सौर्य ऊर्जाबाट खानेपानी

  • प्रकाशित मिति : मंगल, भदौ २१, २०७९
  • - रासस
title

गौरादह, २१ भदौ । सौर्य ऊर्जाको प्रयोग गरेर झापाको गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पानी वितरण गरिरहेको छ । विद्युत्को प्रयोग कम भएसँगै उपभोक्ताले सस्तो मूल्यमा पानी उपभोग गरिरहेका छन् । 
 
सौर्य ऊर्जाको उपयोगपछि लागत घटेकाले समितिले खानेपानीको महसुल घटाएको छ । पानी तान्नेदेखि वितरण गर्नेसम्मका काम सौर्य ऊर्जाबाट नै हुने भएकाले पानीको महसुल सस्तो भएको हो । उपभोक्ताले न्यूनतम आठ युनिट पानीको महसुल एक सय ३० रुपैयाँ तिर्नु पर्दथ्यो भने सौर्य ऊर्जाको उपयोगपछि महसुल घटेर एक सय पाँच रुपैयाँ तिर्नुपर्ने भएको छ ।
 
“समितिले उठाएको महसुलबाट पाँच रुपैयाँ संस्थाको सामाजिक विकास कोषमा जम्मा हुने गरेको छ । महसुल त एक सय रुपैयाँ हो, संस्थाको सामाजिक विकास कोषमा जम्मा भएको पाँच रुपैयाँबाट सामाजिक उत्तरदायित्वअन्तर्गतका काम हुने गरेको छ”, संस्थाका सचिव डण्डिराज घिमिरेले भन्नुभयो । 
 
सौर्य ऊर्जाको उपयोगपछि दुई हजार ४०० उपभोक्ताको महसुलबापत मासिक रु ६० हजार बचत भएको छ । समितिले विद्युत् प्राधिकरणलाई मासिक तिर्नुपर्ने महसुल पनि आधा कम भएको छ । 
 
यसअघि मासिक एक लाख ३० हजार रुपैयाँसम्म विद्युत् महसुल समितिले तिर्ने गरेको थियो । तर सौर्य ऊर्जाको उपयोगपश्चात् ४५ प्रतिशत कम महसुल तिर्ने गरेको छ । संस्थाको तथ्याङ्कअनुसार अहिले प्रतिलिटर पानी उत्पादनमा एक दशमलव १५ पैसा लाग्ने गरेको छ ।
 
सौर्य ऊर्जाबाट पम्प तथा कम्प्रेसरसमेत सञ्चालन गरेर पानी वितरण गरिएको छ । विसं २०५२ मा स्थापना भएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा दुई हजार तीन सय ५० जना सदस्य छन् ।
 
गौरादह– १ मा रहेका दुई ट्याङ्कीबाट समितिले पानी वितरण गर्दै आएको छ । साढे पाँच लाख लिटर क्षमताका दुई वटा ट्याङ्कीमा पानी भर्ने तथा धारासम्म पु¥याउने काममा दिनको समयमा सौर्य ऊर्जाको उपयोग हुन्छ । उक्त दुई वटा ट्याङ्कीबाट दैनिक चार लाख ५० हजार लिटर पानी उत्पादन हुँदै आएको छ ।
 
रातमा भने विद्युत्कै प्रयाग गर्ने गरिएको छ । सौर्य ऊर्जाबाट चार्ज गर्ने ब्याट्री नराखिएको र सोझै प्रयोग गर्ने गरिएकाले रातको समयमा विद्युत्कै उपयोग हुने गरेको समितिका सचिव घिमिरे बताउनुहुन्छ ।
 
समितिको पानी वितरण क्षेत्रमा पाँच वटा सामुदायिक विद्यालयमा एक÷एक र अन्यत्र दुई वटा सामूहिक धारा छन् । ती धाराको न्यूनतम खपतबापतको महसुल सामाजिक विकास कोषमा जम्मा भएको रकमबाट भुक्तानी हुने भएकाले विद्यालय र सामूहिक धाराको पानी उपयोग गर्नेले रकम तिर्नु नपर्ने संस्थाले जनाएको छ ।
 
प्रदेश सरकारको अनुदानमा खानेपानी वितरणका लागि सौर्य ऊर्जा जडान गरिएको हो । प्रदेश सरकारबाट प्राप्त ८८ लाख ७५ हजार नौ सय रुपैयाँ अनुदानबाट समितिले एक सय ४२ वटा सौर्य ऊर्जाको प्यानल जडान गरेको छ । गौरादहका– १, २ र ३ नम्बर वडामा करिब दुई हजार चार सय धारामा पानी वितरण हुँदै आएको समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया