भर्खरै

वार्षिकोत्सवको अवसरमा विद्युत प्राधिकरणद्वारा वृक्षारोपण

  • प्रकाशित मिति : सोम, साउन १५, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, १५ साउन । नेपाल विद्युत प्राधिकरणले ३८औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयमार्फत आज वृक्षरोपण गरेको छ । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शक्तिबहादुर बस्नेतले केन्द्र परिसरमा नास्पातीको बिरुवा रोपी वृक्षरोपणको सुरुवात गर्नुभएको थियो ।
 
सो अवसरमा मन्त्रालयका सचिव एवम् प्राधिकरण सञ्चालक समितिका सदस्य दिनेश कुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कर्मचारीहरुले पनि वृक्षारोपण गर्नुभयो । नास्पातीको पकेट क्षेत्रको रुपमा रहेका फर्पिङमा अधिकांश बिरुवा रोपिएका छन् । 
 
कार्यक्रममा मन्त्री बस्नेतले वृक्षरोपण गरिएका बिरुवाको संरक्षण सबैभन्दा महत्पूर्ण भएकाले त्यतातर्फ विशेष ध्यान दिन निर्देशन दिनुभयो ।  मन्त्रालयका सचिव घिमिरेले वृक्षरोपण गरिएका बिरुवालाई त्यतिकै नछाडेर हेरचाह र संरक्षण गर्न आग्रह गर्नुभयो । कार्यकारी निर्देशक घिसिङले आगामी वर्षबाट जलविद्युत् आयोजनाहरुको जलाधार क्षेत्रमा वृक्षरोपण गरिने बताउनुभयो ।
 
प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरु, वितरण केन्द्र÷उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरु, सबस्टेसन कार्यालयहरु, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादनगृहरुमा कार्यारत कर्मचारीहरुले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानहरुमा वृक्षरोपण गरेका हुन् । 
 
कार्यालयहरुले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरुपका एक लाखभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवाहरु रोपेका छन् । 
 
जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजना निर्माण गर्दा रुख काट्ने मात्र होइन रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्दै आएको छ । प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने स्थान नभएका काठमाडौं उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीहरुले नेपालको पहिलो तथा ऐतिहासिक फर्पिङ जलविद्युत् केन्द्र परिसरमा बिरुवा रोपेका छन् ।

प्रतिक्रिया