भर्खरै

पत्रकार आचार संहिता र निर्वाचन आचारसंहिता सम्बन्धी तालिम सम्पन्न

  • प्रकाशित मिति : बुध, साउन ४, २०७९
  • - विद्युत संसार
title

काठमाडौं २४ असार । प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले मिडियाकर्मीका लागि सञ्चालन गरेको पत्रकार आचार संहिता र निर्वाचन आचारसंहिता सम्बन्धी दुई हप्ते पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । भर्चुअल विधिद्वारा दैनिक चार घण्टा सञ्चालन भएको तालिममा २० भन्दा बढी जिल्लाका ३९ जनाको सहभागिता थियो ।
 
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तालिम समापनका क्रममा पत्रकारिता तथा मिडिया क्षेत्रमा आचारसंहिताको उल्लङ्घन निकै बढेको देखिएका कारण तालिम व्यापक बनाएको बताउनुभयो । ‘प्रेस काउन्सिलमा सूचीकृत अनलाइन न्यूज पोर्टलका सञ्चालक, सम्पादक तथा अन्य पत्रकारलाई समेत पत्रकार आचारसंहिता अभिमुखीकरण अनिवार्य गरिएपछि आचारसंहिता उल्लङ्घनमा कमी आएको छ’ अध्यक्ष बस्नेतले भन्नुभयो ।
 
नेपाल प्रेस इन्ष्टिच्यूटका महासचिव तथा कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीले स्थानीय निर्वाचनअघि नै यो तालिम सञ्चालन गर्ने सोच रहे पनि सो सम्भव नभएपछि संघीय तथा प्रादेशिक चुनाव लक्षित तालिम गरिएको बताउनुभयो ।
 
तालिममा पत्रकार आचारसंहिताका, काउन्सिलले जारी गरेको विभिन्न निर्देशिका, निर्वाचन आचारसंहिता, भाषागत शुद्धीकरण र समाचार लेखनका विषयमा छलफल चलाइएको थियो ।
 
तालिमका स्रोत व्यक्तिका रूपमा वरिष्ठ पत्रकारहरू तीर्थ कोइराला, कपिल काफ्ले, बबिता बस्नेत र बालकृष्ण बस्नेत रहनुभएको थियो । प्रशिक्षकहरू झबिन्द्र भुसाल, दीपक खनाल, रामशरण बोहरा र सूर्य अर्याल हुनुहुन्थ्यो । तालिममा सहभागीलाई काउन्सिल र इन्ष्टिच्यूटको तर्फबाट प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया