भर्खरै

'जनताको समस्या बुझ्न सक्ने व्यक्तिले टिकट पाउनुपर्दछ'

  • प्रकाशित मिति : बुध, भदौ १५, २०७९
  • - केशव राज चौलागाई नेपाली कांग्रेसका नेता एवम् साहित्यकार
title

नेपाली कांग्रेसका नेता एवम् साहित्यकार समेत रहनु भएका केशव राज चौलागाई दोलखा जिल्लाको प्रतिनिधित्व गर्दै राजनीतिमा लामो समय देखि होमिनु भएको छ । २०७४ सालको निर्वाचनमा दोलखा जिल्लाको तर्फबाट प्रदेश सभामा उमेम्वारी दिनुभएका चौलागाई एमालेका उम्मेवारसँग पराजित हुनुभएको थियो । अघिल्लो निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुको कार्यकाल सकिनै लाग्दा सरकारले संघ र प्रदेश सरकारको निर्वाचन मंसिर ४ मा गर्ने घोषणा गरेको छ । नेपाली कांग्रेसका नेता चौलागाई यो पटक पनि पार्टीले टिकट दिएमा निर्वाचनमा उम्मेवारी दिने बताउनु भइरहेको छ । उनै नेता चौलागाईसँग गठबन्धनबाट निर्वाचनमा कसरी जान्छ, सिट बाँडफाँड कसरी हुन्छ, र अबको निर्वाचनमा कस्ता प्रतिनिधिले अवसर पाउनु पर्दछ लगायतका विषयमा विद्युत संसार साप्ताहिकका प्रधान सम्पादक राम प्रसाद पौडेलले गर्नुभएको कुराकानीको सम्पादित अंश : 

केशव राज चौलागाई
नेपाली कांग्रेसका नेता एवम् साहित्यकार

निर्वाचन नजिकिदै गर्दा गठबन्धनको अवस्था कस्तो छ ?
नेपालको राजनीतिलाई आकलन गर्न सक्ने अवस्था अहिले छैन् । कहिले काँही कांग्रेस कांग्रेस जस्ता हुन् कि होईनन् र बाम पन्थी पनि कहिले काही बाम पन्थी जस्ता हुन् कि होईनन् भन्ने जस्तो पनि लाग्दैछ । हिजो टाउँकाको मूल्य माग्ने र दिनेहरुको बीचको गठबन्धन भएको छ । यसले नेपालको पार्टीहरुमा निष्ठा, सिद्धान्त र उद्धेश्य हिन गतिहिन यात्रामा भएको हो कि भन्ने आशंका जन्मिएको छ । यसले मुलुकको गणतन्त्र नै धरापमा नै परेको हो कि भन्ने भान भएको छ । 
 
अहिलेको काग्रेश पार्टीको अवस्था कस्तो छ ?
हाल वर्तमान अवस्थामा कांग्रेस मैले देखेको र अपेक्षा गरेको जस्तो पार्टी बन्न सकिरहेको छैन् । पार्टीले मौलिकता छोड्दै गएको मैले पाएको छु यसमा हरेक नेता कार्यकर्ताको हात छ । म जस्ता नेता तथा कार्यकर्ता पार्टीलाई मुल बाटोमा ल्याउन संघर्षरत छाै‌ । कांग्रेसको वास्तविक पहिचान मुल मर्ममा फर्काउन आजको आवश्यकता छ । 
 
राजनैतिक नेतृत्वले गठबन्धन अपरिहार्य भनिरहेका छन् , तर जनताले साँच्चै गठबन्धन चाहिरहेको छ ?
नेपाली जनतामा राजनीति प्रति अलि उदाशिनता छाएको छ । यो नेपालका सम्पूर्ण राजनैतिक दलहरुको कारण नै हो । २०७४ सालमा संविधान निर्माण पछिको वैधानिक निर्वाचन पछि निर्माण भएको सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीले गरेको बदमासीको विरुद्ध जानुपर्छ भनेर गठबन्धन तय भएको हो । निर्वाचन पछिको सरकार गठबन्धन जायज नै हो तर निर्वाचनमा नै गठबन्धन गरेर जानु भनेको चाही नेपाली जनतामा अलि अस्वभाविक ठानेको मैले महशुस गरेको छु । 
 
संघ र केन्द्रको निर्वाचन पछि पुनः केपी ओलीको हातमा सरकार जाने हो भने संसदीय परम्परा र पद्धतिको मूल्य मान्यता नै डगमगाउने हो किन भन्ने भान हुन्छ यसैले संसदीय परम्परा र पद्धतिको मूल्य मान्यता संरक्षण गर्न र मुलुक बचाउनको निम्ति गठबन्धन आजको आवश्यकता हो । कांग्रेस एकल निर्वाचनमा जान सक्छ तर कांग्रेस एक्लै निर्वाचनमा जादाँ जसले मुलुकलाई हानी गर्दछ त्यहि बीच एकता नहोस् भन्नको लागि कांग्रेस गठबन्धन गर्न तयार भएको हो र आवश्यकता पनि छ ।
 
गठबन्धनबाट टिकट बाडँफाडँको कुरा चलिरहेको छ कस्ता व्यक्तिले टिकट पाउनु पर्दछ ?
यो विषय हाम्रो पार्टीका शीर्ष नेताहरुले बुझेको हुनुपर्दछ । आजको समयमा जनताकै जीवन बिताइरहेका जसले जनताकै समस्याको भुमरीमा रहेका व्यक्ति उम्मेद्धवार बनाउनु पर्दछ जसले जनताको समस्या  र भावना बुझ्न सक्दछ । यही अवधारणा अनुरुप नै पार्टीले सहि व्यक्तिहरुलाई उम्मेदवारी बनाउनेमा म आशावादी छु । 
 
पार्टी भित्र पनि गुठ उपगुठले उम्मेद्धवारी चयनमा केही समस्या त ल्याउलानी ?
यस्ता समस्या पहिला देखिपनि देख्दै आएका छौं । यो एकदमै गलत संस्कार हो यसैले पार्टीको नेतृत्व गर्ने नेताहरुले के कुरा बुझ्नुपर्छ भने पार्टी भित्रका गुठहरुलाई प्रसाय दिएर टिकट बाड्ने हो भने यसले पार्टी र देशको हित विपरीत हुनेछ । पार्टीमा बहुमतले निर्णय गरेको कुरा अल्पमतले मान्ने पद्धति स्थापनाकाल देखि नै लिएको सिद्धान्त हो यसैले गुट उपगुटको पछि लाग्नु हुँदैन भन्ने कुरा नेतृत्वदायी नेताले बुझ्नुपर्दछ । 
 
तपाईले टिकट प्राप्त गर्नु भयो भने दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ । तपाईको प्रमुख कामहरु के–के हुन्छन् ?
विकास निर्माण भनेको भौतिक विषय हो । यो क्रमश हुन्छ मात्र दु्रतता दिनुपर्छ र न्यायिक ठाउँमा न्यायोचित वितरण हुनुपर्दछ भन्ने मैले अपेक्षा गरेको छु । यदि  पार्टीले मलाई दोलखाबाट टिकट दिई विजयी भएको खण्डमा आफु जनता जस्तै छु र जनता जस्तै रहन्छु । यो मेरो प्रतिवद्धता हो । जनताको हरेक समस्या तथा आवाज विहिनहरुको आवाज सांसद भवन देखि सिंहदरवार सम्म बोक्नेछु । भुगोल देखि नागरिकको स्वभाविकताको आधारमा म जस्ता मान्छेको आवश्यकता दोलखामा देखिएको छ ।

प्रतिक्रिया