भर्खरै

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घट्यो तर नेपालमा नघट्ने

  • प्रकाशित मिति : मंगल, साउन १७, २०७९
  • - Admin
title

काठमाडौँ, १७ साउन । एक महिनाको अवधिमा पेट्रोलियम पदार्थको मूल्य दोस्रो पटक घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले अगस्ट १ मा पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य घटेर आएको हो ।  जुलाई १६ र अगस्ट १ को मूल्यसूची घटेर आउँदा प्रतिलिटर पेट्रोलमा ३२ रुपियाँ ५७ पैसा र डिजेलमा २५ रुपियाँ ७४ पैसा घटेको छ । 
 
आईओसीले आगामी १५ दिनका लागि उपलब्ध गराएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोल १६ रुपियाँ ८१ पैसा, डिजेल नौ रुपियाँ १८ पैसा र खाना पकाउने ग्यास प्रतिसिलिन्डर ७८ रुपियाँ घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।  
 
यसअघि जुलाई १६ मा पनि प्रतिलिटर पेट्रोल १५ रुपियाँ ७६ पैसा र डिजेल १६ रुपियाँ ५६ पैसा घटेर आएको थियो ।  पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि घाटा कायम रहेको भन्दै तत्कालका लागि मूल्य घटाउन नसकिने अवस्था रहेको निगमले जनाएको छ ।  
 
सरकारले कर कटौती गर्ने भन्दै असार ११ गते प्रतिलिटर पेट्रोलमा २० रुपियाँ र डिजेलमा २९ रुपियाँ घटाएको थियो तर त्यसबापतको कर समायोजन नभएको भन्दै निगमले मूल्य घटाउन नसकिएको जनाएको छ । 
 
निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले इन्धनको मूल्य घटेर आए पनि तत्काल घटाउन नसकिने अवस्था रहेको जानकारी दिनुुभयो । सरकारले कर सामायोजन गर्ने भनेर एकै पटक मूल्य नघटाएको भए अघिल्लो पटकदेखि नै मूल्य घटाउने थियौँ । डिजेल र ग्यासमा अझै घाटा रहेकाले तत्काल घटाउन कठिन छ,” थानीले भन्नुभयो । 
 
२३ अर्ब तिर्न बाँकी
 
मूल्य घटेर आउँदा निगमको घाटा कम भए पनि इन्डियन आयल कर्पोरेसनलाई तिर्न अझै २३ अर्ब रुपियाँ बाँकी रहेको उहाँले बताउनुभयो । 
 
मूल्य घटेर आए पनि प्रतिटिलर डिजेलमा नौ रुपियाँ ३७ पैसा र ग्यासमा पाँच सय रुपियाँ घाटा रहेको निगमको भनाइ छ । पेट्रोल लिटरमा दुई रुपियाँ, मट्टीतेलमा १८ र हवाई इन्धनमा नौ रुपियाँ १८ पैसा नाफा रहेको छ । मूल्य घटेर आएकाले निगमको घाटा कम भएको छ । मूल्य घटेर आएपछि १५ दिनमा निगमलाई ७४ अर्ब ७१ लाख रुपियाँ नोक्सान छ । 
 
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै नेपालमा पनि दोस्रो पटक निगमलाई इन्धनको भाउ घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा झरेको छ ।  
 
एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै आएको थियो । विगत छ वर्षदेखि नाफामा रहेको निगम आव २०७८र८९ मा ५० अर्ब रुपियाँ नोक्सान भएको निगमले जनाएको छ । 
 
आईओसीलाई रकम भुक्तानी गर्न यसअघि निगमले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट सात अर्ब रुपियाँ ऋण लिएको छ । टेकुमा रहेको जग्गा धितो राखेर राष्ट्रिय वाणिज्य बैङ्कमार्फत तीन अर्ब रुपियाँ ऋण लिएको छ । भ्याट फिर्ताबापतको तीन अर्ब ५० करोड, जग्गा धितो राखेर तीन अर्ब, पूर्वाधार करबापतको ६० करोड रुपियाँले आईओसीलाई भुक्तानी गरिएको निगमको निगमले जनाएको छ  ।
गोरखापत्र

प्रतिक्रिया