भर्खरै

४२ दशमलव ६० मेगावाटको सुपर न्यादीको सुरुङ मार्ग ‘ब्रेक थ्रु’

  • प्रकाशित मिति : सोम, भदौ ६, २०७९
  • - विद्युत संसार
title

लमजुङ, भदौ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको जलविद्युत् आयोजनाको विद्युत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका– ६ स्थित ङादीखोलामा निर्माणाधीन सुपर  न्यादी आयोजनाले केही दिनअघि ‘ब्रेक थ्रु’ गर्न सफल भएको हो ।
 
आयोजनाका प्रबन्ध निर्देशक दिनेश गुरुङका अनुसार विद्युतगृह निर्माणका लागि आयोजनाले ३८७ मिटर सुरुङ मार्ग निर्माण गर्नाका साथै आयोजनाको निर्माणकार्य हालसम्म ३० प्रतिशत सम्पन्न भएको छ । 
 
विद्युत् गृह नाइँचे गाउँनजिकै निर्माण हुन लागेको उक्त आयोजनाको मुख्य सुरुङ खन्ने कार्यसमेत धमाधम अघि बढिरहेको छ । ड्याम साइडसम्मको २२ किलोमिटर सडकमध्ये करिब डेढकिलोमिटर सडक बनाउन बाँकी रहेको र आागमी दुई महिनासम्म निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो । प्रबन्ध निर्देशक गुरुङले भन्नुभयो, यतिबेला हेलिकोप्टरमार्फत् (एयरलिफ्ट गरी) सामान पु¥याएर बाँध र ड्याम साइडबाट सडक खन्ने र सात किलोमिटरको सुरुङमार्गको काम भइरहेको छ । सुरुङका लागि दुई वटा अडिट टनेलसहित ५०० मिटर खन्ने काम सकिएको छ ।
 
 यतिबेला दैनिक निर्माण कार्यमा २४० जना खटिएको आयोजनाले जनाएको छ ।  आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) अनुसार आगामी दुई वर्ष (२०८१ असार) भित्र विद्युत् उत्पादन सुरु गरिसक्नुपर्छ  । हाई हिमालय र धवलागिरि कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रालिले निर्माणको ठेक्का लिएको छ  ।
 
 आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ वटा वित्तीय संस्थाले रु पाँच अर्ब २५ करोड ऋण लगानी गर्नेछ । प्रवर्धकको इक्वीटी (स्व पुँजी) एक अर्ब ७५ करोड  रहनेछ ।  उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवर्धकको २५ प्रतिशत लगानी रहने आयोजनाले जनाएको छ । करिब रु सात अर्बको लागतमा निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत्गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सवस्टेसनमा जोडिने भएको छ । सवस्टेसनसम्मको प्रसारण लाइन आयोजनाले नै निर्माण गर्ने भएको छ । यस आयोजनाका अनुसार वर्षात्को छ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र छ महिनाको हिउँदयाममा आठ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिदबिक्री गरिने भएको छ ।

प्रतिक्रिया