भर्खरै

नदीमा जलसतह घटेपछि निर्यात हुन छाड्यो बिजुली

  • प्रकाशित मिति : सोम, पौष ४, २०७९
  • - विद्युत संसार
title

काठमाडौँ, ४ पुस । नदीमा जलसतह लगातार घटेपछि नेपाल विद्युत् प्राधिकरणले भारततर्फको बिजुली निर्यात रोकेको छ । स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको निर्यात रोकिएको प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो ।
 
प्राधिकरणले यसवर्ष कूल रु ११ अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ । गत जेठ १९ गतेदेखि भारत निर्यात सुरु गरेको प्राधिकरणले गत मङ्सिर अन्तिम सातासम्म निर्यात गरेको थियो । 
 
सुरुमा ३९ मेगावाटबाट निर्यात सुरु गरेको प्राधिकरणले कूल चार सय १९ मेगावाटसम्म निर्यात गरेको थियो । भारतमा प्रतियुनिट विजुली औसत आठ रुपैयाँ २५ पैसामा बिजुली बिक्री गरिएको थियो । 
 
प्राधिकरणले दैनिक बोलकबोलमार्फत् तय हुने ‘डे अहेड’ मार्केटमा बिजुली बिक्री गरेको थियो । पछिल्लो पटक कूल चार सय १९ मेगावाट बराबरको बिजुली बिक्रीका लागि अनुमति प्राप्त भएको थियो । प्राधिकरणले थप केही आयोजनाको बिजुली बिक्रीका लागि अनुमति मागेको भए पनि लामो समयसम्म निर्णय आएको थिएन ।
 
नदीमा जलसतह घटेपछि आन्तरिक माग व्यवस्थापनका लागि प्राधिकरणले हाल भारतबाट तीन हजार मेगावाट घण्टा बराबरको बिजुली आयात गरेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । 
 
बिहान ३ बजेदेखि ११ बजेसम्मको माग व्यवस्थापनका लागि प्राधिकरणले बिजुली आयात गरिरहेको छ । सो समयमा माथिल्लो तामाकोशी र कालीगण्डकी ‘ए’ आयोजना बन्द गरिने गरिएको छ । प्राधिकरणका अनुसार हाल कूल माग एक हजार पाँच सय १२ मेगावाट बराबर छ । 
 
चिसो बढेसँगै बिजुलीको मागमा पनि वृद्धि भइरहेको छ । कोठा न्यानो बनाउन बिजुलीको प्रयोगमा वृद्धि भएपछि मागमा वृद्धि भएको हो । कूल उत्पादित बिजुलीमध्ये प्राधिकरणका आयोजनाबाट सात हजार आठ सय ७४ मेगावाट घण्टा, सहायक कम्पनीका आयोजनाबाट चार हजार चार सय ४३ मेगावाट घण्टा उत्पादन भएको छ । 
 
त्यस्तै, निजी क्षेत्रका आयोजनाबाट बाह्र हजार सात सय ४० मेगावाट घण्टा बिजुली उपलब्ध छ । यस्तै, विभिन्न स्थानमा भएको अवरोधका कारण दुई सय ३३ मेगावाट घण्टा प्रणालीभन्दा बाहिर छ । मुलुकभित्रको कूल जडित क्षमता दुई हजार दुई सय ५० मेगावाट बराबर छ । चालु आवको अन्त्यसम्म प्रणालीमा थप आठ सय मेगावाट बराबरको बिजुली थप हुनेछ ।
 
 प्राधिकरणको माग अनुसारको अनुमति नपाएपछि वर्षायाममा केही बिजुली खेर गएको थियो । चालु आवमा थप हुने बिजुलीको भारत निर्यातका लागि वा आन्तरिक खपतका लागि आवश्यक व्यवस्था गर्न नसकिए प्राधिकरणलाई ठूलो घाटा हुने अवस्था पनि उत्तिकै छ । तर हिउँद लागेपछि नदीमा जलसतह ओरोलो लाग्दा अपेक्षित क्षमता अनुसारको बिजुली उत्पादन हुनसक्दैन ।
 
यद्यपि चालु आवको तीन महिनामा मात्रै प्राधिकरणले आठ अर्ब ५० करोड बराबरको नाफा कमाएको छ । यस्तै, २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई रु ३० मात्रै महसुल तिर्दा हुने व्यवस्था गरिएको छ । त्यसबाट पनि प्राधिकरणले उपभोक्तालाई वार्षिक रु २० अर्ब बराबरको राहत दिएको दाबी गरेको छ ।
 
आन्तरिक रुपमा नै बिजुलीको खपत बढाउनका लागि पहल भए पनि पछिल्ला दिनमा औद्योगिक क्षेत्रमा बिजुलीको माग घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव तथा उपभोक्ता मुद्रास्फीति बढेकाले उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । जसको प्रभाव पनि बिजुलीको खपतमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 21 hours ago