भर्खरै

रू दुई अर्ब ३७ करोड विद्युत् बक्यौता उठाउन बाँकी

  • प्रकाशित मिति : बुध, भदौ ६, २०८०
  • - विद्युत संसार
title

बागमती, ६ भदौ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले रू दुई अर्ब ३७ करोड ८२ लाख ९८ हजार तीन सय ६० विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ ।
 
विद्युत् बक्यौता नतिर्ने हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगसहित नौ सय ४२ जनालाई कालोसूचीमा राखिएको केन्द्रका इञ्जिनियर सन्तोष चौहनले जानकारी दिनुभयो । उहाँका अनुसार सिमेन्ट उद्योगले आठ वर्षदेखि बक्यौता तिरेको छैन ।
 
इञ्जिनियर चौहनले उद्योगले हालसम्मको रू दुई  अर्ब २४ करोड विद्युत् महसुल बक्यौता तिर्न बाँकी रहेको जानकारी दिनुभयो । “उद्योगलाई विद्युत् आपूर्ति सहज गराउनका लागि ‘लोडसेडिङ’को समयमा केन्द्रले ‘डेडिकेटेड’ प्रसारण लाइन उपलब्ध गराएको थियो”, उहाँले भन्नुभयो, “त्यसबेलादेखिको महसुल तिर्न अटेर गरिरहेको छ ।”
 
उद्योगसहित विद्युत् बक्यौता नतिर्ने नौ सय ४२ लाई कालोसूचीमा राखे पनि महसुल उठाउन नसकिएको इञ्जिनियर चौहनले बताउनुभयो । महसुल नतिर्ने ग्राहकका तीन पुस्तासम्म मिटर जडान गर्न नपाइने गरी कालोसूचीमा राखिएको उहाँको भनाइ थियो ।
 
“कालोसूचीमा रहेका पाँच जनाले बक्यौता तिरेपछि कालोसूचीबाट हटाइएको छ”, इञ्जिनियर चौहनले भन्नुभयो, “पाँच जनाबाट रू एक लाख २२ हजार पाँच सय ९२ सङ्कलन गरिएको छ ।” उहाँका अनुसार सिमेन्ट उद्योगले महसुल नतिरे पनि विद्युत् वितरण भने भइरहेको छ ।
 
प्राधिकरण हेटौँडाले हाल विद्युत् चोरी नियन्त्रण गर्न सफल भएको उहाँले जनाउनुभयो । विगतमा धेरै चुहावट भए पनि अहिले सचेतनाका कारण चोरी सङ्ख्या घटेको चौहानको भनाइ थियो । विद्युत् चोरी गर्ने २१ जनाबाट प्राधिकरणले रू एक लाख ६६ हजार ९१ जरिवाना लिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया