भर्खरै

नयाँ बुटबल–बर्दघाट प्रसारण लाइन पुसभित्र सम्पन्न गर्ने लक्ष्य

  • प्रकाशित मिति : आइत, साउन ७, २०८०
  • - विद्युत संसार
title

काठमाडौं, ७ साउन । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
 
वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिको निर्णय प्रक्रियामा भएको ढिलाइका कारण आयोजनाको निर्माणमा असर परेको थियो । अहिले आयोजनाले रुख कटानका लागि अनुमति पाइसकेको छ । 
 
प्रसारण लाइनका टावर र मार्गधिकार (राइट अफ वे) लागि ५०दशमलव ३१ हेक्टर वन क्षेत्रको जग्गा र त्यहाँ रहेका पाँच हजार आठ सय रुख हटाउनु पर्नेछ । आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाएवापत रु २७ करोड ९९ लाख ४९ हजार वन विकास कोषमा जम्मा गर्नु पर्ने छ । यसमध्ये आयोजनाले पहिलो किस्तावापत रु तीन करोड ५१ लाख कोषमा गरेपछि जग्गा प्रयोग र रुख कटानको स्वीकृति प्रक्रिया अगाडि बढेको थियो । 
 
कूल २१ किलोमिटर प्रसारण लाइनका लागि ५६ वटा टावर निर्माण गर्नु पर्नेछ । यसमध्ये २१ वटाको जग हालिएको छ । पाँच वटा टावर खडा गरिएको छ । प्रसारण लाइनका अधिकांश उपकरण आयोजनास्थलमा आपूर्ति भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा रहेको समस्या समाधान भइसकेकाले जनशक्ति थप गरी आगामी पुसभित्र निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । 
 
उहाँले नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म दुई सय २० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनमध्ये आयोजनाले तान्नुपर्ने डबल सर्किट तार तान्न  निर्देशन दिनुभयो । आयोजनाअन्तर्गत भूमहीमा दुई सय २०÷एक सय ३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया