सीप र तालिममा आधारित पाठ्यक्रम निर्माण आजको आवश्यकता : मन्त्री कुँवर

  • प्रकाशित मिति : आइत, असार २६, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, २६ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर सीप र तालिममा आधारित पाठ्यक्रम निर्माण आजको आवश्यकता भएको बताएका छन् । 
शनिबार राजधानीमा भएको नेपाल इलेक्ट्रिसियन संघको एघारौँ वार्षिक साधारण सधा तथा छैठौ महाधिवेशनको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री कुँवरले सीप र तालिममा आधारित पाठ्यक्रमले नै राष्ट्र निर्माणमा सघाउ पुग्ने बताए ।
 
सीप र दक्षता भएका श्रमिकहरु स्वदेश तथा विदेशमा पनि राम्रो रोजगारीको अवसर रहेको भन्दै उनले भने ‘आफु मन्त्रालय सम्हाले देखि नै सीप र तालिमको विषयलाई प्राथामिकताका साथ लिएको छु ।, उनले थपे ‘विदेशबाट सीप सिकेर स्वदेश फर्किएका नेपालीहरुलाई नेपालमा नै नीजि क्षेत्रसँग होस् या सरकारले समन्वय गरेर विदेशको सीप देशमा नै उपयोग गर्ने खालको वातावरण बनाउन लागि परेको छु ।’
 
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन वैदेशिक रोजगारबाट आर्जित सीप, प्रविधि र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित भएको समेत उनले बताए ।
 
सभालाई सम्बोधन गर्ने क्रममा मन्त्री कुँवरले इलेक्ट्रिसियन जस्तो प्राविधिक संस्थाहरुलाई कसरी बलियो बनाउने भन्नेमा सरकार सचेत भएको भन्दै यस्ता प्राविधिक विषयमा आवश्यक परेका विषयहरुमा भएका माग लिएर मन्त्रालयमा आए आफु आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत प्रकट गरे । 
 
भवन निर्माणमा इलेक्ट्रिक ड्रोईङ लागु गर्नुपर्ने, इलेक्ट्रिसियनहरुलाई लाइसेन्सको व्यवस्था गर्नुपर्ने, सबै इलेक्ट्रिसियनहरुलाई कर दायरामा ल्याउनुपर्ने साथै इलेक्ट्रिसियनको विमा गर्नुपर्ने लगायतका मागहरु उठाएका इलेक्ट्रिसियनहरुलाई मन्त्री कुँवरले इलेक्ट्रिसियन पेसा जोखिम पूर्ण रहेको भन्दै उनले भने संघले उठाएका मागहरु जायज रहेका छन्, सबै पेशा व्यवसायलाई राज्यले हेर्न नीति एकै हुनुपर्दछ यसैले यी मागहरु पुरा गर्न आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने उद्घोष गरे । 
 
सोसाईटी अफ इलेक्ट्रिकल ईन्जिनियर्स नेपाल (सीन)का अध्यक्ष दिल्लीरत्न शाक्यले एलपिजी ग्यासभन्दा विद्युतीय चुल्होको प्रयोग गर्दा खर्च धेरै कम हुन्छ भनेर उपभोक्तालाई पनि सचेत नगराए सम्म विद्युतीय चुलो अभियानले सार्थकता नपाउने बताए । विद्युतीय चुल्हो वितरण गर्नुपर्ने, विद्युत महशुल घटाएर विद्युत खपतका लागि प्रोत्साहन गर्नुपर्ने आवाज उठाउँदै गर्दा दुई पटक महशुल घटे पनि अझै त्यतिले नपुग्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । 
 
अध्यक्ष शाक्यले नेपालमा नै उत्पादित विद्युतबाट नेपालमा रसायनिक मल उत्पादन गर्दा सस्तो दीर्घकालीन हुने बताए । मलकारखाना नेपालमा नै सम्भव छ भनेर हामीले बारम्बार भनिरहेका छांंै । उनले भने नेपालमा अहिले युरिया मल उत्पादन ग्यासबाट सस्तो हुन्छ भन्ने गरिएको छ तर यो गलत हो । किनकी ग्यास आयात गर्नुपर्ने हुन्छ भने विद्युत स्वदेशमा नै उत्पादन हुन्छ । अन्य देशमा ग्यास छ, उनीहरूलाई ग्यासबाट मल उत्पादन सस्तो पर्छ भने हामीलाई विद्युतबाट सस्तो पर्छ, उनले भने । 
 
नेपालका जलविद्युतबाट हाइड्रोजन र हावाबाट नाइट्रोजन निकालेर दुवै मिसाउँदा आमोनिया बन्दछ । उनले भने आमोनिया र सिमेन्ट उद्योगबाट निस्कने फ्ल्यू ग्यासमा भएको २० प्रतिशत कार्वनडाईअक्साईड मिसाउँदा युरिया मल उत्पादन हुनेछ । यसकारण नेपालमा चाहिने युरिया मल विदेशबाट आयात गर्नुनपर्ने उनको जिकिर थियो ।

प्रतिक्रिया