भर्खरै

विद्युत विकासमा भारत बाधक नबनोस्

  • प्रकाशित मिति : बुध, जेठ १०, २०८०
  • - विद्युत संसार
title

काठमाडौं १०, ज्येष्ठ वर्षायाममा बढी हुने नेपालको बिजुली भारतको बाटो हुँदै खरिद गर्न बंगलादेश तयार छ । तर नेपालको बिजुली बंगलादेश निर्यात गर्न भारतीय प्रसारण लाइन प्रयोग गर्नुपर्ने हुन्छ । सोमबार र मंगलबार भएको नेपाल–बंगलादेश सचिवस्तरीय बैठकमा पहिलो चरणमा भारतलाई मनाएर ४० देखि ५० मेगावाट बिजुली लैजाने सहमति भएको छ । नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ५ औं बैठकमा यी मुख्यबुँदामा सहमति भएको हो । नेपाल–बंगलादेश दुई दिने ऊर्जा वार्तामा नेपाल र बङ्गलादेशबीच ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले जनाएको छ । नेपालको ऊर्जा क्षेत्रमा ऊर्जा क्षेत्रका लागि सुखद् विषय हो । तर बंगलादेशमा भारतको बाटो हुँदै नेपालको विद्युत् लैजानुपर्ने भएकाले नेपालको बिजुली बंगलादेश निर्यात गर्न भारतलाई मनाउन जरुरी छ । भारतले ‘ग्रीन सिग्नल’ दिए पनि नेपाल–बंगलादेशबीच विद्युत् व्यापारको स्वीकृति दिइसकेको छैन । दुई वर्षअघि भएको बैठकमा त्रिपक्षीय बैठक बसेर विद्युत् व्यापारका लागि वातावरण बनाउने निर्णय भएको थियो । त्यस यता त्रिपक्षीय बैठक हुन सकेको छैन ।

नेपाल–बंगलादेशबीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । यसका लागि भारतको साथ र अनुमति अनिवार्य भएका कारण त्रिपक्षीय बैठकका लागि भारतलाई मनाउने सहमति दुवै भएको छ । यसअघि काठमाडौं बैठकमा पनि नेपाल–बंगलादेश डेडिकेटेड विद्युत् प्रसारण लाइन निर्माण गर्ने सहमति भएको थियो । त्रिपक्षीय समझदारी गर्न भारतसँग पहल गर्ने सहमति समेत भएको थियो । ५० मेगावाट परीक्षणस्वरूप लैजानलाई गत भदौमा नेपाल र बंगलादेशवीच सहमति भएको थियो । तर हालसम्म भारतले अनुमति नदिएको र पछिल्लो नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा अनुमतिको लागि आयोजनाको नाम मागेका कारण भारतले यस विषयमा साथ दिने विश्वास नेपालको रहेको छ ।

बैठकबाट नेपाल–बंगलादेश र भारतबीच विद्युत व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माण लगायतका विद्युत क्षेत्रमा सहकार्य गर्नका लागि उच्चस्तरीय र प्रशासनिक संयन्त्र स्थापना गर्नको लागि दुवै पक्षबाट पहल गर्ने सहमति भएको छ । अब भारतले यो वा त्यो बहानामा विद्युत व्यापारलाई रोक्नु र नेपालको ऊर्जा विकासमा भारत बाधक बन्नु हुँदैन । छिमेकी देशहरूसँगको सम्बन्धलाई प्रगाढ बनाइराख्न पनि भारतले नेपालबाट बंगलादेशमा हुने विद्युत व्यापारमा साथ दिन अत्यन्त आवश्यक छ । 

प्रतिक्रिया