भर्खरै

सिँचाइको अभावमा वर्षौंदेखि बाँझो फाँट घट्टेखोला सिँचाइले हराभरा

  • प्रकाशित मिति : सोम, असार २५, २०८०
  • - विद्युत संसार
title

गलेश्वर, २५ असार । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँमा घट्टेखोला सिँचाइ योजना निर्माण भएपछि सिँचाइको अभावमा वर्षौंदेखि बाँझो रहेको यहाँको फाँट हराभरा भएको छ । 
 
खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा रु २५ लाखको लागतमा सिँचाइका लागि पूर्वाधार निर्माण गरेपछि कुहुँमा सिँचाइ सुविधा विस्तार भएको हो । गत पाँच वर्षदेखि उक्त कार्यालयले सिँचाइका लागि पूर्वाधार निर्माणको काम थालेको थियो  । यस वर्ष अपुग भएको ठाउँमा सिँचाइ सुविधा विस्तार गरिएको घट्टेखोला सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष गोविन्द खत्रीले जानकारी दिनुभयो । 
 
उहाँका अनुसार यस वर्ष २५ ठाउँमा चेम्बर निर्माण गरी तीन हजार तीन सय मिटर पाइपलाइन विस्तार गरिएको छ । उक्त आयोजनाबाट कुहुँको भलाबोट, अनबाङ, रातमाटा, सिरानचौर, मजुवा, खोर, ओढारमुनि, बाटुले, काप्रा, हिलेटाउका, पातलेगरा, धाप, बाइसआनालगायत फाँटमा सिँचाइको सुविधा पुगेको छ ।
 
सिँचाइ आयोजना निर्माण भएपछि यहाँका कृषकलाई खेती गर्न सहज भएको छ । सिँचाइको अभावमा आफ्ना खेतीयोग्य जमिन बाँझै राख्न बाध्य भएका यहाँका बासिन्दालाई सिँचाइ आयोजना निर्माण भएपछि हरेकको खेतबारीमै पानीको सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष खत्रीले बताउनुभयो ।
 
आयोजना निर्माण भएपछि बर्खायाममा धान रोपाइँ र हिउँदयाममा फलफूल र हिउँदे खेतीमा सिँचाइ गर्न सुविधा पुगेको स्थानीयवासी प्रितम पुनले बताउनुभयो । “सिँचाइ नहुँदा व्यावसायिक कृषि खेती गर्न सम्भव थिएन, अहिले परम्परागत खेतीबाट व्यावसायिक  बन्न सिँचाइ सुविधाले ठूलो राहत दिएको छ, कृषकका खेतबारीमै पानी आउने भएकाले बर्खा र हिउँदमा बोटबिरुवा र खेतीमा सिँचाइ गर्न सजिलो भएको छ”, उहाँले भन्नुभयो । 
 
घट्टेखोला सिँचाइ आयोजनाबाट २५ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । यता जिल्लाको बेनी नगरपालिका–२ बगरफाँटमा सिँचाइ कुलो मर्मत नहुँदा किसानलाई सास्ती भएको छ ।
 
विसं २०४२ मा रु २० लाखको लागतमा निर्माण भएको दूधेखोला बगरफाँट सिँचाइ कुलो जीर्ण भएर ठाउँठाउँमा भत्किएकाले बगरफाँटवासीलाई हिउँदमा सिँचाइ गर्न र वर्षामा खेत रोप्नसमेत समस्या भएको बगरफाँटका  बासिन्दाले गुनासो गरे । 

प्रतिक्रिया