भर्खरै

बिजुली आपूर्तिका लागि महत्वपूर्ण मानिएको हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा

  • प्रकाशित मिति : सोम, असार २५, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, २५ असार । मकवानपुर, चितवनलगायतका जिल्लामा सहज बिजुली आपूर्तिका लागि महत्वपूर्ण मानिएको हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ ।
 
नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो । 
 
मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सब स्टेसनसम्मको २२० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको छ ।
 
हेटौँडा–भरतपुर खण्ड प्रसारणलाइन सञ्चालनमा आएपछि हेैटाँडाबाट भरतपुरतर्फ र भरतपुरबाट हेटौँडातर्फ करिब १७० मेगावाट विद्युत् प्रवाह गराउन सकिन्छ । अहिले रहेको पुरानो १३२ केभी प्रसारण लाइनबाट करिब ९० मेगावाट मात्र विद्युत् प्रवाह हुँदै आएको थियो । हेटौँडा–भरतपुर खण्ड सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा थप विद्युत् प्रवाहका लागि सहज हुनेछ ।
 
नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजना सुरु गरिएको हो । 
 
नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण कर्जामा आयोजना सन् २००८ मा सुरु गरिएको थियो । आयोजनालाई हेटौँडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । 
 
प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो । विश्व बैंकले आयोजनाबाट २०७८ को कात्तिकबाट हात झिकेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो ।
 
हेटौँडा–भरतपुर खण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित निर्माणाधीन सबस्टेसनमा लाइन लैजानका लागि २२० केभी चार सर्किट (मल्टी सर्किट)का दुई वटा टावर निर्माण भइरहेको छ । उक्त काम आगामी भदौभित्रमा सम्पन्न हुने आयोजना प्रमुख सन्तोष साहले बताउनुभयो ।
 
हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि भारतीय कम्पनी आईकम टेलबीच  २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो । तर, काम नगरी रणनीतिक महत्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले ठेक्का तोडी कम्पनीले कार्यसम्पादन जमानत वापत राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरेको थियो ।
 
यसैगरी प्राधिकरणले काम ढिला गरेबापत करिब १६ लाख डलर विलम्ब जरिवाना पनि लगाउने निर्णय गरेको थियो । त्यसपछि नयाँ बोलपत्र आह्वान गरी २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरिएको थियो ।
 
भरतपुर–बर्दघाट खण्ड साउनभित्र

आयोजनाअन्तर्गत चितवनको भरतपुरबाट नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन खण्डलाई आगामी साउनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
 
नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा स्थानीयको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण २०७७ चैतबाट यसखण्डमा पर्ने दुई वटाटावर निर्माण रोकिएको थियो । जसले गर्दा प्रसारण लाइन निर्माण पूरा हुन सकिरहेको थिएन । 
 
सर्वोच्च अदालतले रिट खारेज खारेज गरिदिएसँगै स्थानीयसँग सहमति जुटेपछि टावर निर्माण अगाडि बढेको थियो । अहिले टावर निर्माण भइसकेको छ । कूल एक दशमलब सात किलोमिटर तार तान्न सुरु गरिएको छ । 
 
नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको थियो । प्रसारण लाइनको क्षमताले नधान्दा अहिले भरतपुरबाट वर्दघाटतर्फ विद्युत् प्रवाहका लागि समस्या रहेको छ ।

प्रतिक्रिया