सेवा प्रवाहमा जनताले अनुभूति गर्ने गरी सुधार गर्न मन्त्री सचिवलाई प्रधानमन्त्री दाहालको निर्देशन

  • प्रकाशित मिति : बिही, साउन २५, २०८०
  • - रासस
title

काठमाडौँ, २५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेवा प्रवाहमा जनताले अनुभूति गर्न सक्ने गरी सुधार गर्न मन्त्री, सचिव तथा विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विभागीय मन्त्रीसँग कार्यदसम्पादन सम्झौतामा हस्ताक्षरपछि मन्त्री र सचिवलाई संयुक्त सम्बोधन गर्दै उहाँले छिटोछरितो, गुणस्तरीय र लागत किफायती हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिनुभयो   । 
 
विगतमा जस्तो यो वा त्यो बहानामा आफूलाई सुम्पिएको कार्यसम्पादनअनुरूपको जिम्मेवारीमा ढिलाइ गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दैै प्रधानमन्त्री दाहालले जिम्मेवारी पूरा नगर्नेलाई कारबाही गरिने बताउनुभयो । “कार्ययोजनामा उल्लेख भएअनुसार प्रगति हासिल गर्ने मन्त्री, सचिव, विभागीय तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने र लक्ष्यअनुसार प्रगति हासिल नगर्नेलाई सोहीअनुसार अभिलेख राखी जिम्मेवारी फेरबदल गर्नेतर्फ सरकारले आवश्यक कदम चाल्नेछ”, उहाँले भन्नुभयो । 
 
प्रधानमन्त्री दाहालले मासिकरूपमा हासिल गरेको गुणात्मक प्रगतिसहितको मासिक रिपोर्ट कार्डका आधारमा कार्यसम्पादन मूल्याङ्कन गरिने बताउनुभयो । “म र मन्त्रीबीच वार्षिक लक्ष्य किटानीसहित कार्यसम्पादन सम्झौता भएको छ । मन्त्री र सचिव तथा विभागीयस्तरमा समेत कार्यसम्पादन सम्झौता भइसकेको छ”, उहाँले भन्नुभयो, “कार्यसम्पादनको नतिजा नै यहाँलाई चुनौतीपूर्ण र महत्वपूर्ण जिम्मेवारी दिने, जिम्मेवारीको निरन्तरता दिने, पुरस्कृत वा कारबाही गर्ने आधार हुने स्पष्ट पार्न चाहन्छु ।”
 
आयोजना कार्यान्वयनमा नेतृत्वको ठूलो भूमिका रहेको र कार्यान्वयनमा उत्पन्न हुने बाधा अड्चन फुकाउने र अन्तरनिकाय समन्वयको दायित्व पनि मूलतः नेतृत्वको नै भएको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले मन्त्री, सचिव तथा विभागीय प्रमुख र आयोजना प्रमुखलाई आफू मातहतका आयोजना तोकिएको समयमै सम्पन्न गर्न र प्रभावकारी कार्यान्वयनमा नतिजा हासिल हुने गरी कार्यसम्पादन गर्न निर्देश गर्नुभयो । 
 
उहाँले पूर्वतयारीबिनाका आयोजनामा रकम विनियोजन गरिहाल्ने, निर्णय प्रक्रियामा जोखिम लिन नचाहने र कानुनी झन्झट देखाउने, टेबुलटेबुलको शासन गर्न रमाउने तथा अन्तरसमन्वय गर्न नरुचाउने शासकीय प्रवृत्तिमा तत्काल सुधार गर्नसमेत निर्देशन दिनुभयो । “विकासलाई बाधा पु¥याउने तत्वको समयमै पहिचान गरी नीतिगत तथा संस्थागत सुधारका कार्यलाई अघि बढाउन र आयोजनामा सिर्जना हुनसक्ने समस्याको तत्कालै समाधान गर्नेगरी प्रभावकारी व्यवस्था मिलाउन आग्रह गर्दछु”, उहाँले भन्नुभयो । 
 
विकास निर्माणको काममा समयमै निर्णय नगर्ने र अन्तरनिकाय समन्वय गर्नुपर्ने विषयमा आवश्यक तदारुकता नलिने प्रवृत्ति नै अहिलेको मुख्य चुनौतीका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस प्रणालीलाई अन्त्य गर्नैपर्नेमा जोड दिनुभयो । 
 
प्रचलित ऐन, नियमको परिधिभित्र रही निर्णय गर्न कसैले पनि हिचकिचाउन नहुनेमा जोड दिँदै उहाँले सार्वजनिक पदाधिकारीले असल नियतले गरेको निर्णयको बचावट र कर्मचारीको संरक्षण गर्न आफू सदैव प्रतिबद्ध रहेको बताउनुभयो । 
 
प्रधानमन्त्री दाहालले मुलुकको विकास तथा समृद्विको बाधक भ्रष्टाचार उन्मूलनका लागि सरकारले अझै सशक्त कदम चाल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सुशासन, सामाजिक न्याय र समृद्विको यात्राका लागि शासकीय संयन्त्र चुस्तदुरूस्त हुनैपर्छ । सरकारका भ्रष्टाचार विरोधी अभियान र कदमबाट पछिल्लो समयमा राज्य दोहनकर्ता र तस्करहरू तर्सिएका छन्, अत्तालिएका छन् ।” 
 
आफ्नो नेतृत्वमा गठित सरकारले अर्थतन्त्रको पुनरुत्थान, सार्वजनिक सेवा प्रवाहमा सुधार, सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखी आफ्ना सम्पूर्ण शक्ति र सामथ्र्यलाई देश र जनताको हितमा परिचालन गर्न जोड दिँदै आएको उहाँको भनाइ छ । उहाँले यसबाट समाजका सबै क्षेत्रमा सकारात्मक भाष्य र सरकारप्रतिको भरोसा बढेर गएको बताउनुभयो । 
 
सो अवसरमा प्रधानमन्त्री दाहाल र विभागीय मन्त्रीबीच सरकारको चालु आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा कार्यसम्पादन सम्झौता भएको थियो । सरकारले लिएका निर्धारित उद्देश्य हासिल गर्न सबै निकायलाई जिम्मेवार बनाउने उद्देश्यले प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।

प्रतिक्रिया