ग्रामीण क्षेत्रमा उज्यालो अभियानसँगै औद्योगिकीकरण अबको आवश्यकता : सभामुख घिमिरे

  • प्रकाशित मिति : बिही, साउन ११, २०८०
  • - भीमलाल श्रेष्ठ
title

काठमाडौं, ११ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले घोषणा गरेको उज्यालो अभियानसँगै औद्योगिकीकरणलाई विशेष ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ । 
 
आज ललितपुरको स्थानीय प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा भएको सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले सरकारले घोषणा गरेको उज्यालो अभियानलाई सहयोग गरेको प्रति आभार प्रकट गर्दै अब विद्युत खपत र रोजगारी बढाउन ग्रामीण क्षेत्रमा औद्योगिकीकरण बढाउनु पर्ने बताउनु भएको हो । 
 
‘महासंघ ग्रामीण क्षेत्रका जनतालाई उज्यालो पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र अब उज्यालो अभियानसँगै ग्रामीण क्षेत्रमा उद्यमशीलता बढाउन महासङ्घले औद्योगिक क्षेत्रमा प्रभावकारी भूमिका खेल्न आग्रह गर्दछु, यस्ता काममा कुनै समस्या आएमा आफ्नो तर्फबाट समस्या समाधान गर्न तत्पर रहेको छु ।’ उहाँले भन्नुभयो 
 
नेपालको सामुदायिक विस्तृतीकरणमा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घले ग्रामीण क्षेत्रमा विद्युत विस्तार गरेकै कारण सरकारले लिएको उज्यालो नेपाल अभियानको नीतिलाई सार्थकता दिन महत्वपूर्ण भुमिका निर्वाह गरेको र अब विद्युत नियमित गुणस्तरीय र सर्वसुलभ बनाउनुका साथै विद्युत खपत बढाउने योजना बनाएर नेपाललाई औद्योगीकरण तर्फ लैजानु पर्ने जोड दिनुभयो ।
 
सभामुख घिमिरेले पुरानो ऊर्जा ऐनलाई संसोधन गर्न आफ्ना जनप्रतिनिधिहरूलाई सशक्त ढंगले आफ्नो विषय राख्न र यसविषयमा जानकार संघ/संस्था र विज्ञहरूको सुझाब अनुसार आए सभामुखको तर्फबाट गर्नुपर्ने सहयोग र सहकार्यका लागि सँधै सहयोग गर्ने उहाँको भनाई रहेको थियो । 
 
 
कार्यक्रममा पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवालीले विद्युत ऐन संसोधन गरि पठाएको विधेयक लामो समय देखि रोकिएको प्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले   सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ जस्ता सरोकार निकाय र विज्ञहरूको कुनै पनि छलफल नगरी हाल प्रस्तावित गरिएको विद्युतीय ऐन सामुदायिक संस्थाहरूलाई मास्ने आसय द्धारा ल्याउन लागिएको प्रति आपत्ती जनाउनु भएको थियो । 
 
हाल प्राधिकरण र सरकारले नेपालमा नै उत्पादन भएको विद्युत खपत गर्नुभन्दा निर्यातमा ध्यान दिएको प्रति उहाँको गुनासो थियो । स्वदेशमा उत्पादन भएको विद्युत् प्रतियुनिट ४ रुपैयाँमा बेच्ने तर कोइलाबाट निकालिएको विजुली प्रति युनिट १२ रुपैयाँ देखि ३७ रुपैयाँमा आयात गर्दा कति फाइदा हुन्छ ? भन्दै उहाँले सरकारलाई प्रश्न गर्नुभएको थियो । 
 
वर्तमान अवस्थामा विद्युत उज्यालोका लागि मात्र नभएर ग्रामीण क्षेत्रमा उद्यमशिलतासँगै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी दिनु हो यस कार्यमा महासङ्घले कार्यक्रम नै बनाएर अगाडि बढेपनि सरकार भने उज्यालो कै अभियानमा अल्झिरहेको गुनासो पोख्नुभएको थियो । 
 
 
त्यस्तै कार्यक्रममा पूर्व मन्त्री उमेश श्रेष्ठले नेपालको समृद्धिको मूल आधार नै ऊर्जा रहेको बताउनुभएको छ । जलविद्युतमा अथाह सम्भावनाका बिचमा पनि नेपालले यसको फाइदा लिन नसकेको उहाँको भनाई रहेको थियो । 
 
उहाँले प्राधिकरणले गाउँगाउँमा विद्युत पुर्याउन नसकोको ठाउँमा जनतालाई उज्यालो दिन सफल भएकोमा सामुदायिक संस्थालाई विशेष आभार प्रकट गर्नुभयो । उहाँले सामुदायिक संस्थाले अब उज्यालो अभियानसँगै नेपालमा उत्पादन भएको विद्युत खपत बढाउन र विद्युत नियमित गुणस्तरीय र सर्वसुलभ बनाउन  विशेष ध्यानदिन समेत आग्रह गर्नुभयो । 
 
 उहाँले नेपालमा आयात भइरहेको पेट्रोलियम पदार्थलाई घटाउन पनि विद्युत खपत बढाउन आवश्यक रहेको र त्यसका लागि सामुदायिक संस्थालाई अझ बलियो र शसक्त हुन  कम्तीमा एक मेगावटको विद्युत सामुदायिक संस्थाले नै निर्माण गर्ने नीति सरकारले लिनुपर्ने उहाँको आग्रह थियो ।
 
कार्यक्रममा सांसद प्रदिप यादवले सरकारले वर्तमान विचाराधीन विद्युत ऐन जस्ताको तस्तै पारित गरिए घातक हुने र सामुदायिक संस्थालाई मासिने हुदाँ सरकारले ल्याएको यस्तो नीति हामीलाई मान्ने नहुने बताउनु भयो । उहाँले मन्त्रीहरू विचरा हुने भन्दै केही समुहको उस्काहटमा यस्तो नीति ल्याइएको र ति समुह अरु नभएर कर्मचारी भित्रकै  हुने गरेको उहाँको आरोप थियो ।  
 
आजभोलि बजार क्षेत्रमा नै अनियमित रुपमा विद्युत ट्रिपिङ्ग हुनेगरेको तर प्राधिकरणले नै सामुदायिक संस्थालाई  विद्युत गुणस्तरीयतालाई लिएर गरिएका यस्ता कार्य गलत भएको उहाँको भनाई थियो । सामुदायिक संस्थाले ग्रामीण क्षेत्रमा विद्युत विस्तार गरेकै कारण उज्यालो नेपाल अभियानलाई सफल बनाउन ठूलो योगदान गरेपनि सरकारले त्यसको मूल्याङ्कन गर्न नसकेको उहाँको दावी थियो । 
 
 
त्यस्तै विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले आयोगले विद्युत महसुल निर्धारण गर्ने, विद्युत नियमित गुणस्तरीय र सर्वसुलभ बनाउने, उपभोक्ताको हित संरक्षण गर्ने र नेपाल सरकारलाई जलविद्युत क्षेत्रमा सल्लाह सुझाव दिने काम गर्दै आएको बताउनु भयो । 
 
नेपाल विद्युत प्राधिकरण उपकार्यकारी निर्देशक रामजी भण्डारीले  ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्ने सरकारको उद्देश्य अनुरूप नेपाल सरकारको उज्यालो अभियानलाई पुरा गर्न ठूलो सहयोग सामुदायिक संस्थाको रहेको बताउनुभयो ।
 
अहिलेको अवस्थामा विद्युत मागभन्दा उत्पादन बढि छ केही मात्रामा निर्यात भएता पनि त्यो पर्याप्त छैन यसले पनि विद्युत खपत सामुदायिक संस्थाको भूमिका अझ बढेर गएको छ ।
 
नेपाल विद्युत प्राधिकरण र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ बिच द्धन्द नभएपनि केही नीतिका कारण सबालहरू हुनेगरेका छन् त्यसलाई न्यूनिकरणका निम्ति प्राधिकण भित्र सामुदायिक विभाग मार्फत विद्युतीय पोल परिर्वतन देखि तालिमसम्मका धेरै सुधारका कार्यक्रमहरू भइरहेका छन् । 
 
त्यस्तै वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सामुदायिक संस्थाको माध्यमबाट ग्रामीण क्षेत्रका जनतालाई उज्यालो प्रदान गर्न सफल सामुदायिक संस्थाको काम सह्र्रानिय रहेको बताउनु भयो । सामुदायिक संस्थाहरूले नेपाल विद्युत प्राधिकरणको केही निर्णयमा असहमति जनाउदै आउनु भएको छ ति निर्णयहरू कुन तरिकाबाट आयो र त्यसले सामुदायिक संस्थालाई कस्तो असर गरेको यसमा प्राधिकरण र महासङ्घको नेतृत्वहरूको छलफलबाट नै टुंग्याउन आग्रह गर्नुभयो ।
 
नेपालको भौगोलिक विकटताका कारण ग्रामीण क्षेत्रमा जहाँ विद्युत प्राधिकरणले विजुली पुर्याउन सकेको छैन त्यस क्षेत्रमा साना लघुविद्युत तथा सौर्य ऊर्जा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले सरकारले दुई वर्षभित्र उज्यालो नेपालको अभियानलाई साथ दिइरहेको जानकारी दिनु भयो । पहिले माईक्रो हाईड्रो तथा सौर्य विद्युतीकरण मार्फत ग्रामीण क्षेत्रमा उज्यालो प्रदान गर्दै आएको तर हाल प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन पुर्याएको ठाउँका विद्युत पनि राष्ट्रिय प्रसारणलाइनमा नै जोड्न अभियानकै रुपमा लिएर जान हामी अग्रसर भएका छौ । प्राधिकरणको एनईए इन्जिनियरिङ् कम्पनी मार्फत अध्ययन गरेका छौ हाल सो अध्ययन अन्तिम चरणमा पुगेको उहाँको भनाई थियो । स्वच्छ खाना पकाउने सुधारिएको चुलो, विद्युतीय चुलो, बायोग्याँस लगायत प्रविधिलाई पनि प्रोत्साहन गर्ने र एलपीजी ग्याँसको खपत घटाउन वैकल्पिक ऊर्जाले अभियानको रुपमा अगाडि बढाएको बताउनु भयो ।
 
 
त्यस्तै सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष नारायण ज्ञवालीले सरकारको उज्यालो नेपाल अभियानको उद्देश्य अनुरूप सामुदायिक संस्थाले पुर्याउँदै आएको योगदानलाई राज्यले वेवास्ता गर्न नहुने बताउनु भयो । १९ वर्ष देखि सामुदायिक संस्थाले ग्रामीण क्षेत्रमा उज्यालोसँगै उद्यमशीलता तर्फ उन्मुख भएको खुसी व्यक्त गर्नुभयो ।
 
महासङ्घको १९ औं स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले सामुदायिक संस्थाले ग्रामीण क्षेत्रमा क्षेत्रमा विद्युत विस्तार गरेकै कारण उज्यालो नेपाल बन्न सफल भएपनि सामुदायिक संस्थाहरूले गरेको कार्यको राज्यले कदर नसकेको उहाँको गुनासो थियो ।
 
उहाँले अब सामुदायिक संस्थाले आफ्ना सामुदायिक संस्थाहरूलाई उद्यमशीलतासँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सयौँले रोजगारी दिनुका साथै विद्युतीय चुलो मार्फत विद्युत खपतमा पनि वृद्धि गर्न समेत ठूलो भूमिका निर्वाह गर्दै आएको उहाँको भनाई थियो । त्यस्तै उहाँले विद्युत ऐन जनमुखी हुनुपर्ने र वर्तमान विचाराधीन विद्युत ऐन संसोधन गरेर मात्र पारित गर्नुपर्ने भनाई राख्नुभयो ।
 
सरकारले ५० जिल्लालाई उज्यालो जिल्ला घोषणा गरेको र यसको सफलताको पछाडि महासङ्घको ठूलो योगदान रहेको अध्यक्ष ज्ञवालीले बताउनुभयो । स्थानीय उद्योग तयार गर्ने र रोजगारी सृजना गर्ने देखि विद्युतीय चुलो राष्ट्रिय अभियान सुरु गरिएका छौ हाल हामीले ५० प्रतिशत अनुदानमा आफ्ना सदस्यहरूलाई विद्युतीय चुलो वितरण गर्दै आएको उहाँको भनाई थियो । 
महासङ्घले विभिन्न परियोजनासँगको सहकार्यमा विगत दुई वर्षदेखि महिला उद्यमशीलतामा जोड दिदै बाग्मती प्रदेशमा पाँच सय जना महिला उद्यमी र तीन हजार भन्दा माथि पुरुष उद्यमी  भएका छन् । जसले ऊर्जामा आधारित व्यवसाय सञ्चालन गर्दै आफ्नो आयआर्जन गर्दै आत्मनिर्भर हुने बाटो लिएको छ ।
 
हाम्रो पूर्वाधार व्यवस्थित नहुदाँ जनताले ढुक्कसँग विद्युतको प्रयोग गर्ने वातावरण अझै तयार हुन नसकेको प्रति यस तर्फ सरकारले विशेष ध्यानदिन आग्रह गर्नुभएको थियो । उहाँले विद्युतीय संरचनाहरू पुराना र लामो दूरीमा सबस्टेशन हुँदा जनताले चाहेको गुणस्तरीय सेवा पाउन नसक्दा महासङ्घले गर्दै आएका विभिन्न उद्यमशीलताका कार्यक्रममा पनि ठूलो असर पुगेको बताउनु भयो ।
२०६० सालमा स्थापना भएको महासंघ नेपालले आफ्नो स्थापनाकाल देखि नै नेपालको ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्दै आएको छ । हाल सम्म सामुदायिक विद्युतीकरण विस्तारित हुँदै ५५ जिल्लामा ३०२ वटा सामुदायिक संस्थाहरू बन्न पुगेका छन । जसमा ग्राहक संख्या ५ लाख ५० हजार भन्दा माथि छ ।
 
 
सो कार्यक्रममा सामुदायिक संस्थाको तर्फबाट तिमाल सामुदायिक विद्युत सहकारी संस्था काभ्रे र पत्रकारिता तर्फ विद्युत संसार साप्ताहिकका सम्पादक भीमलाल श्रेष्ठ सम्मानित हुनुभएको थियो । 
 
कार्यक्रममा सांसद सूर्यमान दोंग, अर्थ विज्ञ रत्नसंसार श्रेष्ठ, पुजा शर्मा राष्ट्रिय निर्देशक प्राक्टिकल एक्सन, गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदी, पूर्व मह सचिव तथा महासङ्घका सल्लाहकार रामकृष्ण हुमागाईँ लगायतको उपस्थिति रहेको थियो ।
 
तस्विर: फोटो पत्रकार मनोहर श्रेष्ठ/विद्युत संसार साप्ताहिक पत्रिका, अनलाईन

प्रतिक्रिया