तिलिचो तालमा विद्युत् पुर्‍याइँदै

  • प्रकाशित मिति : बुध, साउन ४, २०७९
  • - रासस
title

मनाङ, ४ साउन । हिमाली जिल्ला मनाङको ३३ केभी स्यार्कु सवस्टेशनले तिलिचो तालमा विद्युत् पु¥याउने भएको छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल वेस क्याम्प र थोराङ्ला हाई क्याम्पसम्म चालु आर्थिक वर्ष ०७९÷८० मा केन्द्रीय लाइनको विद्युत् पुर्‍याइने भएको हो ।
 
गत वर्ष बाढीपहिराले क्षति पुर्‍याएको राष्ट्रिय प्रसारण लाइनको मर्मत सकिएर चार्ज भएको नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले जानकारी दिनुभयो । विद्युत् प्राधिकरणले तिलिचो तालसम्म विद्युत् पुर्‍याउने योजना पूरा गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार हालै मात्र पोल, तारलगायत सबस्टेशनमा चार्ज भएपछि विद्युत् सेवा प्रवाह भएको छ । 
 
“क्षति पुगेको एक वर्षपछि मर्मत भएपछि नेपाल विद्युत् प्राधिकरणको ३३ केभी सबस्टेशनमार्फत सेवा प्रवाह गरिएको छ । अब मनाङवासीलाई विद्युत्को पहुँचमा पु¥याउन सफल हुनेछौँ,” सुवेदीले भन्नुभयो । गत वर्षको बाढीपहिराले बिजुलीको पोल, तार पुरिनाका साथै बाढीले क्षति पुर्‍याएपछि जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । 
 
“नेपाल विद्युत् प्राधिकरणको ३३ केभी सबस्टेशनमा चार्ज भएको छ । अबदेखि निरन्तर विद्युत् सेवा प्रवाह हुन्छ,” उहाँले भन्नुभयो । लघु जलविद्युत्को भरमा रहेको हिमाली जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइनबाट पहिलो पटक चामे सदरमुकामसम्म विद्युत् सेवा प्रवाह भएको थियो । जिल्लामा पहिलो पटक विसं २०७७ मा केन्द्रीय प्रसारण लाइन जोडिएको थियो । 
 
राष्ट्रिय प्रसारण लाइनसहित अन्य लघु जलविद्युत्मा समेत बाढीपहिराले क्षति पु¥याउँदा मनाङ एक वर्षदेखि टुकीको भरमा छ । बाढीपहिराले प्रसारण लाइनमा रु साढे तीन करोडको क्षति पुर्‍याएको थियो । विसं २०७७ को फागुनमा पहिलो पटक नेपाल विद्युत् प्राधिकरणको ३३ केभीको राष्ट्रिय प्रसारण लाइन मनाङ विद्युत् सेवा प्रवाह भएको थियो । तर केन्द्रको लाइन प्रसारण भएको पाँच महिनामा नै बाढीपहिराले क्षति पु¥यायो । 
 
हिमाली जिल्ला मनाङ विकट भएकाले पनि मर्मत कार्यमा अलि बढी ढिलाइ भएको प्रमुख सुवेदीले जानकारी दिनुभयो । राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा प्रवाह भएसँगै अब जिल्लामा सरकारी कार्यालयका साथै यस प्रसारण लाइनको विद्युत् सेवा जडान भएका क्षेत्रमा सहज रुपमा विद्युत् प्रवाह भएको छ । जिल्ला अस्पताल मनाङमा विद्युत् अभावका कारण विभिन्न उपकरण सञ्चालन हुन सकेका थिएनन् । विद्युत् प्रवाह हुन थालेपछि अस्पतालको सेवामा सहज हुने विश्वास लिइएको छ । 

प्रतिक्रिया