भर्खरै

सामुदायिक विद्युत उपभोक्ता महासङ्घले विहीबार १९ औं स्थापना दिवस मनाउँदै

  • प्रकाशित मिति : सोम, साउन ८, २०८०
  • - भीमलाल श्रेष्ठ
title

काठमाडौं, साउन । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले आफ्नो १९ औं स्थापना दिवस मनाउने भएको छ ।  
 
नेपालमा विद्युतीकरणको लागि समुदायकोमा क्रियासित सामुदायिक संस्थाहरूको छाता संगठन महासङ्घले विभिन्न कार्यक्रम गर्दै विहीबार १९ औं स्थापना दिवस मनाउने भएको महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले बताउनुभयो ।
 
२०६० सालमा स्थापना भएको महासंघ नेपालले आफ्नो स्थापनाकाल देखि नै नेपालको ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्दै आएको छ । हाल सम्म सामुदायिक विद्युतीकरण विस्तारित हुँदै ५५ जिल्लामा ३०२ वटा सामुदायिक संस्थाहरू बन्न पुगेका छन । जसमा ग्राहक संख्या साढे पाँच लाख भन्दा माथि छ ।
 
विहीबार ललितपुरको स्थानीय प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा हुने कार्यक्रममा महासङ्घमा आवद्ध देशैभरका सम्पूर्ण सामुदायिक संस्थाका सदस्यहरूको सहभागिता रहने महासंघले जनाएको छ । कार्यक्रम प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थितिमा हुने महासङ्घले जानकारी दिएको छ ।
 
महासङ्घले नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन नसकेको ठाउँमा सामुदायिक विद्युत संस्थाहरूले ९० प्रतिशत सरकारको र १० प्रतिशत समुदायको गरी ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्ने सरकारको उद्देश्य अनुरूप नेपाल सरकारको उज्यालो अभियानलाई पुरा गर्न ठूलो योगदान पुर्‍याएको छ । 
 
सरकारले ५० जिल्लालाई उज्यालो जिल्ला घोषणा गरेको र यसको सफलताको पछाडि महासङ्घको ठूलो योगदान रहेको अध्यक्ष ज्ञवालीले बताउनुभयो । स्थानीय उद्योग तयार गर्ने र रोजगारी सृजना गर्ने देखि विद्युतीय चुलो राष्ट्रिय अभियान सुरु गरिएका छौ हाल हामीले ५० प्रतिशत अनुदानमा आफ्ना सदस्यहरूलाई विद्युतीय चुलो वितरण गर्दै आएको उहाँको भनाई थियो । 
नेपाल विद्युत प्राधिकरण ऐन २०४१ र विद्युतीय ऐन २०४९ लागू भइरहेको अवस्थामा लामो समय देखि विद्युतीय ऐन परिमार्जन हुन नसकेको अवस्थामा समयसापेक्ष छिटै नयाँ विद्युत ऐन ल्याउनको लागि महासंघ लागिपरेको अध्यक्ष ज्ञवालीले विद्युत संसारलाई बताउनु भयो ।
 
ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्ने सरकारको उद्धेश्य अनुरुप नेपाल सरकारको उज्यालो अभियानलाई पुरा गर्न ठूलो सहयोग पुर्याउँदै आएको महासङ्घले आफ्ना सामुदायिक संस्थाहरूलाई उद्यमशिलतासँगै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सयौँले रोजगारी दिनुका साथै विद्युतीय चुलो मार्फत विद्युत खपतमा पनि वृद्धि गर्न समेत ठूलो भुमिका निर्वाह गर्दै आएको छ ।
 
नेपाल विद्युत प्राधिकरण  नेपाल सरकारको विद्युत व्यवसाय गर्न भनेर एजेन्सीको रुपमा खोलेको एउटा संस्था हो । जसले शहरी क्षेत्र सँगै औद्योगिक क्षेत्रमा विद्युत वितरण गर्दा नाफा हुने र जहाँ भौगोलिक विकटता र दुर्गम क्षेत्रमा विद्युतीकरण गर्दा नोक्सान हुँदा यस्ता क्षेत्रमा विद्युतीकरण गर्न प्राधिकरणको प्राथमिकतामा पर्न सकेन यसकारण सरकारले सामुदायिक विद्युतीकरणको नीति ल्याएको हो ।
 
उज्यालोबाट उद्यमशीलता तर्फ: अध्यक्ष ज्ञवाली

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष नारायण ज्ञवालीले सामुदायिक संस्थाले सरकारको उज्यालो अभियानलाई योगदान पुर्याउँदै गर्दा अब उद्यमशीलता तर्फ उन्मुख भएको बताउनु भएको छ । महासङ्घले आफ्नो १९ औं स्थापना दिवस मनाउँदै गर्दा सामुदायिक विद्युत संस्थामा अझ उत्साह थपिएको बताउनु भयो ।
महासङ्घले विभिन्न परियोजनासँगको सहकार्यमा विगत दुई वर्षदेखि महिला उद्यमशीलतामा जोड दिदै बाग्मती प्रदेशमा पाँच सय जना महिला उद्यमी र तीन हजार भन्दा माथि पुरुष उद्यमी  भएका छन् । जसले ऊर्जामा आधारित व्यवसाय सञ्चालन गर्दै आफ्नो आयआर्जन गर्दै आत्मनिर्भर हुने बाटो लिएको छ ।
 
हाम्रो पूर्वाधार व्यवस्थित नहुदाँ जनताले ढुक्कसँग विद्युतको प्रयोग गर्ने वातावरण अझै तयार हुन नसकेको प्रति यस तर्फ सरकारले विशेष ध्यानदिन आग्रह गर्नुभएको थियो । उहाँले विद्युतीय संरचनाहरू पुराना र लामो दूरीमा सबस्टेशन हुँदा जनताले चाहेको गुणस्तरीय सेवा पाउन नसक्दा महासङ्घले गर्दै आएका विभिन्न उद्यमशीलताका कार्यक्रममा पनि ठूलो असर पुगेको बताउनु भयो ।
 
सरकारले सस्तो लोकप्रियताका लागि विद्युत शुल्क छुट गर्ने तर कसरी उपभोक्तालाई गुणस्तरीय सेवा पुर्याउन सकिन्छ त्यसतर्फ सरकारले कुनै योजना बनाउन नसकेको उहाँको आक्रोश व्यक्त गर्नु भयो । सामुदायिक संस्थाले आफ्ना उपभोक्ताहरूमा विद्युतीकरण सँगै विद्युत खपत बढाउन उद्यमशीलताका साथै रोजगारीलाई पनि बढाउदै आएका छौ । 
 
‘साना उद्यमशीलता बढाउन विद्युत सेवालाई गुणस्तरीय बनाउने, विद्युत महसुल सुलभ बनाउने, उद्यमशीलताका लागि सुपथ व्याजमा ऋण दिन वातावरण तयार पर्ने, सीपमूलक तालिम, व्यावसायिक तालिम दिने, कच्चा पदार्थलाई सहजिकरण गर्ने, बजार व्यवस्थापन गर्ने सरकारको यस्ता कामले गाउँ गाउँमा उद्यमशीलता बढ्नुका साथै नेपालमा नै उत्पादन भएको विद्युत खपत हुने थियो ।’ अध्यक्ष ज्ञवालीको भनाई थियो ।
 
उद्यमशीलता बढाउने हाम्रो अभियान रोजगारी बढाउने अभियान पनि हो । उज्यालो अभियानसँगै उद्यमशीलता बढाउने र अर्थतन्त्रलाई सबल बनाउने पहल सरकारले सुन्नुपर्छ साझेदार र सरोकार सङ्घसंस्थाको आवाज सरकारले सुन्नुपर्छ र उद्यमशीलताको विकासको लागि आवश्यक नीतिमा समेट्ने अठोट सरकारबाट आउनु पर्ने उहाँको आग्रह थियो ।

प्रतिक्रिया