भर्खरै

देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न उपप्रधान तथा उर्जामन्त्री लिङदेन आग्रह

  • प्रकाशित मिति : शुक्र, माघ ६, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ६ माघ । उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले देशभित्रका उद्योगी, व्यापारी र विदेशी उद्योगीहरुलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ । शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उहाँले देशभित्रै उद्योगधन्दा बढी भन्दा बढी खोल्ने वातावरण सरकारले बनाएको उहाँले बताउनु भयो ।
 
कार्यक्रममा उपप्रधान तथा उर्जा, मन्त्री लिङदेनले सरकारले लगानीमैत्री वातावरण बनाउने उल्लेख गर्दै अब उद्योग दर्तासम्बन्धी कुनै पनि प्रक्रियाहरुका फाइल घुमिराख्ने प्रत्रियाको अन्त्य हुने र रेड ट्यापिजमको अन्त्य गर्दै एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने बताउनुभयो ।
 
देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न आग्रह गर्छु, नेपालमा लगानी गरौँ भन्ने विदेशी उद्योगीहरुलाई यहाँ आउनुहोस् नेपालमा लगानीमैत्री वातावरण छ, सरकारले सबै प्रकारको सुरक्षा गर्छ । सरकारले सबै जिम्मा लिन्छ, लगानी खेर जाँदैन, लगानीको पूर्ण ग्यारेन्टी हामी लिन्छौँ ।’
 
मन्त्री लिङदेनले नेपालको उर्जा नेपालमा नै खपत गर्ने कुरामा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्युतीय सामग्रीहरुको बढी प्रयोग गरेर विद्युत खपत बढाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको उर्जा नेपालमा नै खपत गर्ने कुरामा हामी सबै लाग्नुपर्छ, छिमेकीहरुसँग व्यापारको कुरा त छँदैछ तर देशभित्रै पनि यसको खपत बढाउनुर्छ । इलेक्ट्रिकल भेकलहरु चलाउनुपर्छ । त्यसलाई सरकारले सजिलो बनाउनुपर्छ । ग्याँसको ठाउँमा बिजुलीबाट खाना पकाउन थाल्नुपर्छ । 
 
‘नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवद्र्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरु यो एक्स्पोले अझै सहयोग गर्नेछ । कुनैपनि सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर, उपरखुट्टी लाएर बस्ने छुट र समय मलाई छैन । संक्षिप्त समय निकालेर म आएको छु ।’ उहाँले भन्नुभयो । प्रदर्शनीले नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवद्र्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरुमा सहयोग पुग्ने बताउनुभयो ।
 
काठमाडौंको भृकुटीमण्डपमा आज शुक्रबार देखि सुरुभएको अन्तर्राष्ट्रिय ऊर्जा सँग सम्बन्धित प्रदर्शनी ८ गते आइतबार सम्म संचालनमा रहने छ । मिडिया स्पेस सोलुसन्स (एमएसएस)का साथै एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटिएसआइपिएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालिको संयोजकत्वमा ‘नेपाल इलेक्ट्रिक पावर एण्ड लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी’ नामक विद्युतीय र ऊर्जासँग सम्बन्धित प्रदर्शनी भइरहेको छ ।
 
प्रदर्शनीले आधारभूत रूपमा प्रदर्शनी, सम्मेलन र साझेदारीको समायोजन गर्न खोजेको आयोजकको दाबी छ । नेपालमा विद्युत् तथा ऊर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्ने जनाइएको छ । प्रदर्शनीमा आगन्तुकलाई प्रवेश निःशुल्क गराइनुका साथै विद्युत्, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रम पनि गराइने आयोजकको भनाइ छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी कम्पनीहरूको स्टल रहने आयोजकले जनाएको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी स्टलहरु रहने बताइएको छ ।

प्रतिक्रिया