिपिआरमा उल्लेख छ । 
 
जापान सरकारको सहयोगमा कोसी बेसिन अध्ययन गुरुयोजनाअन्तर्गत विसं २०४२ मा पहिचान भएको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना लामो समयपछि उत्पादनको प्रक्रिया सुरु भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै रभुँवाबजारमा बन्ने करिब २२० मिटर गहिरो दूधकोसी जलाशयमा डुङ्गा सयर, माछा पालन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
 
दूधकोसी जलाशययुक्त आयोजना सञ्चालन हुँदा रभुँवामा बन्ने जलाशयमा त्रिधार्मिकस्थल हलेसी आउने पर्यटकलाई डुङ्गा सयर गराउन सकिने जनाइएको छ । दूधकोसी जलाशययुक्त आयोजना सफल पार्न खोटाङका स्थानीय बासिन्दा एवं नेकपा ९एमाले०का केन्द्रीय सदस्य रमेश पौडेलको संयोजकत्वमा तीन जिल्लाका प्रतिनिधि सम्मिलित सरोकार समाजसमेत गठन गरिएको छ । 
 
करिब रु दुई खर्ब लगानीमा सम्पन्न हुने दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना पाँच वर्षभित्र सम्पन्न हुने विद्युत् प्राधिकरणले जनाएको छ । निकै ठूलो धनराशि खर्च हुने दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना वैदेशिक ऋण सहयोग, नेपाल सरकार र वित्तीय संस्थाको लगानीमा क्रमागत रुपमा सम्पन्न गरिने जनाइएको छ । 

प्रतिक्रिया