भर्खरै

अस्थिर राजनीतिले अल्झिएको देशको विकास

  • प्रकाशित मिति : बुध, फागुन १७, २०७९
  • - निराजन भण्डारी / गोरखा
title

काठमाडौं १७ फागुन । कुनैपनि देशको विकासका लागि त्यसदेशमा सरकारको स्थायित्वले ठूलो भुमिका खेल्दछ । तर नेपालको सन्दर्भमा सधै एकै प्रश्न आउँदछ नेपालमा किन विकास हुन सकेन ? राजनीतिक अस्थिरता अर्थात् बारम्बार सरकार परिवर्तन नै नेपालको अविकासको जड मानिंदै आएको छ ।
सरकार बारम्बार परिवर्तन भयो भने विकास नै नहुने वा राजनीतिक अस्थिरता नै विकासमा बाधक बनिरहेको हामीले देख्दै र भोग्दै आएका छांै । हाल पाँच वर्षका लागि स्थायी सरकार हुन्छ भने र आम जनताले मतदान गरेर सरकार गठन भएता पनि अहिले भईरहेको राजनैतिक गतिविधिहरुले सबैलाई निराश बनाएको छ । 
राजनैतिक अस्थिरताका कारण विकासका धेरै योजनाहरु ठप्प भएका अनेकौं उदाहरण छन् । नयाँ योजना नबन्नु एउटा समस्या हो भने पुराना योजनाहरु पनि उपयुक्त तरिकाले कार्यान्वयन नहुनु अर्को ठुलो कुरा हो । राजनैतिक अस्थिरता देश विकासको ठुलो बाधक बन्दै आएको छ । र्दुभाग्यवस हाम्रो देश नेपाल यस्ता समस्याहरुबाट कयौं पटक गुज्रिसकेको छ ।
 
राजनैतिक अस्थिरता दिगो विकासको बाधक हो । नेकपा एमालेलाई एकल बनाएर काँग्रेस, माओवादी, समाजवादी लगायत पार्टीहरुको गठबन्धन बनाएर निर्वाचनमा गएपनि निर्वाचन पछि सो गठबन्धन भत्काउँदै नेकपा माओवादी केन्द्र र एमालेसँगै अन्यदलहरुको संयुक्त गठबन्धनमा सरकार निर्माण भयो तर सरकार निर्माण भएको दुई महिना नबित्दै राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा पुनः गठबन्धन सरकार भत्किएर निर्वाचनमा बनेको गठबन्धनलाई नै ब्युत्याईएको छ । सरकार गठन हुने क्रममा पुस १० गते माओवादी केन्द्र र एमाले बीच राष्ट्रपति एमालेलाई दिने सहमति भएता पनि त्यसलाई लत्याएर माओवादीले राष्ट्रपतिमा काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । यसले पनि देशमा राजनैतिक अस्थिरता बढेको छ । 
 
कुनैपनि देशको विकास प्रत्यक्ष रुपमा राजनितिसँग जोडिएको हुन्छ । तर नेपालमा ठूलो राजनैतिक दलहरुले आफ्नो पक्षमा सत्ता लिनकै लागि देशको विकास ओझेलमा पारेका छन् । विकासको लागि दलिय राजनीतिको अस्थिरताले विभिन्न योजनाहरु बीचमै अलपत्र पर्ने सम्भावना बढ्छ र विकासको नाममा भएका ढिला सुस्तिहरुले निरन्तरता पाउँछन् । फलस्वरुप न त विकास हुन्छ न त सम्वृद्धि नै ।
सरकारले देखाएको लापर्वाहीले र राजनैतिक आलोचकहरुले हाम्रो देशको राजनीतिलाई कोरोना भाइरस भन्दा पनि नराम्रो भाइरस बनाएका छन् । देशका आम जनताका समस्याहरुबाट टाढा भागेर आफ्नो स्वार्थ अनुरुप राजनैतिक दाउपेचमा अझिरहेको हुँदा राजनीतिले विकासमा कस्तो प्रभाव पारेको छ त भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ । राजनीतिको भुमरीमा पिल्सिएको नेपाललाई प्रत्यक्ष प्रभाव विकासमा परेको छ । 
 
फागुन २५ गते राष्ट्रपति निर्वाचन पश्चात् राजनैतिक दलहरुले आफ्नो स्वार्थ भन्दा माथि उठेर राष्ट्रसामु आउने हरेक समस्या समाधानमा जनताप्रतिको प्रतिबद्धतालाई आत्मसाथ गरेर हरेक विषयमा राष्ट्रिय सहमति खोज्नु आजको आवश्यकता हो । हाम्रो देश पनि एउटा अनुशासित विकासोन्मुख राष्ट्र बन्न सक्छ अनि उदाहरणीय राजनेताहरु पनि देखिन सक्छन । यसको लागि कुरा भन्दा पनि काम को खाँचो छ । पक्कै पनि नेपाल विकासको वृहत सम्भावना भएको देश हो । त्यसैले धेरै चिन्ता भन्दा पनि चिन्तन गर्नुपर्छ र आफुले गर्न सक्ने विकासशील काममा कहिले पनि पछि पर्नु हुँदैन ।

प्रतिक्रिया