महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाइने

  • प्रकाशित मिति : शुक्र, साउन २६, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, २६ साउन । काठमाडौँ महानगरपालिकाले जथाभावीरुपमा सञ्चालनमा आएका र महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाउने भएको छ ।
 
महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिङ कार्यालय भदौ १ देखि हटाउने भएको हो ।
 
महानगरपालिकाले काठमाडौँ उपत्यकाबाट बाहिर चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि तोकिएको मापदण्डअनुरुप टिकट बुकिङ कार्यालयसहित व्यावसायिक ठेगाना रहेको सम्बन्धित वडा कार्यालयमा अनिवार्यरुपमा दर्ता गर्नसमेत आग्रह गरेको छ ।
 
महानगरपालिकाले टिकट बुकिङ कार्यालय सडक चोकको सय मिटर वरपर खोल्न नपाउने, बुकिङ कार्यालयको मुख्य कार्यालय गोँगबुस्थित नयाँ बसपार्कभित्र अनिवार्यरुपमा हुनुपर्ने, नयाँ बसपार्कदेखि महाराजगञ्ज र वाफलसम्म कुनै पनि बुकिङ कार्यालय खोल्न नपाउने बताएको छ ।
 
यस्तै, बुकिङ कार्यालयमा अनिवार्य भाडादर उल्लेख गरिएको वोर्ड राख्नुपर्ने, बुकिङ कार्यालयमा टिकट काट्न आउने सेवाग्राहीका लागि अनिवार्य आधारभूत आवश्यकता ९पार्किङ, शौचालय, पानी, बत्ती बस्ने व्यवस्था० भएको हुनुपर्ने उल्लेख छ ।
 
यसैगरी, बुकिङ कार्यालयको कोठा कम्तीमा १० देखि १५  फिटको हुनुपर्ने, बुकिङ कार्यालयका कर्मचारीले पोशाक र परिचयपत्र अनिवार्यरुपमा लगाउनुपर्ने र बुकिङ कार्यालयमा बुकिङ हुने सवारी साधन लैजान नपाउने व्यवस्थासमेत गरेको छ ।
 
यसअघि महानगरपालिकाले काठमाडौँभित्र जथाभावी रुपमा टिकट बुकिङ कार्यालय खोल्ने तथा सडकमा यात्रुलाई चढाउने सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार अहिले अधिकांश सवारी साधन नयाँ बसपार्कभित्रबाट सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया