भर्खरै

अघि बढ्यो रोल्वालिङ खोला जलविद्युत् आयोजना

  • प्रकाशित मिति : बिही, माघ १९, २०७९
  • - विद्युत संसार
title

काठमाडौँ, १९ माघ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सहायक आयोजनाको रुपमा रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
 
 आयोजनाले विद्युत् विकास विभागमा उत्पादन अनुमतिका लागि आवेदन दिएको छ । कूल २२ मेगावाट क्षमताको सो आयोजना नदी प्रवाहमा आधारित आयोजना हो । यसको डिजाइन बहाव १३ दशमलब चार घनमिटर प्रतिसेकेण्ड रहेको छ । आयोजनाको कूल हेड दुई सय सात मिटर रहेको छ । आयोजनाबाट वार्षिक सरदर एक सय पाँच गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।
 
यस्तै, डाईभर्सन स्किमबाट वार्षिक दुई सय १६ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । आयोजनाको मुख्य संरचना रोल्वालिङ खोलाको दायाँ किनारामा पर्छ । रोल्वालिङ खोलामा बाँधबाँधी खोलाको दायाँपट्टी निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचना निर्माण गरिनेछ ।
 
आयोजनाको विद्युत् उत्पादनका लागि खोलाको पानी फर्काउन ४२ मिटर लामो र चार मिटर उचाईको कङ्क्रिट ग्रेभिटी वेयर बनाइनेछ । विद्युत् गृहमा दुई वटा टवाईन रहनेछ । ती टबाईनबाट १० दशमलब ४९ मेगावाट बिजुली उत्पादन हुनेछ । विद्युत् उत्पादनपछि निस्केको पानीलाई सात सय ४० मिटर लामो सुरुङमार्फत माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयमा पानी खसालिनेछ ।
 
विद्युत् गृहबाट उतपादित बिजुली आठ दशमलब चार किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनबाट बिगु गाउँपालिका–१ गोंगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रस्तावित ३३÷२२० केभी सवस्टेशनमा जोडिनेछ ।
 
आयोजनाबाट २०८४ साल मङ्सिर १ गतेभित्र विद्युत् उत्पादन हुनेछ । सो आयोजना निर्माण सम्पन्न भएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली उत्पादनमासमेत गुणात्मक वृद्धि हुनेछ । अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादनका लागिसमेत रोल्वालिङ खोला जलविद्युत् आयोजना सहयोगी हुनेछ ।
 
आयोजनाको डिजाइनलगायतको काम नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले गरेको हो । सो आयोजनालाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्वको आयोजनाको रुपमा चित्रण गर्दै आउनुभएको छ । 

प्रतिक्रिया