अर्थतन्त्रको आधारमा ध्यान केन्द्रित गरौं

  • प्रकाशित मिति : बुध, पौष ६, २०७९
  • - विद्युत संसार
title

काठमाडौं ६ पुस । नेपालका प्राय जलविद्युत आयोजनाहरु पानीको बहावमा आधारित हुँदा विद्युत उत्पादनमा कमी हुन थालेको छ । ‘रन अफ दि रिभर’मा आधारित सबै आयोजनाबाट विद्युत उत्पादनमा गिरावट आउँदा माग र आपूर्तिको सन्तुलन कायम गर्न प्राधिकरणलाई चुनौतीपूर्ण रहेको छ ।
चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घटेसँगै अधिकांश आयोजनाले जडित क्षमता अनुसार विद्युत उत्पादन हुदैन । विद्युतको माग धान्नकै निम्ति भारतबाट केही विद्युत आयात प्राधिकरणले गरेको छ । सुख्खायाम लागेसँगै नदीको प्रवाह घट्दै जाँदा समग्र उत्पादन खुम्चिएर पछि नेपाल विद्युत् प्राधिकरणले  माग र आपूर्तिको व्यवस्थापन मिलाउन भारतबाट विद्युत खरिद थालेको छ ।
 
अर्कोतर्फ नेपालले खपतको माग भन्दा बढी विद्युत उत्पादन भएर बढी भएको विद्युत अन्तर्राष्ट्रिय बजारमा बेच्दै आएपनि नेपालमा सुख्खायाम सुरु भएसँगै विद्युत बिक्रि बन्द भएको छ । स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको विद्युत निर्यात रोकिएको  छ । गत जेठ १९ गतेदेखि भारत निर्यात सुरु गरेको प्राधिकरणले गत मङ्सिर अन्तिम सातासम्म निर्यात गरेको प्राधिकरणले कूल रु. ११ अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ । यसले देशको अर्थतन्त्रमा नै ठूलो सहयोग पु¥याएको छ ।
 
चिसो बढेसँगै बिजुलीको मागमा पनि वृद्धि भइरहेको छ । कोठा न्यानो बनाउन बिजुलीको प्रयोगमा वृद्धि भएपछि मागमा वृद्धि भएको हो । विद्युतको माग भन्दा उत्पादन धेरै भएको समयमा बिक्रि गर्ने र उत्पादन कम र माग बढेको समयमा निर्यात बन्द गर्नु प्राधिकरणको उपयुक्त कदम हो । यद्यपी सुख्खायाममा विद्युतको माग बढेपनि बर्खायाममा विद्युत उत्पादन धेरै भएर खेरजाने अवस्थाको पनि प्राधिकरणले समयमा नै ध्यान दिनुपर्दछ । हाल आन्तरिक रुपमा नै बिजुलीको खपत बढाउनका लागि पहल भए पनि पछिल्ला दिनमा औद्योगिक क्षेत्रमा बिजुलीको माग घटेको छ ।
 
 बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव तथा उपभोक्ता मुद्रास्फीति बढेकाले उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । जसको प्रभाव पनि बिजुलीको खपतमा परेको छ । अर्थतन्त्रको मुख्य आधार विद्युत नै भएको कारण यस तर्फ पनि सम्बन्धित निकायले समयमा नै ध्यान दिन जरुरी छ । किनकी उत्पादित विद्युत नेपालमा नै खपत गर्न मात्रै सकियो भने नेपालले वर्षेनी व्यहोर्दै आएको आर्थिक घाटा न्यूनिकरणमा ठूलो योगदान पुग्ने थियो ।
    

प्रतिक्रिया