भर्खरै

अर्घाखाँची सिमेन्टको औपचारिक निर्यातको थालनी

  • प्रकाशित मिति : सोम, असोज ३१, २०७९
  • - रासस
title

 काठमाडौँ, ३१ असोज । सरकारले चालू आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार नै उद्योगी तथा व्यवसायीले भारततर्फ सिमेन्ट निर्यात सुरु गरेका छन् ।
 
यसअघि नै तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । यसैक्रममा आजदेखि अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादनको औपचारिक निर्यातको थालनी गरेको छ । रुपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा एक हजार चार सय बोरा (७० टन) ‘पोर्टल्यान्ड पोजोलान सिमेन्ट’ (पिपिसी) सिमेन्ट निर्यात गरेको हो । कम्पनीका अनुसार भारतको नौतनवा, महाराजगञ्जस्थित शिभान्स एसोसिएट्सले पहिलोपल्ट अर्घाखाँचीको उत्पादन खरिद गरेको हो ।
 
“भारतीय बजारतर्फको निकासीमा यो पहिलो कदम हो । सरकारले प्रदान गरेको आठ प्रतिशत अनुदानले यो उपलब्धि सम्भव भएको हो । यसले भारतसँगको व्यापार घाटा कम गर्नमा सहयोग पुग्नेछ”, अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल बताउनुहुन्छ ।
 
त्यसैगरी अर्घाखाँची सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योग सुरु भएदेखि निर्यात गर्ने सपना पूरा भएको बताउनुभयो । “अब मेरो चाहना उद्योगले उत्पादन गर्ने अधिकांश सिमेन्ट भारत निकासी होस् भन्ने हो”, उहाँले भन्नुभयो ।
 
मुरारकाका अनुसार भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाललगायत क्षेत्रमा चुनढुङ्गा खानी छैन । त्यही बजार उपयोग गर्न भारत निर्यात थालिएको हो । यस अवसरलाई नेपालका सम्पूर्ण सिमेन्ट उत्पादकले उपभोग गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।  
 
सिमेन्ट निर्यात अझै बढाउन सरकारले भारतबाट कोइला आयात गर्ने वातावरण मिलाइदिनुपर्ने उहाँको भनाइ छ । भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्ट लिमिटेडको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तर सम्बन्धि इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट ९आइएसआई० मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात हुन थालेको हो ।
 
कम्पनीले ओपिसी, पिपिसी र क्लिङ्कर निर्यातका लागि आइएसआई मार्क पाइसकेको छ । जसअनुसार कम्पनीले आगामी दिनमा आफ्ना ओपिसी र क्लिङ्कर उत्पादनलाई पनि छिमेकी मुलुकका बजारमा निर्यात गर्ने योजना लिएको छ । 

प्रतिक्रिया