भर्खरै

प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा २६८ आउँदा, विपक्षमा दुई मतमात्र

  • प्रकाशित मिति : बुध, पौष २७, २०७९
  • - शिखर श्रेष्ठ
title

काठमाडौं २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा मंगलबार भएको विश्वासको प्रस्तावको मतदानमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये उपस्थित २७० बाट २६८ जनाले मतदान गरेका छन्  भने  विपक्षमा दुई मत मात्र परेको छ । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ ।
 
उहाँले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएको हो । धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ ।
 
प्रधानमन्त्री दाहाललाई नेपाली कांगेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।
 
प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् । केसी र सुवालले छलफलकै क्रममा विपक्षमा मतदान दिने बताउनु भएको थियो ।  मतदानमा मनोरमा शेरचन, किशोरसिंह राठौर, अम्बिका बस्नेत उपस्थित थिएनन् भने पशुपति शमशेर राणा जेष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिकामा छन् । संसदमा विश्वासको मत लिइसकेपछि अब दुई वर्षसम्म प्रधानमन्त्री प्रचण्डविरूद्ध अविश्वासको मत ल्याउन पाइँदैन ।
 
 
उहाँले प्रतिनिधिसभा बैठकमा आफूलाई प्रतिनिधिसभाको असाधारण समर्थन र विश्वास प्राप्त भएको भन्दै यो ऐतिहासिक भएको बताउनुभएको छ । ‘सबै दलका नेताहरुबाट असाधारण समर्थन र विश्वास व्यक्त भएको छ, यो ऐतिहासिक छ । यो ऐतिहासिक समर्थनले मलाई निकै ठूलो गर्व र जिम्मेवारी थपिएको महसुस भएको उहाँको भनाई थियो । मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारू, खस आर्य सबैको हक, अधिकार, पहिचान र उन्मुक्तिको लागि निकै ठूलो लडाईं लडेको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो ।
 
‘आजको समर्थनलाई मैले हाम्रो आन्दोलन र म प्रति ठूलो न्याय भएको महसुस गरेको छु’ उहाँले भन्नुभयो, ‘अब मेरो अगाडि चुनौती छ । यो न्याय दिने सदन र सबै राजनीतिक दलको विचार र भावनालाई सम्मान गर्नु चुनौती छ ।’
 
सभामुखको चुनाव माघ ५ गते हुने

प्रतिनिधि सभाको सभामुख चयन गर्न  माघ ५ गते निर्वाचन हुने भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सभामुख चयनको मिति घोषणा गरेका हुन् ।
 
सभामुखको निर्वाचन कार्यतालिका भने माघ ३ गते प्रकाशित हुनेछ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेसँगै सभामुख चयनको मिति तोकिएको हो । प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ ।

प्रतिक्रिया