भर्खरै

विद्युतीय रिक्सा चलाएर स्वरोजगार

  • प्रकाशित मिति : आइत, बैशाख ३१, २०८०
  • - रासस
title

सुदूरपश्चिम, ३१ वैशाख । वैशाख महिनाको टन्टलापुर घाममा विद्युतीय रिक्सा (अटोरिक्सा) चालक शोभाकान्त उपाध्याय धनगढीको सडक छेउमा रिक्सा अड्याएर पैदल हिँडेका यात्रुको खोजी गरिरहेको भेटिनुभयो । 
   
अन्दाजी ६५ वर्षीय उपाध्यायले विगतमा छोराको विवाह गर्दा लागेको ऋण बुझाउन टन्टलापुर घाममा रिक्सा चलाएर कामाइ गर्नुपरेको दुखेसो सुनाउनुभयो ।  “दुई छोरा भारतमा काम गर्छन्, एउटा छोरा यही गाडी चलाउँछ”, उहाँले भन्नुभयो, “छोराको विवाह गर्दा लागेको रू पाँच लाख ऋण तिर्नै धौधौ परेपछि रिक्सा चलाएर कमाइ गर्नुपरेको हो ।” 
 
धनगढीमा छ धुर जग्गामा बनेको कर्कटपाताको छानो भएको घर छ । उहाँले १० वर्षदेखि अटो रिक्सा चलाउँदै आउनुभएको छ । यसअघि स्थानीय एक निजी विद्यालयमा रिक्सा चालकका रुपमा काम गर्नुभएका उहाँले युवा अवस्थामा भारतमा मजदुरीको काम गर्नुभएको थियो । “अटो रिक्सा चलाउँदा सुरुका वर्षमा राम्रै कमाई हुन्थ्यो, हाल रिक्सा धेरै हुँदा यात्रु नपाएर कमाई घटेको छ”, उपाध्यायले थप्नुभयो, “कमाई घटे पनि रिक्साले रोजगारी दिँदा सन्तुष्टि छ ।” 
 
अर्का अटो रिक्सा चालक ६३ वर्षीय अरुण पुजाराले आफ्ना हातपाउ छउञ्जेल आफ्नै देशमा काम गरेर खाने बताउनुभयो । “विदेशमा गएर तल्लोस्तरको काम गर्न तयार हुने तर आफ्नै देशमा काम गर्न लाज मान्ने र इज्जत जाने कुरा गर्नेको प्रगति हुन सक्दैन”, उहाँले भन्नुभयो, “आफ्ना हातगोडा चलेसम्म काम गरेर खाने हो ।”
  
एकदशक बढी समय भारतको देहरादुनमा मजदुरी गर्नुभएका पुजाराका पाँच छोरा सबैले स्वरोजगारी गर्नुहुन्छ । आफ्नो कमाइप्रति सन्तुष्टि व्यक्त गर्दै उहाँले थप्नुभयो, “आफू कुनै समयमा महिनामा रू एक लाखसम्म कमाउँथे ।” अहिले दिनमा रू पाँच सयदेखि सात सयसम्म कमाइ हुने गरेको उहाँको भनाइ थियो ।
   
धनगढीमा पछिल्ला वर्षमा विद्युतीय रिक्साको व्यवसाय फस्टाएको छ । बजार क्षेत्रका यात्रुको आवागमनका लागि सजिलो साधनका रुपमा रहेको यो व्यवसायबाट धेरैले रोजगारी पाएका छन् । घरायसी काममा मात्रै सीमित रहनुभन्दा रिक्सा चलाएर कमाइ भइरहेको रिक्सा चालक गौरी चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा कमाइ हुने अर्को बाटो छैन, रिक्सा चलाएर हुने कमाइले जासोतसो जीवन गुजारा भइरहेको छ ।”  
 
यहाँले महिलाले पनि रिक्सा चलाएर जीविकोपार्जन गरिरहेका छन् भन्दै चौधरीले महिलाले रिक्सा चलाएको अनौँठो मान्ने सोच र प्रवृत्ति कतिपय ठाउँमा अझै देखिने भनाइ थियो । “यस्तो सोचलाई निरुत्साहित गर्दै धेरै महिला विद्युतीय रिक्सा चलाएर आयआर्जन गर्न थालेका छन्”, उहाँले भन्नुभयो । विद्युतीय रिक्सा चलाएर उहाँले दैनिक रू सात÷आठ सयसम्म कमाइ गरिरहनुभएको छ । 
   
पछिल्ला वर्षमा सहरी क्षेत्रमा भित्रिएका विद्युतीय रिक्सा बेरोजगार भएर बसेकाका लागि मुख्य रोजगारको माध्यम बन्न थालेको रिक्सा मजदुरले बताएका छन् । स्थानीय रिक्सा चालक भीमबहादुर चौधरीले भन्नुभयो, “रिक्सा चलाउने कामबाट भइरहेको आयआर्जनबाट घरधन्दा चलाउन सहज भएको छ ।” 
 
विद्युतीय रिक्सा ‘रिचार्ज’ गरेर चलाउन मिल्छ । एक पटक ‘रिचार्ज’ गर्दा झण्डै एक सय किलोमिटरको दूरीसम्म चलाउन सकिन्छ । पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय रिक्सा व्यवसायले धेरै योगदान दिएको छ । यस व्यवसायप्रति आकर्षण बढ्दै जाँदा बजार क्षेत्रमा रिक्साको सङ्ख्या पनि बढ्दै गएको छ ।  
 
छोटो दूरीमा यात्रा गर्न सहज र सस्तो माध्यम बनेको स्थाीयको भनाइ थियो । विद्युत्बाट चार्ज गरेर चलाउन सकिने भएकाले पछिल्लो समय विद्युतीय रिक्सासँगै स्कुटर र विद्युतीय साइकलको प्रयोग पनि बढ्दै गएको छ । विद्युतीय रिक्सा व्यवसाय फस्टाउँदै गए पनि यसको दर्ता गरी रुट परमिट लिन र चालक अनुमतिपत्र पाउन सास्ती खेप्नु परेको रिक्सा मजदुरको गुनासो छ । 
  
यातायात व्यवस्था कार्यालयले यी रिक्सा दर्ता र चालक अनुमतिपत्र प्रदान गर्दछ । सुरुका वर्षमा धनगढी उपमहानगरपालिका कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था थियो । धनगढीमा झण्डै तीन हजार विद्युतीय रिक्सा सञ्चालनमा छन् । विद्युतीय रिक्सा सञ्चालनसँगै दुई दशकअघिसम्म सञ्चालनमा रहेका परम्परागत तीनपाङ्ग्रे रिक्साको व्यवसाय पूर्णरुपमा विस्थापित भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 8 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 13 hours ago