भर्खरै

प्राधिकरणले जुम्लामा १५० मेगावाट क्षमताको जवा तिला आयोजना निर्माण गर्ने

  • प्रकाशित मिति : बिही, पौष ७, २०७९
  • - रासस
title

काठमाडौँ, ७ पुस । कोहलपुरबाट लामोदूरी तय गरेर जुम्ला पुगेको ११ केभी क्षमताको प्रसारण लाइनले प्रवाह गर्ने बिजुलीको गुणस्तर राम्रो छैन । जिल्लामा भएका साना लघुजलविद्युत् आयोजना वर्षमा पटक-पटक बिग्रन्छन् । स्थानीयवासीले बिजुलीको राम्रो सुविधा पाउन सकेका छैनन् । 
 
यही अवस्थालाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले नै एक सय ५० मेगावाट क्षमताको जवा तिला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी थालेको छ । प्राधिकरणले कर्णाली प्रदेशको विद्युतीय पूर्वाधार निर्माणका लागि रु २५ अर्ब बराबरको लगानी गर्ने तयारी गरेको हो । 
 
जुम्लामा बिजुलीको समस्यालाई पूर्णरुपमा समाधान गर्ने र बिक्री गरी आम्दानी समेत गर्ने लक्ष्यका साथ संविधानसभा सदस्य एवं कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले आयोजनालाई अघि बढाउन सरकारसँग अनुरोध गरेको बताउनुभयो । 
 
उहाँको अनुरोधलाई स्वीकार गर्दै प्राधिकरणको गत मङ्सिर २१ गतेको सञ्चालक समितिको बैठकले आयोजना निर्माण गर्ने निर्णय गरेको थियो । पूर्वमन्त्री भण्डारीका अनुसार आयोजना तीन वटा ढाँचामा निर्माण गर्ने गरी तयारी गरिएको छ । तल्लो क्षमतामा ७० मेगावाट, मझौला हिसाबले निर्माण गर्दा एक सय मेगावाट र पूर्ण क्षमतामा जाँदा एक सय ५० मेगावाट बराबर रहनेछ ।
 
प्रारम्भिक अनुमानमा आयोजनाको कूल लागत रु ३५ अर्ब बराबर रहनेछ । क्षमता तलमाथि हुँदा लागतमा पनि तलमाथि नै हुनसक्ने उहाँको भनाइ छ । जुम्लाको तिला गाउँपालिकामा आयोजनास्थल रहेको आयोजना कर्णालीको सहायक नदी तिला कर्णालीमा निर्माण हुनेछ ।
 
प्राधिकरणको सञ्चालक समितिले निर्णय गरी अनुमतिपत्रलगायतको प्रक्रियामा अगाडि बढिसकेको छ । “आयोजनाको कार्यान्वयन भएपछि तिला र जवा नदीमा बगिरहेको पानीबाट हुने आम्दानी जुम्लाका जनताको जीवनमा प्रतिविम्बित हुनेछ” पूर्वमन्त्री भण्डारीले भन्नुभयो, “जुम्लाका जनताको जीवनमा आयोजनाले उज्यालोको अनुभूति मात्रै गराउने छैन । मुलुकका लागि विजुली निर्यातमा समेत सहयोग पुग्नेछ ।”
 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयोजना प्रारम्भिक अध्ययनका आधारमा उपयुक्त देखिएकाले प्राधिकरणले निर्माण गर्ने गरी निर्णय भएको बताउनुभयो । मन्त्री भुसाल प्राधिकरण सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ ।  
 
परियोजनाको पहलकर्तासमेत रहनुभएका पूर्वमन्त्री भण्डारीले आयोजना निर्माणपछि जुम्लाको समग्र आर्थिक अवस्थामा सुधार हुने र खेर गइरहेको प्राकृतिक स्रोतको सदुपयोग हुने बताउनुभयो । 
 
अध्ययन अनुसार कर्णाली प्रदेशमा हालसम्म १८ हजार मेगावाट क्षमताका आयोजना पहिचान भएका छन् । त्यसमध्ये नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको चर्चा सुरु भएको लामो समय भए पनि हालसम्म प्रक्रिया अगाडि बढेको छैन ।
 
लगानी बोर्डले भारतीय प्रर्वद्धक कम्पनी ग्रान्धी माल्लिकार्जुन राव९जिएमआर०लाई वित्तीय व्यवस्थापन गर्न सर्तसहित समय थप गरे पनि पछिल्ला दिनमा देखिने गरी प्रगति हुनसकेको छैन । यस्तै, मुगुमा रहेको एक हजार नौ सय दुई मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको एनइए इञ्जिनियरिङ कम्पनीले विस्तृत इञ्जिनियरिङ अध्ययन  गरिरहेको छ ।
 
त्यस्तै चार सय २६ मेगावाट क्षमताको फुर्कोट कर्णाली जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया पूरा भएको छ । अर्धजलाशययुक्त प्रकृतिको सो आयोजना निर्माणमा जाने तयारीमा छ ।
 
जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना तथा त्यसको सञ्चालनलगायतका महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्वमन्त्री भण्डारीले भन्नुभयो, “जुम्लाले यतिबेला चिकित्सक उत्पादन गरेर दिए जस्तै जवा तिला आयोजनाको निर्माणपछि बिजुली पनि दिन्छ । हामी सोहीअनुसार आवश्यक प्रक्रियामा लागेका छौँ । आशा गरौँ, छिट्टै, हामी निर्माणमा जानेछौँ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 5 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 10 hours ago