भर्खरै

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ पुग्न कति लाग्छ ?

  • प्रकाशित मिति : बिही, साउन ११, २०८०
  • - विद्युत संसार
title

काठमाडौंं, ११ साउन । बिहीबारदेखि नै लागुहुने गरि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेश अन्तर्गत श्रम,रोजगार तथा यातायात मन्त्रालयले बिहीबार जारी गरेको प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर चल्ने लामो रुटको यात्रुबाहक सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक)मा ३ दशमलव १ प्रतिशत भाडा घटेको छ ।
 
मालबाहक सवारीमा प्रतिकिमि प्रतिटनको भाडा १४ रुपैयाँ १९ पैसा घटेको छ । जस अनुसार अबको भाडा १३ रुपैयाँ ७४ पैसा लाग्ने छ ।  यस्तै काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुवाहक सार्वजनिक सवारीमा १८ रुपैयाँ, १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ, २० किलोमिटरसम्म यात्रा गर्दा ३२ र २० किलोमिटर भन्दाबढी ३७ रुपैयाँ भाडा लाग्ने छ ।
 
उक्त भाडादरमा १५ केजीसम्म यात्रुलै निःशुल्क सरसामान बोक्न पाउनेछन् भने त्यसभन्दा माथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँको दरले भाडा लाग्ने राजपत्रमा उल्लेख छ
 
भाडादर समायोजन भएसँगै काठमाडौंबाट सबैभन्दा लामो दुरी धुलिखेल–खुर्कोट– मन्थली–तामाकोशी हुँदै जिरीसम्मको भाडा २३ रुपैयाँले घटेको छ । अब कामाडौंदेखि जिरीसम्म पुग्न ९ सय ८६ रूपैयाँ लाग्ने छ । यसअघि जिरीसम्मको भाडा १ हजार ९ रुपैयाँ थियो ।
 
यसअघि बागमती प्रदेशले ११ जेठमा गाडी भाडादर समायोजन गरेको थियो । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गरेको हो ।
 
विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि पछिल्लो समय नेपाल आयल निगमले समेत मूल्य समायोजन गर्दै आइरहेको छ । पछिल्लो पटक निगमले १५ दिनको अवधिमै पेट्रोलियम पदार्थको मूल्य दुई पटक समायोजन गरिसकेको छ । यस्तै, निगमले अबदेखि स्वचालित मूल्य प्रणाली लागू गर्ने घोषणा समेत गरिसकेको छ ।
 
पेट्रोलियम पदार्थको मूल्य घटेपछि चौतर्फीरुपमा सार्वजनिक सवारी साधनको भाडादर घटाउन प्रदेश सरकारलाई दबाब परेको थियो । संघीय सरकारले अन्तरप्रदेश चल्ने सवारीको भाडादर निर्धारण गर्ने गरेपनि प्रदेशभित्र चल्ने सवारीको भाडादर सम्बन्धीत प्रदेश सरकारले नै गर्छन् ।
 

प्रतिक्रिया