भर्खरै

ग्यास प्रयोगमा ध्यान पु¥याऔं

  • प्रकाशित मिति : बुध, फागुन १०, २०७९
  • - शिखर श्रेष्ठ
title

ग्यास सिलिण्डर लिक भएर आगलागीमा नेपालमा वर्षेनी दर्जनौको संख्यामा मानवीय क्षति भइरहेको छ भने भौतिक संरचना नष्ट भएका अनगिन्ती घटनाहरु हाम्रा सामु छन् । यो साता कैलाली र काठमाडौंमा दुईवटा भयानक दुर्घटना भए । यी दुवै दुर्घटना खाना पकाउने ग्यासमा आगो लागेर विस्फोटनबाट भएका हुन् । ग्यास सिलिण्डरमा आगो लागेर विस्फोट हुँदा बुधबार कैलालीको धनगढीमा हरिलाल विष्टको घर पूरै जल्यो । घटनामा ६५ वर्षीया बर्मा विष्टले ज्यान गुमाउनु प¥यो भने हरिलाल र उनकी १५ वर्षीया नातिनीको अहिले सघन उपचार चलिरहेको छ । त्यस्तै यहि हप्ता काठमाडौंको बुद्धनगरमा भएको एक घटना अझ अस्वभाविक अकल्पनिय थियो । ग्यास सिलिण्डर लिक हुँदा आगलागी भएर नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी घाइते र उहाँकी आमा हरिकला भण्डारीको मृत्यु भएको थियो भने ग्यास सिलिण्डर र कोठामा सामान्य क्षति मात्र भएको थियो । 
 
कीर्तिपुरको बर्न अस्पतालमा उपचार हुन नसकेपछि भण्डारीलाई भारतको मुम्बईमा उपचार गर्दै हुनुहुन्छ । राति सुरूमा किचेनमा ग्यास लिक भएको हरिकलाले थाहा पाएको र छोरा चन्द्रलाई यसबारे जानकारी गराए पछि किचनमा पुगेर सांसद भण्डारीले बिजुली बत्ती बाल्दा एक्कासी आगोको झिल्का आएर आगलागी भएको प्रहरीले यस घटनाको प्रारम्भिक अनुसन्धानले बताएको छ ।
दुई दिनको फरकमा दुईवटा भयानक दुर्घटना भएपछि आम मानिसमा एक प्रकारको त्रास उत्पन्न भएको छ । भान्सामा भएको सिलिण्डर कति सुरक्षित छ ? हामीले प्रयोग गर्ने ग्यास सिलिण्डरलाई कसरी सावधानी पूर्वक सुरक्षित ढंगबाट प्रयोग गर्नुपर्दछ भन्ने विषयमा उपभोक्ता स्वयम् जानकारी हुनुपर्दछ । सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाँही ग्यास चुहावट हुन सक्ने जोखिम रहन्छ ।  यस्तो अवस्थामा उपभोक्ताले तत्कालै विभिन्न विषयमा ध्यान दिन जरुरी छ । 
जस्तै ग्यासको सिलिण्डर भएको ठाउँमा एलपी ग्यासको तीखो गन्ध आयो भने ग्यास लिक भएको बुझ्नुपर्छ । ग्यासको तिखो गन्ध थाहा पाउनेबित्तिक्कै आगोका झिल्का निस्कने जस्तै–चुल्हो, लाइटर, सलाई, बिजुलीका प्लग, धुप जस्ता कुनै पनि उपकरण चलाउनु हुँदैन । ग्यास लिक भएको थाहा पाउने बितिक्कै पहिले रेगुलेटर र पछि चुल्होको निभ बन्द गर्नुपर्छ । ग्यास लिक भएको सिलिण्डर रेगुलेटरबाट छुटाएपछि सिलिण्डरमा हुने सुरक्षा क्याप लगाएर कोठा बाहिर राख्ने र ग्यासको अनावश्यक भण्डारण नगर्ने लगायत विषयमा विशेष ध्यान दिन आवश्यक छ ।
आयल निगमका अधिकारीहरुले दिएको टिप्सअनुसार भान्सामा ग्यासको जोखिम कम गर्ने उपाय यस्ता छन् । डिलरबाट ल्याउँदा वा लैजाँदा सिलिण्डर कुनै पनि अवस्थामा नगुडाउने, डिलरले घरसम्म ल्याइदिएको ग्यास चुहावटयुक्त छ कि छैन, परीक्षण गर्ने, भान्सामा सिलिण्डर सधैँ ठाडो बनाएर राख्ने, कुनै पनि अवस्थामा ग्यासलाई सुताएर वा कोल्टे पारेर वा घोप्ट्याएर प्रयोग नगर्ने, ग्यास चुल्होका लागि चाहिने रेगुलेटर, पाइप, चुल्हो, रबरहरु नेपाल सरकारले गुणस्तर प्रमाण पत्र जारी गरेको कम्पनीको मात्रै प्रयोग गर्ने, ग्यास चुल्होसँग सम्बन्धित उपकरणहरु सकेसम्म हरेक दुई वर्षमा फेर्ने । 
सिलिण्डरबाट चुल्होसम्म पु¥याउने पाइप अनिवार्य फेर्ने, खाना पकाइसकेपछि रेगुलेटर अनिवार्यरुपमा बन्द गर्ने र खाना पकाउँदा कोठाको झ्याल ढोका खुल्ला राख्ने, खाना पकाउन बस्दा सुतीको कपडा लगाएर बस्ने ।
 
‘धेरै मानिसलाई त ग्यास भरिएको कोठामा बिजुली बत्ती बाल्नु हुँदैन र बत्ती निभाउनु पनि हुँदैन भन्ने चेतना कम हुने गरेको छ । ग्यास भरिएको कोठामा यी दुवै काम गर्दा एक्कासी आगलागी हुन्छ । जसले धनजनको समेत क्षति हुन्छ । ग्यास लिक भएर कोठा भरिँदा बिजुली बत्ती बाल्न हुन्छ कि हुन्न भन्ने जनचेतना नभएकाले यस्ता आगलागी धेरै हुनेले ग्यास प्रयोगकर्ताले यस विषयमा जानकारी हुनुपर्दछ । 
कुनै कोठामा ग्यास भरिँदा त्यो हावासँगै ग्यास बिजुलीको स्वीचभित्र पसिसकेको हुन्छ । स्वीच अन वा अफ गर्दा निस्कने स्पार्क (झिल्को) ले हामीले ग्यास जलाउँदा बाल्ने लाइटरले झैं काम गर्छ । हामीले ग्यास खोलेर लाइटर पार्दा ग्यास बल्छ त्यसरी नै स्वीच अन÷अफ गर्दा पनि आगोको झिल्को बल्दा आगो लागिहाल्छ । ग्यास लिक भएको शंका लागेको कोठामा जाँदा बिजुली बत्तीको स्वीच मात्र होईन छुनै हुँदैन् । बत्ती बलेको छ भने बल्न दिनुपर्छ, बन्द छ भने खोल्नुहुन्न । बरू कोठाका झ्याल–ढोका खोलेर ग्यासलाई बाहिर जान दिनुपर्छ । 
 
अर्कोतर्फ आगो लाग्ने बितिक्कै ग्यास पड्किन्छ भनेर हामी भाग्छौँ, तर आगो लागिरहेको सिलिण्डर तत्कालै पड्किदैन आगो लाग्नेबितिक्कै लिक भएको ठाउँमा ब्लान्केट भिजाएर सिलिण्डर छोप्ने, जुटको बोरा भिजाएर छोप्ने तथा पानी राख्ने बाल्टिनले बेस्सरी सिलिण्डर छोप्दा पनि आगलागी नियन्त्रण गर्न सकिन्छ । साथै मौज्दातमा भरेर राखेको अर्को सिलिण्डर ग्यास छ भने त्यसलाई तुरुन्तै बाहिर निकाल्नुपर्दछ । भान्सामा हुने आगलागीमा आत्तिएर भाग्ने नभई थप क्षति रोक्न आगो फैलने स्रोत बन्द गर्ने र दमकललाई खबर गर्नुपर्दछ ।

प्रतिक्रिया