भर्खरै

सेवाग्राही बनेर मन्त्रीको छड्के

  • प्रकाशित मिति : बिही, साउन ११, २०८०
  • - रासस
title

गण्डकी, ११ साउन । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आज पोखरास्थित यातायात व्यवस्था कार्यालयको छड्के जाँच गर्नुभएको छ ।
 
सेवाग्राही सरह कार्यालय पुग्नुभएका मन्त्री जुग्जालीले सवारी चालक अनुमतिपत्र र सवारीसाधन दर्ता तथा नवीकरणसम्बन्धी सेवा दिने कार्यालयको गोप्य अनुमगन गर्नुभएको थियो ।
 
सेवाग्राहीसँगै लाममा उभिएर उहाँले कार्यालयको सेवा प्रवाहका सम्बन्धमा गुनासा र सुझाव सुन्नुभएको थियो । मन्त्रीले जुग्जालीले सवारी चालक अनुमपतिपत्रको ‘ट्रायल सेन्टर’को पनि अनुगमन गर्नुभएको थियो । मन्त्रीसमक्ष सेवाग्राहीले कार्यालयको सेवा लिन लामो समय लाममा उभिनुपर्ने समस्या कम हुँदै गएको प्रतिक्रिया दिएका थिए । कार्यालयले बिहान ८ः०० बजेदेखि नै सेवा दिन थालेपछि सेवा प्रवाह छिटो–छरितो बन्दै गएको छ ।
 
सेवाग्राहीको सहजताका लागि सवारी चालक अनुमतिपत्रको नवीकरणका लागि अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्था मिलाइएको छ । कार्यालयको सेवाप्रति सेवाग्राहीको धारणा बुझ्न र समस्या तथा सुधारका पक्ष पहिचानका लागि आकस्मिक अनुगमन गरेको मन्त्री जुग्जालीले बताउनुभयो ।
 
सो क्रममा कार्यालय प्रमुख तथा कर्मचारीले छरितो र सहजरूपमा सेवा उपलब्ध गराउन हरसम्भव प्रयास गरिएको मन्त्रीसमक्ष बताएका थिए । सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमै दरबन्दीअनुसारको कर्मचारी नहुँदा केही समस्या भएको उनीहरूको गुनासो थियो ।
 
मन्त्री जुग्जालीले जनशक्ति व्यवस्थापनसँगै पोखराको ‘ट्रायल सेन्टर’मा देखिएको सेवाग्राहीको चाप घटाउन छिट्टै बागलुङबाट पनि गाडीको सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले यसअघि गत जेठमा पनि यातायात व्यवस्था कार्यालयको छड्के जाँच गर्नुभएको थियो ।
 
यातायात व्यवस्था कार्यालयको सेवा चुस्त र प्रभावकारी बनाउन मन्त्री जुग्जालीले मन्त्रालयको जिम्मेवारीमा आएको सुरुदेखि नै पहल लिनुभएको थियो । कार्यालयले बिहानी सेवा पनि सुरु गरेपछि अहिले सेवा प्रवाह थप प्रभावकारी बनेको छ ।
 
राजस्व बुझाउनेदेखि ‘लाइसेन्स’को लिखित र प्रयोगात्मक परीक्षासमेत बिहान ८ः०० बजेदेखि नै सुरु हुन्छ । जसले गर्दा कार्यालयमा हुने भीडभाड घटेको छ । कर्मचारीले सहज र छरितो ढङ्गले सेवा दिन पाएका छन् । दिउँसोमा सेवाग्राहीको चाप थेगिनसक्नु भएपछि कार्यालयले गत जेठदेखि बिहानी सेवा सुरु गरेको थियो ।
 
बिहानी सेवा सुरु भएपपछि अहिले करिब ३० प्रतिशत सेवाग्राहीले १०ः०० बजेअघि नै सेवा लिइसक्ने कार्यालयले जनाएको छ । घन्टौँ लाममा बस्नुपर्ने स्थिति हटेको छ । मन्त्री जुग्जालीले यातायातसम्बन्धी सेवाका लागि कार्यालय धाइरहन नपर्ने स्थितिको सिर्जनाका लागि आफूहरू लागिपरेको बताउनुभयो ।

प्रतिक्रिया