भर्खरै

विद्युत् नपुगेका गाउँमा सोलार बत्ती

  • प्रकाशित मिति : आइत, साउन २१, २०८०
  • - रासस
title
ढोरपाटन, २१ साउन । ढोरपाटन नगरपालिका–९ छ्यान्तुङकी थमकुमारी भण्डारी अहिले ७० वर्ष पूरा हुनुभयो । उहाँले अहिलेसम्म टुकी र दियालो बालेर रात कटाउँदै आउनुभएको थियो । वर्षौँदेखि अन्धकारमा जीवन बिताउँदै आउनुभएकी भण्डारीको घर आजभोलि उज्यालो बनेको छ । उहाँले भन्नुभयो, “गाउँ अहिलेसम्म अन्धकारमा थियो, नगरपालिकाले सोलार बत्ती वितरण गरेपछि अहिले जताततै उज्यालो भएको छ ।” 
 
ढोरपाटन नगरपालिकाले विद्युत्को पहुँचभन्दा टाढा रहेका गाउँमा सोलार बत्ती वितरण गरेपछि छ्यान्तुङ गाउँ उज्यालो बनेको हो । जिल्लाकै सबैभन्दा दुर्गम गाउँ मानिने ढोरपाटन –९ छ्यान्तुङमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन ।
 
विद्युतको पहुँच नहुँदा भण्डारीसहित यस गाउँका सयौँ नागरिक अन्धकारमा बस्दै आएका थिए । आफ्नो जीवनकाल टुकी र दियालो बालेरै बितेको भन्दै सोलार बत्ती पाएपछि खुसी हुँदै अब अँध्यारो घर उज्यालो हुन थालेको भण्डारीले बताउनुभयो । आफूहरू सहरबजारभन्दा धेरै टाढा हुँदा अहिलेसम्म बिजुली बत्ती पाल्न नपाएको गुनासो पोख्दै सोलार बत्ती मट्टितेल किन्ने खर्च घट्ने र दियालो जम्मा गर्ने झन्झट कम हुने उहाँले बताउनुभयो ।
 
उहाँले भन्नुभयो, “अहिलेसम्म कसैले पनि हामीलाई सहयोग गरेको थिएन, यस्तो अँध्यारोमा बसेको धेरैले देखेका थिए, अब घर उज्यालो हुने भयो, बल्ल सरकार आएको अनुभूति भयो, अँध्यारोमा बस्दा कति कष्ट हुन्छ, पहिलेको जस्ते मट्टितेल पनि अहिले अलि कम पाइन्छ, अब मट्टितेल किन्न र दियालो भाङ जम्मा गरेर महिनौँ बिताउनुपर्ने छैन ।”
 
बागलुङको ढोरपाटन–९ छ्यान्तुङ र वडा नं ६ लामखोरियालगायत थुप्रै गाउँका स्थानीय अहिले पनि टुकी र दियालोको भरमा रात बिताउँछन् । भौगोलिक विकटताका कारण यहाँ स्थानीय जलविद्युत् तथा केन्द्रीय लाइनको पहुँच पुग्न सकेको छैन । वर्षौँदेखि अन्धकारमा बस्दै आएका स्थानीयलाई ढोरपाटन नगरपालिकाले सोलार बत्ती वितरण गरेको छ । सोलार बत्ती पाएपछि स्थानीयमा खुसी छाएको छ ।
 
नगरपालिकाले हालसम्म पनि विद्युत्को पहुँच नपुगेका दुर्गम गाउँ छ्यान्तुङ र लामखोरियाका ८० परिवारलाई सोलार वितरण गरिएको नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायतले बताउनुभयो । नगरप्रमुखको कोषबाट विपन्न परिवारलाई राहतस्वरुप सोलार वितरण गरिएको उहाँ बताउनुहुन्छ । ढोरपाटन नगरपालिकाको दुर्गम क्षेत्र अझैसम्म पनि विद्युत नभएर अँध्यारोमा जीविका चलाउँदै आएका विपन्न परिवारको समस्यालाई ध्यानमा राखी सोलार बत्ती वितरण गरिएको कायतको भनाइ छ ।
 
विद्युतकै कारण सहज सञ्चारको पहुँचबाटसमेत टाढा रहेका स्थानीयको समस्या समाधान गर्न केन्द्रीय प्रसारण लाइन विस्तारको कामसमेत हुन थालेको उहाँले बताउनुभयो । विद्युतको सेवाबाट टाढा रहेका नगरपालिकाका अन्य दुर्गम ठाउँसमेत विद्युत् पुर्याउने र केही समयभित्र बाँकी रहेका ठाउँमा सोलार बत्ती वितरण गर्ने उहाँको भनाइ छ ।
 
नगरप्रमुख कायतले भन्नुभयो, “अहिले तत्कालको समस्या समाधानका लागि सोलार बत्ती वितरण गर्यौँ, अब छिट्टै यो ठाउँमा केन्द्रीय प्रसारण लाइन ल्याउनका लागि पहल गर्छौँ, ढोरपाटनमा केन्द्रीय लाइन ल्याउने काम हुन थालेको छ, त्यहाँ आउनासाथ यी गाउँमा जडान गर्ने छौँ ।”
 
लामखोरियाका स्थानीय राममाया विकले अब आफ्ना बालबालिकाले सोलार बालेर पढ्न पाउने भन्दै खुसी व्यक्त गर्नुभयो । गाउँमा धेरै स्कुले बालबालिका रहेको भन्दै उनीहरूले अहिलेसम्म टुकीकै भरमा पढ्दै आएको विकले बताउनुभयो । हातमा मोबाइल भए पनि चार्ज गर्नका लागि टाढा जानुपर्ने बाध्यता रहेको उहाँले गुनासो पोख्नुभयो ।
 
“गाउँभरि स्कुल पढ्ने केटाकेटी छन्, अँध्यारो भयो भने सुतिहाल्छन्, बिजुली नहुँदा पढ्न पाएका छैनन्, नगरपालिकाले सोलार दिएपछि राति पनि पढ्न पाइने भयो भनेर धेरै खुसी भएका छन्, हामीलाई पनि धेरै खुसी लागेको छ”, उहाँले भन्नुभयो । “गाउँमा बिजुली ल्याउने कुरा चलेको धेरै पहिले हो अहिलेसम्म के भयो थाहा छैन, बिजुली आए त हाम्रो वर्षौँदेखिको मुख्य समस्या समाधान हुने थियो ।”
 
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले छ्यान्तुङ, लामखोरियालगायत अहिलेसम्म विद्युत्को पहुँच नपुगेका स्थानमा केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ । आगामी दुई वर्षभित्रसम्म जिल्लाका सबै स्थानमा केन्द्रीय लाइन पुर्याउने गरी काम गरिरहेको प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले जानकारी दिनुभयो । ढोरपाटनमा केन्द्रीय लाइन विस्तारका लागि काम सुरु भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago