भर्खरै

राष्ट्रिय गौरवका आयोजना : लागत र समय दुबै वृद्धि

  • प्रकाशित मिति : बिही, असार ३०, २०७९
  • - रासस
title

काठमाडौँ, ३० असार । राष्ट्रिय गौरवका परियोजना अन्तर्गत सञ्चालित आयोजनाको लागत र खर्च दुबैमा वृद्धि भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदन अनुसार गौरवका आयोजनाको खर्च न्यून र समय बढ्न गएको पाइएको हो ।
 
सरकारले गत आर्थिक वर्ष २०६८÷६९ मा समृद्ध सडक पूर्वाधार विकासको आधारशीला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, जलविद्युत्,विमानस्थल निर्माण, खानेपानी व्यवस्था, सांस्कृतिक सम्पदाको संरक्षण लगायतका क्षेत्रमा महत्वपूर्ण देखिएका १७ आयोजनालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्न राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको थियो ।
 
हालसम्म राष्ट्रिय गौरवका आयोजना अन्तर्गत विभिन्न २४ वटा आयोजना रहेका छन् । गत आर्थिक वर्ष २०७७÷७८ सम्म उक्त आयोजनाले प्रगति विवरण न्यून रहेको महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । १० वर्षदेखि प्राथमिकताका साथ कार्य हुँदै आएकोमा माथिल्लो तामाकोशी आयोजना बाहेक अन्य आयोजना सम्पन्न हुननसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
 
प्रतिवेदनमा विस्तृत आयोजना प्रतिवेदन तयार नगरी निर्माण कार्य सुरु गर्नु, खरिद कार्य गर्नुपूर्वका कार्य जग्गा प्राप्ति र क्षतिपूर्ति, वातावरणीय प्रभाव मूल्याङ्कन प्र्रतिवेदन स्वीकृति, सीमाकङ्न, रेखाकङ्कन लगायतका कार्य सम्पन्न नगरी निर्माणको खरिद गर्नु, अन्तर निकाय समन्वय अभाव, निर्माण क्षमताको अभाव, कमजोर अनुगमन मूल्याङ्कन लगायतका समस्याले गर्दा आयोजना निर्माणको समय र लागत दुबै बढी भएको उल्लेख गरिएको छ ।
 
यी हुन लागत र समय दुबै थपिएका आयोजना
 
महालेखाको प्रतिवेदन अनुसार २४ वटा राष्ट्रिय गौरवका आयोजना अन्तर्गत विभिन्न १० आयोजनाको लागत र  समय दुबै थपिएका छन् । गत आर्थिक वर्ष २०६६÷६७ सालमा निर्माण सुरु गरिएको रेल्वे तथा मेट्रो विकास आयोजनाले भौतिक प्रगति शून्य रहेको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा सम्पन्न गर्नुपर्ने उक्त आयोजनामा हालसम्म रु २४ अर्ब ४७ करोड खर्च भए पनि भौतिक प्रगति शून्य देखिएको प्रतिवेदनमा उल्लेख छ । उक्त आयोजना निर्माणका लागि सरकारले रु पाँच खर्ब ५५ अर्ब २२ करोड खर्च हुने अनुमान गरेको छ । गत आर्थिक वर्ष २०६५÷६६ सालमा निर्माण सुरु भएको उत्तर दक्षिण (कर्णाली करिडोर) को भौतिक प्रगति २८ प्रतिशत मात्र रहेको छ ।
 
 आगामी आर्थिक वर्ष २०७९÷८० मा निर्माण सम्पन्न गर्नुपर्ने उक्त आयोजनामा हालसम्म रु ११ अर्ब ३० करोड बढी खर्च भइसकेको छ ।  
 
यस्तै, गत आर्थिक वर्ष २०६५÷६६ मा निर्माण सुरु भएको उत्तर दक्षिण (कोसी करिडोर) लोकमार्गको भौतिक प्रगति २४ प्रतिशत रहेको छ । २०८०÷८१ मा सक्नुपर्ने उक्त आयोजनाका लागि हालसम्म रु ३० अर्ब ५८ करोड खर्च भइसकेको छ । प्रतिवेदन अनुसार महाकाली सिँचाइ आयोजना, उत्तर दक्षिण कालीगण्डकी आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, सुनकोसी मरिन डाइभर्सन आयोजना, राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, काठमाडौँ तराई–मधेश द्रुतमार्ग लगायतका आयोजनाको प्रगति न्यून रहेको छ ।
 
पुष्पलाल ९मध्य पहाड० राजमार्ग आयोजनाको हालसम्म ५७।८४ प्रतिशत भौतिक प्रगति भएको छ । २०६४÷६५ सालदेखि निर्माण सुरु गरिएको उक्त आयोजना २०७९÷८० मा सक्ने लक्ष्य राखिएको छ । उक्त आयोजनाका लागि सरकारले रु ८४ अर्ब ३३ करोड छुुट्याएकोमा हालसम्म रु ५३ अर्ब ३४ करोड खर्च भइसकेको छ ।

प्रतिक्रिया