भर्खरै

रोशीमा केन्द्रीय प्रसारण लाइन पुगेपछि एक सय ३५ परिवारमा २४ सै घन्टा बिजुली

  • प्रकाशित मिति : बुध, साउन ३१, २०८०
  • - विद्युत संसार
title

काभ्रे, ३१ साउन । रोशी गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ११ स्थित कालढुङ्गामा केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय एक सय ३५ परिवारले २४सै घन्टा बिजुली बाल्न पाएका छन् । 
 
उक्त विद्युतीकरणको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले एमसिबी बक्समा ‘स्वीच अन’ गरेर उद्घाटन गर्नुभएको छ । लामाका अनुसार उक्त वडामा केही समयअघि ३८ परिवारकामा केन्द्रीय विद्युत् लाइन जोडिसकिएको थियो । “एक सय ७३ घरमा केन्द्रीय प्रसारण लाइन जडान भइसक्यो, अब वडामा बाँकी आठ घरमा छिट्टै पुर्याउनेछौँ”, लामाले भन्नुभयो । 
 
यसअघि सो वडाका बासिन्दाले लघुविद्युतबाट बिजुली बाल्दै आएका थिए । केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय निकै खुसी भएका छन् । राष्ट्रिय प्रसारण लाइन जडान हुँदा दिनरातै विद्युत् आउने भएपछि कुटानी पिसनानीका लागि अन्यत्र जानु नपर्ने तथा उद्यमसमेतका लागि निकै उपयोगी भएको स्थानीय रामबहादुर लामाले बताउनुभयो । 
 
रु पाँच करोडमा ठेक्का लगाइए पनि हाल शाखा लाइन विस्तारका लागि रु तीन करोड खर्च भएको गाउँपालिकाले जनाएको छ । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस रोशी गाउँ कार्यसमितिका सभापति दुधराज लामा र वडाध्यक्ष लालकुमार पाख्रिनले वडामा बाँकी परिवारलाई केन्द्रीय प्रसारण लाइन विस्तारका लागि निरन्तर काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया