भर्खरै

भृकुटीमण्डपमा सुरु भयो फुटवेयर औद्योगिक मेला

  • प्रकाशित मिति : बिही, पौष २१, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, २१ पुस । नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गर्नुभयो । 
 
जुत्ता उत्पादक सङ्घ नेपालले आयोजना गरेको मेलामा कूल एक सय ७० स्टल छन् । स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ । मेला संयोजक सुरज बञ्जाडेका अनुसार मेलामा ४० विदेशी कम्पनी पनि रहनेछन् ।
 
प्रदर्शनीमा विदेशी कच्चा पदार्थ, मेसिनरी र प्रविधि सहितका ४० भन्दा बढी कम्पनीका स्टल र नेपाली फुटवेयरका ९० कम्पनी सहभागी रहेका छन् ।
 
 
यस मेलामा देशभरबाट ४० हजारदेखि ५० हजार उद्योगी डिलर, होलसेलर र खुद्रा व्यापारीहरुको सहभागिता जनाउने बताइएको छ । प्रदर्शनीमा नेपालमा फुटवेयर तथा छालाजन्य सामाग्री उत्पादन, विधि, कच्चा पदार्थ र गुणस्तरको पनि जानकारी गराइने एसोसिएसनले जनाएको छ । 
 
 
विश्वमा ख्याति कमाएका बहुर्राष्ट्रिय कम्पनीले यो प्रदर्शनीमा भाग लिने हुँदा नेपाली उद्यमीलाई आवश्यक गुणस्तरीय कच्चापदार्थ, मेसिनरी र प्रविधिको पहुँच सहज हुन गई गुणस्तरीय उत्पादन गर्न सहज हुने जुत्ता उत्पादक सङ्घ नेपालले जनाएको छ । प्रदर्शनीमा नेपालका ठूला उत्पादकदेखि साना घरेलु उद्योगहरुलाई समावेश गरिएको छ । 

प्रतिक्रिया