भर्खरै

“सरकारले सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई साथ दिन्छौ ः मन्त्री बस्नेत

  • प्रकाशित मिति : शनि, भदौ २, २०८०
  • - भीमलाल श्रेष्ठ
title

ललितपुर, २ भदौ ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई साथ दिने बताउनुभयो ।    
     
दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडमार्फत विद्युतीकरणको १९औँ वर्ष पूरा भएको अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँले जनतालाई विकास अभियानको साझेदार बनाउने पद्धतिलाई थप विस्तार गरिने विश्वास दिलाउनुभयो ।     
     
“सरकारले सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई साथ दिन्छ, संविधानले सार्वजनिक–निजी साझेदारीका साथै नागरिकको सहभागितामा गरिने विकासको अवधारणालाई प्रवर्द्र्धन गरेको छ । विद्युत् सहकारीले गरिरहेको कामलाई हामी राज्यकै हिस्साका रूपमा बुझ्छौँ”, उहाँले भन्नुभयो, “विकासमा जनताको सहभागिता र अपनत्व, प्रतिफलमा साझेदारी सुनिश्चित हुनुपर्छ । हामीले यसलाई अझ बढी महत्व दिनुपर्छ ।”     
     
मन्त्री बस्नेतले सामुदायिक विद्युतीकरणको महत्त्वपूर्ण भाग सहकारी भएको र यसले गरेको काम कदरयोग्य रहेको भन्दै सामुदायिक विद्युतीकरणको प्रशंसा गर्नुभयो । जनताले चाहँदा व्यवस्था बदलिएको र त्यसैगरी आर्थिक, सामाजिक रुपान्तरणको अवस्था बदलिन पनि सक्छ भन्ने धारणा उहाँको थियो । सरकार जनतालाई खुसी बनाउने अभियानमा लागेकाहरूलाई पन्छाएर भारी बोक्न चाहँदैन भन्दै मन्त्री बस्नेतले नीतिको दास हुने होइन, जनताको जीवनमा परिवर्तन ल्याउने र खुसी बनाउनेतिर लाग्नुपर्नेतिर इङ्गित गर्दै सोहीअनुसार नीति, सिद्धान्त तय हुनुपर्नेमा जोड दिनुभयो । 
   
     
सामुदायिक अभियानमा अप्ठ्यारो पार्ने अवस्था हुँदैन भन्दै उहाँले सरकार सहयोग गर्न तयार रहेको र विकासमा जनताको साझेदारी, आर्थिक, सामाजिक रुपान्तरणमा हिस्सेदारी मुख्य केन्द्र रहेकामा जोड दिनुभयो ।     
     
बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेलले सामुदायिक विद्युतीकरणमा मन्त्री फेरिएपछि आइरहने समस्या समाधान हुनुपर्ने बताउनुभयो । उहाँले नियमावलीमा समावेश गरेर नीतिगतरूपमै सहकारीमार्फत सञ्चालित सामुदायिक विद्युतीकरणलाई सहज हुने व्यवस्था राखिनु पर्नेमा जोड दिनुभयो ।     
     
जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले प्रत्येक नागरिकलाई खुसी बनाएर सेवा प्रदान गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सामुदायिक विद्युतीकरणमा जिल्ला विकासले गरेको जस्तै अहिले समन्वय समितिले पनि सहयोग, समन्वय र सहजीकरण गर्ने बताउनुभयो ।     
     
नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले तत्कालीन समयमा स्थानीय जनप्रतिनिधि हुँदा दक्षिण ललितपुर विद्युत् सहकारी संस्था गठनको बेला संस्थापक उपाध्यक्ष भएर काम गरेको स्मरण गर्नुभयो । उहाँले जनतालाई सेवा दिने उद्देश्यले सहकारी अभियान सुरु भएको बताउनुभयो । 
   
     
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घका महासचिव गोविन्द पौडेलले सामुदायिक विद्युतीकरणको अभियानमा जनतालाई सहभागी बनाएर विद्युतीकरणका काम गर्नुपर्ने बताउनुभयो ।     
     
कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले ललितपुरको सातदोबाटोमा भएको विकास र सेवालाई हेरेर दक्षिण ललितपुरलाई तुलना गर्न नहुने भन्दै सुविधासम्पन्न स्थानीय तह र प्राकृतिक प्रकोपले बर्सेनि समस्या थपिरहने पालिकालाई एउटै रूपमा हेरिन नहुने बताउनुभयो ।     
     
संस्थाका पूर्वअध्यक्ष रामकृष्ण हुमागाईँले २०५७ साउन १७ गते सहकारी स्थापना हुँदा द्वन्द्वको चरम अवस्था रहेको स्मरण गर्दै सरकार र समुदायको आधा–आधा लगानीमा विद्युतीकरणको काम सञ्चालन भएको बताउनुभयो । संस्थाका अध्यक्ष गोविन्दप्रसाद बजगाईँले सामुदायिक विद्युतीकरणले सुधारिएको चुलो, वायो ग्यासको प्रवर्द्धनलगायतमा प्रभावकारी काम भएको बताउनुभयो ।   
     
संस्थाका उपाध्यक्ष उद्वव पराजुलीले दक्षिण ललितपुरका सात हजार पाँच सयभन्दा बढी घरघुरीमा विद्युतीकरण हुँदा गाउँघरमा नै उद्योग सञ्चालन गर्न, टेलिफोन टावर राख्न सहज भएको बताउनुभयो । ललितपुरको दक्षिणी भेगमा रहेका तत्कालीन १९ वटा गाउँ विकास समितिमा विद्युत सेवा पुगेको थिएन ।     
     
विसं २०६१ भदौ २ गतेदेखि तत्कालीन देवीचौर गाउँ विकास समितिमा सहकारीमार्फत विद्युतीकरणको ग्राहक सेवा सुरु भएको थियो । देवीचौर अहिले गोदावरी नगरपालिकाको वडा नं ७ भएको छ भने बाँकी बागमती, महाँकाल र कोञ्ज्योसोम गाउँपालिकाको वडामा परिणत भएका छन् । 
यस कार्यक्रममा यस सहकारीलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने हरुलाई विद्यागतरुपमा सम्मान कार्यक्रम गरिएको थियो । महिला उद्यमी तर्फ तिलकुमारी फुँयाल र बेलीमाया सिंतान, विद्युतीय प्रयोग गरि पिसानी मेल घरेलु उद्योग संचालन तर्फ मान वहादुर लामा,सहकारीमा उत्कृष्ट कारोबार तर्फ इन्द्र बहादुर आले र दिनेश बजगाँई, उत्कृष्ट बचतकर्ता तर्फ राज कुमार घिमिरे र गोमामाया सिंगार, लामो समय सेवा गर्ने तर्फ षडानन्द सापकोटा,डिल्ली प्रसाद बजगाँई ,सुन बहादुर लामा, श्याम कुमार सापकोटा,जगनाथ दाहाल,विजय दाहाल,पुष्पा थिङ तामाङ, मिटर रिडिङ  तथा ग्राहक सेवा तर्फ सनोद पराजुली, सागर तामाङ र मान बहादुर थोकर, महशुल तथा बक्यौता तर्फ सनोद पराजुली ,सागर तामाङमान बहादुर थोकर त्यस्तै गरी महशुल तथा बक्यैता असुली तर्फ ठाकुर प्रसाद तिमिल्सना,श्याम प्रसाद दाहाल र षडानन्द सापकोटा र लेखा व्यवस्थापन तर्फमा सिर्जना के.सी लगायत सम्पूर्ण लाई प्रमुख अतिथीको हातबाट सम्मान गरिएको थियो ।      
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार