भर्खरै

“नयाँ टेक्नोलोजीलाई अङ्गालेर सङ्घलाई व्यवसायी लक्षित बनाउने छु”: अध्यक्ष दिवेश कुमार जैन

  • प्रकाशित मिति : बुध, जेठ १०, २०८०
  • - दिवेश कुमार जैन अध्यक्ष, काठमाडौं विद्युतीय व्यवसायी संघ
title

सप्तरी जिल्लामा वि.सं.२०४४ सालमा जन्मिएर विविएस सम्मको शैक्षिक योग्यता हासिल गर्नुभएको दिवेश कुमार जैन हाल काठमाडौं विद्युतीय व्यवसायी संघको अध्यक्ष हुनुहुन्छ । करिव दुई दशकभन्दा लामो समय विद्युतीय व्यवसायको अनुभव सँगाल्नु भएका जैन सङ्घमा सदस्यता लिनुभएको करिव १४ वर्ष भयो ।  

यस बीचमा एक कार्यकाल कार्यकारी सदस्य, दुई कार्यकाल कोषाध्यक्ष र एक कार्यकाल उपाध्यक्ष भएका हालसालै मात्र भएको अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको छ । उनै अध्यक्ष जैनसँग हाल संघका काम कारवाही के कस्ता छन्, अबका योजना कस्तो हुनेछ, आर्थिक मन्दीले व्यवसायीहरूलाई पारेको समस्या लगायत विषयमा विद्युत संसार साप्ताहिक पत्रिकाका सम्पादक भीमलाल श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंशः

दिवेश कुमार जैन
अध्यक्ष, काठमाडौं विद्युतीय व्यवसायी संघ

संस्थाको परिचय दिनुहोस् न ?

विद्युत व्यवसायी संघ भनेको विद्युतीय व्यवसायीहरूको एउटा साझा घर हो । सामूहिक संगठनको पहिचान हुने हेतुले जन्मिएको संस्था हो । २०६६ सालमा स्थापना भएको हाम्रो यस संस्थामा हालसम्म ७ सय ४६ जना सदस्यहरू हुनुहुन्छ । व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्दैगर्दा कुनै समस्या परेमा संघले अविभावकको भूमिका खेलेर समस्या समाधानमा अग्रसर हुने गर्दछ । संघले व्यवसाय लक्षित विभिन्न कार्यक्रमहरू राख्दै आएका छौ ।

वार्षिक वनभोज कार्यक्रम, रक्तदान, विभिन्न स्वास्थ्य शिविर, भ्याट तथा कर सम्बन्धी तालिम लगायत विभिन्न मनोरञ्जनका कार्यक्रमहरू गर्दै आएका छौ । मुख्यत संघले व्यवसायीहरूलाई नै कसरी हुन्छ आफ्नो व्यवसायसँगै अतिरिक्त कार्यक्रम सँगै व्यवसाय हकहितका लागि अभिभावकत्वको आभास दिलाउने हो । 

हालैको अधिवेशनबाट तपाई संघको सातौँ कार्यकालको लागि सर्वसम्मत अध्यक्षमा निर्वाचित भएर आउनुभएको छ । संस्थाप्रति अब तपाईँका योजनाहरू केकस्ता छन् बताइदिनुहोस् न ?

जुनकुनै संघ संस्थामा नयाँ नेतृत्व आउँदै गर्दा नयाँनयाँ कुराहरू ल्याइएको हुन्छ तर हामीले यो कार्यकालमा आफ्ना सदस्यहरूमा प्रिभिलियज कार्ड ( व्यावसायिक डिस्कान्ट कार्ड) जसमा उपचार गर्न देखि लाइफ इन्सुरेन्स, कलेज, सपिङ सेन्टर, मार्टहरुमा समेत सहुलियतको व्यवस्था हुने सम्मका योजना बनाएका छौ । जुन हाम्रा लागि धेरै उपयोगी हुन्छ । यस्तो योजना हामीले आउँदो असार मसान्तमा सदस्यता नवीकरण गर्ने सदस्यहरूलाई वितरण गर्ने योजना बनाएका छांै ।

अर्को तत्कालै गर्नुपर्ने काममा आजसम्म पनि धेरै सदस्यहरूले संघको परिचयपत्र पाउनु भएको छैन् यो काम पनि छिटै नै गर्ने योजनामा अगाडि बढिरहेका छौं । अर्कोतर्फ संघको वेभसाईटको काम अन्तिम चरणमा पुगेको छ भने संघको छुटै मोबाइल एपको पनि अवधारण बनाउँदै छौं ।

जसको माध्यमबाट सदस्यता नवीकरण देखि आफ्ना सदस्यहरूले संघले गरेका कुनै पनि कार्यक्रमको सूचना तथा प्रचारप्रसार एकैपटक हुन्छ । विशेष गरी हामी नयाँ टेक्नोलोजीलाई  पेपरलेस गरेर सदस्यहरूलाई अभिभावकत्वको भूमिका साथै  डिजिटल माध्यमबाट सूचना आदानप्रदान गर्ने योजनाका साथ अगाडि बढिरहेका छौं । 

एरियागत समिति गठनले पूर्णता पाएको छ या छैन्, यस समितिले कसरी कार्य गर्दछ ?

उपत्यका आफैमा ठूलो छ र हाम्रा सदस्यहरू पनि ठूलो सङ्ख्यामा भएको हुनाले एरियागत समिति गठन गरियो भने भोटेवहालबाट हुने कामहरूलाई एरियागत समितिबाट पनि गर्न सकिन्छ ।

हाम्रा सदस्यहरूले संघको केन्द्रीय कार्यालय नै धाउनुपर्ने बाध्यताबाट मुक्त मिल्नेछ । जसले गर्दा समयको बचतसँगै व्यवसायलाई अझ समय दिन सकिन्छ । संघ र एरिया समितिले उपत्यकाभित्रका सम्पूर्ण बिजुली पसलका व्यवसायीहरू जो सङ्घमा अझै आवद्ध हुनुभएको छैन उहाँहरुका लागि संघले नयाँनयाँ र व्यवसायमूलक कार्यक्रमहरू ल्याएर उनिहरुलाई सङ्घमा आवद्धता हुनमा मद्दत गर्ने छौं । 


उपत्यकाभित्र चाबहिल, गोङ्गबु र भोटेबहालगरी तीन वटा समिति घोषणा साधारण सभाबाट नै गरेका छौँ । त्यस समितिमा एक जना संयोजक सहित पाँचजनाको समिति बनाउन निर्देशन दिएका छौं ति समिति गठन अन्तिम चरणमा पुगेको छ । कलंकी, कोटेश्वर एरियाको समिति निर्माण बाँकी भएकोले यी दुई समितिलाई पनि छिटै टुङ्गोमा पुर्याउँछौँ 

हाल देशमा आर्थिक मन्दीको प्रभाव भइरहेको अवस्थामा व्यवसायलाई कस्तो खालको प्रभाव परेको छ ?

हाल बजारमा आर्थिक मन्दी हुनुमा कारणहरू धेरै छन् । पहिलो कारण सहकारीमा पैसा होल्ड हुनु हो । सहकारीमा पैसा  होल्ड हुने भएकोले बैंकले लोन दिन सकिरहेको छैन । अर्कोतर्फ हाम्रो विद्युतीय व्यवसाय पनि ठप्प छ । कुनै पनि निर्माण कार्यको अन्तिमचरणमा आवश्यकता पर्ने भनेको विद्युतीय सामग्री हो निर्माण कार्य नै ठप्प जस्तै भएपछि आर्थिक कारोबार कम हुने गरेको छ । निर्माण कार्य नै रोकिएपछि हाम्रो काम र व्यवसायमा ठूलो असर पर्दछ । यो अवस्थामा व्यवसायीहरूको खर्च समेत उठाउन नसकिरहेको समयमा व्यवसायीहरूले भएको सामग्रीहरूलाई सही मूल्यमा बिक्री गर्ने र आयातलाई घटाएर खर्च कम गर्ने तर्फ ध्यान केन्द्रित गर्नुपर्दछ । 

आजभोली मुख्यबजार क्षेत्रमा पनि व्यवसायीहरूले आफ्नो व्यवसाय छोडेर हिँडेका सटर खालीका सूचनाहरू प्रसस्त देख्न पाइन्छ । देशमा यस्तो अवस्था आउनु पक्कै राम्रो संकेत होइन । यस विषयमा सरकार र सम्बन्धित निकायले ध्यान दिन अत्यन्त जरुरी छ । हामी पनि एक संस्थामा आवद्ध भएकाले हाम्रो तर्फबाट केकस्ता काम कार्य र सहयोग गर्न सकिन्छ ति गर्दै आएका छौं ।    

विद्युतीय बजारमा गुणस्तरको विषय समय समयमा उठ्ने गरेको छ यो विषयलाई हजुरले कसरी लिनुभएको छ ?

विद्युतीय क्षेत्रमा आवद्ध सबै संघ संस्थाहरूले गुणस्तरीय सामग्री प्रयोग र बिक्री वितरण मात्र गर्न विभिन्न कार्यक्रमहरू हामीले आयोजना गर्दै आइरहेका छौं । धेरै समय अगाडि तारको विषयमा धेरै कुरा उठ्ने गरेको थियो ति तार उत्पादन गर्ने कम्पनीहरू केही बन्द भएका छन् भने केहीले आफूलाई सुधार्दै गुणस्तरयुक्त तार उत्पादन गरिरहेका छन् भने एनएसबाट सर्टिफाइड सँगै एफएलआरएस युक्त तार बजारमा ल्याइरहेका छन् । त्यस्तै लाईटिङ्ग, एमसिवीलगायतका सामग्रीमा पनि गुणस्तर बढेको छ । तर हामीले गुणस्तरको विषयमा व्यवसायी र उपभोक्ताहरूलाई सचेत गराउने हाम्रो मुख्य काम हो र गर्दै पनि आइरहेका छौं ।

यस विषयमा सरकारले पनि नै गम्भीरतापूर्वक हेर्नुपर्ने देखिन्छ ।  प्रायः विद्युतीय सामग्रीहरू आयात हुने भएकाले ति हुने सामग्रीहरू भन्सार बिन्दुमा नै प्रयोगशाला राखेर परिक्षण पश्चात् मात्र नेपाल भित्र्याउने सिस्टम आएमा हामी व्यवसायी र उपभोक्ता दुवैलाई सहज हुने थियो । त्यसैले सरकारले भन्सार बिन्दुमा प्रयोगशाला राख्नु एकदम अपरिहार्य छ । 

अन्तमा के भन्न चाहनु हुन्छ ?

नेपालको वर्तमान अवस्था आर्थिक मन्दीका कारण प्रायः सबै क्षेत्रको व्यापार व्यवसाय समस्याग्रस्त छन् । हाम्रो विद्युतीय क्षेत्र पनि नराम्रोसँग समस्यामा परेको हुँदा यस्तो अवस्थामा म संघको अध्यक्षको हैसियतले सम्पूर्ण व्यवसायीहरूलाई सकारात्मक रुपमा आफ्नो व्यवसायलाई निरन्तरता दिन आग्रह गर्दछु ।

व्यवसाय कार्यमा आफ्नो खर्च कम गर्ने र उधारोको व्यापार सकभर नगर्न सचेत गराउन चाहन्छु । केही व्यवसायीहरूलाई समस्या परेको खण्डमा आफ्नो तर्फबाट सकेको सहयोग गर्न संघ तयार रहेको छ । 

प्रतिक्रिया