राजनीतिमा नयाँ तरङ्ग

  • प्रकाशित मिति : बुध, माघ ४, २०७९
  • - विद्युत संसार
title

काठमाडौं  माघ । मंसिर ४ गते सम्पन्न संघ तथा प्रदेशको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र लगायत पाँच दलिय गठबन्धन बनाएर गएका दलहरु निर्वाचन पछि सरकार निर्माण गर्ने समयमा सो गठबन्ध टुट्यो । अन्तत नेकपा एमालेसँग माओवादी केन्द्र लगायत दलहरु मिलेर नयाँ सरकार निर्माण भयो । 
 
निर्वाचनमा ८९ सिट ल्याएर ठूलो पार्टी बनेको नेपाली काँग्रेस सरकारको प्रतिपक्षमा बस्नु पर्ने आकलन आम जनताको थियो । तर पुस २६ गते नवगठित सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिदै गर्दा फरक परिदृष्य देखियो । किनकी सरकारले विश्वासको मत दिदैं गर्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले बाहेक सबै राजनैतिक दल र सांसदहरुले विश्वासको मत दिए । यसले नेपाली राजनीतिमा पूर्ण नयाँ तरङ्ग थपिदिएको छ । 
 
यत्रो बहुमत थपिदिने दल काँग्रेस निस्कियो जुन दलले प्रचण्डलाई पहिलो पालोमा प्रधानमन्त्री दिन अस्वीकार गर्दा नै १५ वर्ष चल्ने भनिएको गठबन्धन केही घण्टामै अस्तित्व विहीन हुन पुगेको थियो । यसरी केही दिन अगाडिसम्म प्रचण्डलाई सत्ता दिन नचाहने काँग्रेस यसबीच किन यत्रो मत खन्याउन बाध्य भयो त ? त्यसैले दीर्घकालीन फाइदाका लागि कांग्रेसले राष्ट्रपति निर्वाचन, सभामुख, उपसभामुखको निर्वाचनलाई ध्यानमा राखी प्रधानमन्त्रीलाई नचाहिएको बहुमत दिएको बुझ्न सकिन्छ भने केही नेताहरूले त हाकाहाकी नै सो कुरा व्यक्त गर्दै आउनुभएको छ । यसरी हेर्दा यी घटना परिघटनाले नेपाली राजनीति स्वार्थको राजनीतिमा रुमलिरहेको बुझिन्छ । 
 
पाँचवर्षका लागि जनताले निर्वाचित गराएर पठाएका जनप्रतिनिधिहरु नै स्वार्थको राजनीतिमा रुप लिदा आम जनतामा निराशा छाएको छ । 
 
कांग्रेसले प्रधानमन्त्रीलाई मत दिएपछि आश्चर्य चकित हुनु भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो संशय व्यक्त गरिसक्नु भएको छ । अप्रत्यासित बहुमत पाएर प्रधानमन्त्री प्रचण्ड गद्गद् हुनुभएको छ तर नयाँ संसद शंड्ढाको विजारोपण भएको सन्दर्भमा उहाँले कसरी सरकारका काम कारर्वाही अघि बढाउनु हुन्छ त्यो भने आगामी दिनले बताउनेछ । यतिखेर मन्त्रालय भागबण्डा भएतापनि राष्ट्रपति निर्वाचन, सभामुख, उपसभामुखको निर्वाचनमा भने आम जनताको ध्यान केन्द्रित भएको छ । 
 
जुन सोचले काँग्रेसले सरकारलाई विश्वासको मत दिएता पनि अब कांग्रेस, एमाले, माओवादी लगायत सम्पूर्ण राजनैतिक दलहरुले आफ्नो राजनैतिक स्वार्थबाट माथि उठेर आम जनताको विश्वासमा कुठाराघात नहुने गरी काम गर्न आवश्यक छ । त्यसैले अब दलले सिद्धान्त र निष्ठाको राजनीति गरी आ–आफ्नो छवि सुधार्नुपर्ने बेला आएको छ । 

प्रतिक्रिया