भर्खरै

मौद्रिक नीतिपछिको पहिलो शेयर कारोबार : नेप्से परिसूचकमा उछाल

  • प्रकाशित मिति : आइत, साउन ८, २०७९
  • - विद्युत संसार
title

काठमाडौँ, ८ साउन । मौद्रिक नीतिपछि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उछाल देखिएको छ । शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
 
सो नीतिमा शेयर धितो कर्जाबापत लिन पाउने ऋणको तल्लो सीमा हटाइएको थियो । शेयर धितो कर्जाबापत रु १२ करोडसम्म ऋण लिन पाउनेलगायत प्रबन्ध गरिएपछि त्यसको प्रभाव शेयर बजारमा परेको हो ।
 
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६१।०५ अङ्कले उकालो लागेर दुई हजार ७८।५१ मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२।०९ अङ्कले उकालो लागेर ३९८।३३ मा पुगेको छ ।
 
कूल २१९ कम्पनीको ६४ लाख २३ हजार १४६ कित्ता शेयर रु दुई अर्ब ७३ करोड नौ लाख २७ हजार २९७ मूल्यमा खरिद बिक्री भयो । नेप्सेका अनुसार कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएको छ । बैंकिङ २२।८८, व्यापार ८८।०१, होटल तथा पर्यटन ७४।२, विकास बैंक १७७।३२, जलविद्युत् ८४।५, वित्त ११७।९९, उत्पादन १००।३९, अन्य १०३।८२, लघुवित्त १७५।१७, जीवन बीमा २०७।७७, सामूहिक लगानी कोष ०।१७ र लगानी २।१ अङ्कले उकालो लागेको छ ।
 
शेयर कारोबार हुने साताको पहिलो दिनको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ६७ अर्ब ९८ करोड ६८ लाख ४७ हजार ५८१ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३९ करोड ७१ लाख ३१ हजार बराबरको कारोबार भयो । नेपाल पुर्नबीमा कम्पनी रु छ करोड ८२ लाख ९३ हजार ९४७, हिमालयन डिस्टिलरी रु छ करोड ५९ लाख ९१ हजार ८९५, एनआइसी एशिया बैंक रु छ करोड २१ लाख ८१ हजार ४५० र अरुण काबेली पावर रु छ करोड १४ लाख १३ हजार ९३७ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।
 
नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स कम्पनी र मल्टीप्रपोज फाइनान्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै स्वाभिमान लघुवित्त ९।६८ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ९।६५ प्रतिशतले कमाएका छन् । यसैगरी एनएमबी बैंकको ऋणपत्र १।५२, ग्लोबल आइएमइ बैंकको ऋणपत्र १।०६, एनआइसी एशिया ग्रोथ स्कीम ०।७२, मेगा म्युचुअल फण्ड एक ०।६२ र ग्लोबल आइएमई बैंकको ऋणपत्र २०८६ का लगानीकर्ताले ०।५७ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया