भर्खरै

व्यवसायीको आवाज

  • प्रकाशित मिति : बुध, फागुन १७, २०७९
  • - विद्युत संसार
title

काठमाडौं १७ फागुन । देशको अर्थतन्त्र बलियो हुनका निम्ति त्यस देशमा व्यापार व्यवसाय पनि राम्रो र सबल हुनु जरुरी हुन्छ । मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष टेवा पु¥याउने व्यापार–व्यवसाय, उद्योगधन्दा, कलकारखाना विस्तारै माथि बढ्दै गर्दा सिंगो मुलुकको आर्थिक विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को प्रत्यक्ष प्रभावको मार खेपेको नेपालको व्यापार–व्यवसाय उद्योगधन्दा, कलकारखानामा निकै ठूलो धक्का प¥यो । पछिल्लो समय विस्तारै अगाडि बढ्न खोज्दै छ, तर पछिल्ला विभिन्न कारणहरुले गर्दा नेपालको व्यापारमा ठूलो असर परेको छ । 
 
नेपाल पर्यटनको प्रचुर सम्भावना भएको मुलुक मात्र नभई कृषि तथा कृषिसँग सम्बन्धित उत्पादनशील कार्यको राम्रो सम्भावना भए त्यसले पछिल्लो समय समस्याका गुज्रिएको छ । उचित व्यवस्थापन गर्न नसक्दा यहाँ साना तथा घरेलु उद्योग–व्यवसाय कोभिडको प्रभावले धाराशायी बन्दै गइरहेका छन् । 
 
कोभिड महामारीको पीडाले दुःखले खोलेको घरेलु उत्पादित व्यवसायबाट घाटा बेहोर्दा, राजनीतिक वितृष्णा, ठूला व्यवसायीको मार खेप्न नसक्दा व्यवसायीले आत्मदाह गर्न बाध्य बनेको घटनाहरु बढिरहेका छन् । जसले गर्दा सम्पूर्ण व्यवसायमा ठूलो असर परेको छ । अझ पछिल्लो समय राजनीतिक वितृष्णा, बैंक तथा वित्तीय संस्थामा तरलता अभावका कारण उद्योग, व्यवसायलगायत क्षेत्रमा व्यापक असर परेको छ । उद्योगीहरु हरेक दिन जसो विभिन्न माग राख्दै आन्दोलन गर्नुपर्ने बाध्यता आज परिरहेको हुँदा सरकारमा भने राजनैतिक खिचातानीले अस्तव्यस्त बनिरहेको छ । 
 
बैंकको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिविरुद्ध शान्तिपूर्ण विरोध गरिरहेका व्यवसायीहरुले एकल अंक हुने गरी ब्याजदर घटाउन, व्यवसायीलाई मानसिक तनाव दिने प्रवृत्तिको अन्त्य गर्न, किस्ता र ब्याजको समय सीमा बढाउने लगायतका मागहरु राख्दै आएका छन् । अहिलेको अवस्थामा न ठूला उत्पादनकर्ताले उत्पादन गर्न सकिरहेका छन् न बाहिरबाट ल्याउन सक्ने अवस्था छ । यसले आर्थिक क्षेत्रमा एउटा जोखिम निम्त्याएको छ । व्यापार व्यवसायलाई अप्ठेरो अवस्थामा पारेको छ । स्थिर सरकार नहुँदा देशमा लगानीको वातावरण बिग्रिने र रोजगारी लगायतका अवसर गुम्ने जोखिम बढेको छ । 
 
देशमा राजनीतिक अन्योलले छिट्टै निकास पाउने र देशको बैकिंग क्षेत्रबाट व्यवसायीमा पर्न गएको असहजलाई निर्मूल पार्न सकियो र व्यवसायीको आवाज समयमा नै ध्यान दिने हो भने आगामी दिनमा देशमा लगानी गर्ने वातावरण बन्ने देखि कोभिड महामारीको पीडाले दुःखले खोलेको घरेलु उत्पादित व्यवसायी पनि माथि उठ्न सक्ने अवस्था आउँदथ्यो । यस्ता विषयमा ठूला राजनैतिक दलहरुले समयमा नै सोच्न र ध्यान दिनु आजको आवश्यकता हो ।

प्रतिक्रिया