भर्खरै

उपत्यकाको विद्युत प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सवस्टेसन निर्माणाधीन

  • प्रकाशित मिति : बुध, बैशाख २७, २०८०
  • - विद्युत संसार
title

काठमाडौं, २७ वैशाख । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सवस्टेसन निर्माण गरिरहेको छ । काठमाडौँ  उपत्यकामा चार सयदेखि एक सय ३२ केभी क्षमताका सवस्टेसन निर्माणाधीन रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 
 
भविष्यमा वृद्धि हुनसक्ने विद्युतको सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण गरी काठमाडौंँ उपत्यकाका प्रमुख क्षेत्रमा चरणबद्धरुपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाएको छ । 
 
सन् २०५० सम्ममा काठमाडौँ उपत्यकाको विद्युतको उच्चतम माग तीन हजार एक सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले थप २० वटा नयाँ सवस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको छ । 
सवस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ । कूल दुई सय २० केभी प्रसारण संरचनाले काठमाडौँ उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी ‘रिङ’ निर्माण गर्न सर्वेक्षण भइरहेको छ । हाल काठमाडौँको लप्सीफेदी, मातातीर्थ, चोभार, फुटुङ, टेकु, मूलपानी र भक्तपुरको ठिमी तथा चाँगुनारायणमा सवस्टेसन निर्माणाधीन छन् । टेकु र चाँगुनारायण सवस्टेसन निर्माण अन्तिम चरणमा छन् । दुवै सवस्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ । 
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौँ उपत्यकाभित्रको विद्युतको बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणाधीन सवस्टेसन आयोजना जतिसक्दो छिट्टो सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो । 
कार्यकारी घिसिङले निर्माणाधीन टेकु, फुटुङ र चाँगुनारायण सवस्टेसनको अनुगमन भ्रमण गरी तोकिएकै समयमा सवस्टेसन निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । 
टेकुस्थिति ६६/११ केभी सवस्टेसनको सुदृढीकरण गरी १३२/११ केभी र फुटुङमा १३२/११ केभीको नयाँ सवस्टेसन निर्माण भइरहेका छन् । दुवै सवस्टेसनमा ४५/४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर राखिने छ । बालाजु–चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सवस्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिने छ । टेकु सवस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि नौ वटा नयाँ फिडर निकालिने छ, जसले काठमाडौँको केन्द्र भागको विद्युत् आपूर्तिलाई सहज बनाउने छ । 
 
काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सवस्टेसन निर्माण, सञ्चालनमा रहेका सवस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायतका आयोजना सञ्चालित छन् । 
नेपाल सरकार तथा प्राधिकरणको लगानी,  एसियाली विकास बैंक (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको छ ।  
 
काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन अन्तर्गत ललितपुरको खोकना, बुङ्मती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौँको चोभारमा १३२/११ केभी सवस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । सवस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् । 
 
सुख्खा बन्दरगाहा नजिक हिमाल सिमेन्टको जग्गामा सवस्टेसन निर्माणका लागि आवश्यकपर्ने १२ रोपनी जग्गाप्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ । मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारण लाइन बनिसकेको छ । चोभारमा सवस्टेसन बनाइ चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सवस्टेसनमा पु¥याइने छ । 
 
लगनखेल सवस्टेसनलाई सुदृढीकरण गरी १३२ केभी बनाइँदै छ । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रुपमा चापागाउँ र हरिसिद्धीमा लाइन लगिने छ ।  ललितपुर क्षेत्रमा स्यूचाटार–पाटन–बानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ । 
 
स्थानीयको अवरोधका कारण लप्सीफेदी ४०० र २२०/१३२/११ केभी सबस्टेसन निर्माण सुरु हुनसकेको छैन । तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदी सवस्टेसन निर्माण गर्न लागिएको हो लप्सीफेदीबाट चाँगुनारायण सवस्टेसनसम्मको करिब १० किलोमिटर प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध छ । रासस

प्रतिक्रिया