भर्खरै

कर्णाली करिडोर सडकको पहिरो पन्छाउन सुरु

  • प्रकाशित मिति : बुध, कार्तिक १६, २०७९
  • - विद्युत संसार
title

काठमाडौँ, १६ कात्तिक । कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा गएको पहिरो पन्छाउने काम सुरु भएको छ । गत असोज १९ गते आएको वर्षाका कारणले करिब २५ दिनदेखि अवरुद्ध कर्णाली करिडोरको पहिरो आजदेखि पन्छ्याउन थालिएको हो । 
 
भिरालो जमिन भएका कारणले माथिबाट निरन्तर सुख्खा पहिरो खस्दा पहिरो पन्छ्याउन समस्या भएको थियो । अहिले सुख्खा पहिरो खस्न कम भएपछि डोजर लगाएर पहिरो पन्छ्याउन थालिएको हो । पहिरो खस्न कम भएपछि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो पन्छ्याउन थालिएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताउनुभयो । 
 
पहिरो स्थायीरुपले रोकथामका लागि विपत व्यवस्थापन समितिमा छलफल भइरहेको तत्काललाई डोजर लगाएर कर्णाली करिडोरको ट्र्याक खोल्ने काम मात्रै हुने अध्यक्ष केसीले जानकारी दिनुभयो ।
“पहिरो निरन्तर बगिरहने समस्याका रहेको छ”, उहाँले भन्नुभयो,“ पहिरो रोक्ने दीर्घकालीन उपायका लागि विपद् व्यवस्थापन समितिमा छलफल भइरहेको छ ।”
सडक खुलाउनका अहिले डोजर प्रयोग भइरहेको र बिहीबारसम्म सडक सञ्चालनमा आउने हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले जानकारी दिनुभयो । “पहिरो रोकिनासाथ करिडोर खुलाउने योजनाका साथ मेसिन र जनशक्ति तयारी अवस्थामा राखेका थियौँ”, उहाँले भन्नुभयो,“मङ्गलबारबाट पहिरो रोकिएका कारणले आज बिहानैबाट पहिरो खुलाउन थालिएको छ । भोलिबाट करिडोर पूर्ण रुपमा सञ्चालनमा आउँछ ।”
 
कर्णाली करिडोर अवरुद्ध हुँदा कालीकोट, बाजुरा, हुम्ला र मुगु जिल्लाका स्थानीयवासीले कष्टपूर्ण यात्रा गर्दै आएका थिए । कर्णाली करिडोर सञ्चालनमा आए नागरिकलाई यात्राका लागि सहज हुने कालीकोट रास्कोट नगरपालिका–५ का स्थानीयवासी हुकुम शाहीले बताउनुभयो ।
 
कर्णाली करिडोरअन्तर्गत कालीकोट जिल्लामा ४० किलोमिटर सडकखण्ड, बाजुरामा जिल्लामा ४३ किलोमिटर र हुम्ला जिल्लामा एक सय १३ किलोमिटर रहेको छ ।

प्रतिक्रिया