भर्खरै

सुनवल सबस्टेसन सञ्चालनमा

  • प्रकाशित मिति : आइत, पौष ३, २०७९
  • - रासस
title

काठमाडौँ, ३ पुस । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको एक सय ३२ केभी क्षमताको सुनवल सबस्टेसन सञ्चालनमा आएको छ ।
 
परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग र स्थानीय बासिन्दालाई विद्युत् आपूर्ति गर्न यो सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । सुनवल सबस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा सञ्चालित स्टील, सिमेन्टलगायतका उद्योग तथा स्थानीय उपभोक्ताले पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति पाउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
 
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परासी क्षेत्रका सिमेन्ट, स्टीललगायतका ठूला उद्योग र स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड भएको बताउनुभयो । 
 
“अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी लाइनमार्फत् आपूर्ति दिँदा सुनवल तथा परासी क्षेत्रका उपभोक्ताबाट पर्याप्त विद्युत नपाएको, भोल्टेजको समस्या भएको, पटकपटक ट्रिपिङ हुनजस्ता गुनासाहरु आउने गरेका थिए । बुटवल सबस्टेसन पनि माग धान्न नसक्ने अवस्थामा पुगी ओभरलोडेड थियो”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।
 
सुनवल सबस्टेसन सञ्चालनमा आएसँगै बुटवल सबस्टेसनको चाप घटेको पनि प्राधिकरणले जनाएको छ । त्यस्तै, सुनवल र परासी क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो भएको तथा प्राविधिक चुहावटसमेत घट्ने अपेक्षा प्राधिकरणको छ ।
 
सबस्टेसनमा १३२/३३ र १३२/११ केभी क्षमताका पावर ट्रान्सफर्मर छन् । सबस्टेसनबाट स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि निकालिने ३३ केभीका सात वटा फिडरमध्ये हाल तीन वटा सञ्चालनमा ल्याइएको छ । ३३ केभीका तीन वटा फिडरहरुमध्ये एउटाबाट सर्वोत्तम सिमन्ट तथा परासी बजार क्षेत्र, अर्कोबाट पाल्पा सिमेन्ट तथा रुपन्देहीको शीतलनगर सबस्टेसन र लक्ष्मी स्टीलमा विद्युत आपूर्ति दिइएको प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलका निर्देशक नवराज ओझाले बताउनुभयो ।  
 
अहिले सुनवल सबस्टेसनबाट त्यस क्षेत्रमा करिब २० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । परासीतर्फ जाने बाँकी ३३ केभीका चार वटा र सबस्टेसनको वरिपरि विद्युत् आपूर्तिका लागि ११ केभीका चार वटा फिडर निर्माणाधीन छन् ।
 
औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत् प्राप्त भएको बजेट करिब रु ६९ करोडमा सुनवल सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसन निर्माणका लागि इनर्जी प्याक तथा सिग्माकोनको उपक्रमसँग गरिएको ठेक्का सम्झौता २४ कात्तिक २०७६ मा कार्यान्वयनमा आएको थियो ।  
 
प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युतकाे बढ्दो मागलाई सम्बोधन गर्न र प्रसारण क्षमता वृद्धि गर्न सुनवल (भूमही)–हकुई एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । त्यस्ते भैरहवा क्षेत्रका लागि योगीकुटी (बुटवल) बाट मैनहियासम्मको एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया