भर्खरै

सडक पेटीका अव्यवस्थित पसल हटाउन खोज्दा नगर प्रहरी र व्यापारीबीच झडप

  • प्रकाशित मिति : बिही, असार २८, २०८०
  • - विद्युत संसार
title

बारा, २७ असार । कलैया बजार व्यवस्थित गर्न खटिएका नगर प्रहरी र व्यापारीहरुबीच झड्प हुँदा एक नगर प्रहरी गम्भीर घाइते भएका छन् ।
 
कलैया हाट बजारमा व्यापारीले नगरपालिकाले उपलब्ध गराएको ठाउँमा व्यापार नगरी सडक पेटीमा सामान राखी व्यापार गर्दा सर्वसधारणलाई हिँडडुल गर्न समस्या हुन थालेपछि कलैया उपमहानगरपालिकाले पसल हटाउन नगर प्रहरी खटाएको थियो । 
   
अवरोध हटाउन नगर प्रहरीले काम थालनी गर्न थालेपछि व्यापारीले अवरोध सिर्जना गर्न खोज्दा  व्यापारी र नगर प्रहरीबीच झड्प भएको थियो । व्यापारीको कुटाइबाट नगर प्रहरी उज्वल यादव गम्भीर घाइते भएको नगरप्रमुख विनोद साहले जानकारी दिनुभयो । यादवलाई तत्कालै प्रदेशिक अस्पताल कलैया लगिएकामा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि वीरगञ्ज पठाइएको अस्पतालका अहेव प्रदीप यादवले जानकारी दिनुभयो । यादवको छातिमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ ।  
 
यसैबीच नगर प्रमुख साहले अस्पताल पुगी घाइते भएका नगर प्रहरीको अवस्था बुझ्नुभएको छ । नगरपालिकाकोे निर्णय कार्यान्वयन गर्न खटिएका नगर प्रहरीमाथि भएको आक्रमणको घोर भत्र्सना गर्दै दोषीलाई कारबाही गराउन कडा कदम चालिने उहाँले बताउनुभयो । 
 
दुवैपक्ष बीचको झडपमा यादवसहित पाँच नगर प्रहरी घाइते भएका छन् । सोही झडपमा परी करिब एक दर्जन व्यापारी पनि घाइते भएको नेपाल तरकारी फलफूल खुद्रा व्यापारी सङ्घका अध्यक्ष दिपलाल साहले जानकारी दिनुभयो । 

प्रतिक्रिया