बजेट निर्माणमा सरकारको ध्यान

  • प्रकाशित मिति : बुध, बैशाख २७, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, २७ वैशाख । आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणमा सरकार लागि परेको छ । आफ्नो क्षेत्रका आयोजना लिएर संघीय/प्रदेश सांसददेखि र पार्टीका नेता तथा कार्यकर्ताहरुको आजभोलि सिंहदरबार अर्थमन्त्रालयमा चहलपहल बढेको छ । हरेक वर्षको जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । समय छोटो हुँदै जाँदा सरकारलाई बजेट निर्माणको तयारीमा तिव्रता दिएको छ । मन्त्रालयले गठन गरेको ६ सदस्यीय बजेट मस्यौदा लेखन समितिले मस्यौदा तयार पारिरहेको छ भने बजेट तथा कार्यक्रम महाशाखाको ढोका बन्द भइसकेको छ । 
 
अर्थमन्त्रालय सम्हालिरहेका अर्थमन्त्री प्रकाशशरण महतलाई देशको अर्थतन्त्र कमजोर भएको समयमा आउँदै गरेको बजेटमा अर्थतन्त्र सुधार्न सक्ने बजेट बनाउन चुनौती उत्तिकै छ । सरकारले राज्यको आम्दानीको स्रोत खोजिरहेको समयमा राष्ट्रिय योजना आयोगले यसपटक नयाँ आयोजना नराख्ने र पुरानै आयोजनालाई मात्र निरन्तरता दिने बताएको छ । प्रधानमन्त्री तथा अर्थमन्त्रीसमक्ष योजना माग गरेका तस्विरहरू सार्वजनिक गरेर मतदातालाई रिझाउने प्रवृतिबाट बजेटमा पूर्वतयारी नै नभएका, प्राथमिकतामै नरहेका र खर्च नै हुन नसक्ने खालका आयोजना र कार्यक्रममा पहुँचका भरमा बजेट विनियोजन गर्ने प्रवृति अबको बजेटबाट अन्त्य हुन जरुरी छ ।
 
कोरोना महामारीको कुचक्रबाट अर्थतन्त्रका प्रत्येक आयामहरू संकटसँग जुधिरहँदा अघिल्लो आर्थिक वर्षमा सरकारले ल्याएको बजेटमा भने कहीकतै संकटको संकेतसमेत देखिएको थिएन । यो बजेट निर्मातामा ज्ञानको कमी हुँदै होइन, यो नेतृत्वको नियतमाथिको प्रश्न हो । उद्योग, व्यापार २०/२५ प्रतिशतमा खुम्चिएको छ । आय आर्जन र रोजगारी संकटमा परेको छ । निजीक्षेत्रका कम्पनीहरू खर्च कटौतीका अन्य उपायले थेग्न नसकेपछि अब कर्मचारी कटौतीमा उत्रिएका छन् । यसैले अबको बजेटमा सबै क्षेत्रलाई समेटेर अर्थतन्त्र सुधारमा अहम् भुमिका खेल्ने बजेट निर्माण नितान्त आवश्यक छ ।
 
मुलुकको आवश्यकताका आधारमा साना, ठूला र दीर्घकालीन महत्वका आयोजनामा स्रोत व्यवस्थापन गरेर भविष्यको अवसर र चुनौतीको अनुमान गरी कार्यान्वयनका लागि आर्थिक वर्षको बजेटले स्पष्ट आधार बनाउन सक्नुपर्छ । कसैको दवाब, प्रभाव र रवाफमा भन्दा पनि कानुन, निर्दिष्ट विधि र प्रक्रिया तथा पद्धतिको पूर्ण पालना गर्दै अनुशासनभित्र बसेर बजेट ल्याउने प्रणालीको विकास गर्नुपर्छ । चुनौतीका बीच पनि आशा र नयाँ सम्भावनाको ढोका खुला छ भन्ने सकारात्मक पक्षलाई पहिचान गरेर बजेट निर्माण गर्न जरुरी छ ।

प्रतिक्रिया