भर्खरै

सत्र वर्षदेखि अलपत्र वायु ऊर्जा सञ्चालन गर्न माग

  • प्रकाशित मिति : बुध, भदौ ६, २०८०
  • - रासस
title

पर्वत, ६ भदौ । विगत सत्र वर्षदेखि अलपत्र बनेको यहाँको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । 
 
महाशिला गाउँपालिका–६ फलामखानीमा करोडाँैको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । दुई दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समय–समयमा मर्मतसम्भारको अभावमा गुज्रिएको छ । त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयले मर्मत गर्न माग गरेका छन् । 
 
लथालिङ्ग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायु ऊर्जा केन्द्रलाई पुनः सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । विसं २०६० मा स्थापना भएको सो केन्द्र २०६३ सालमा तीन वर्षपछि नै बन्द भएको थियो । 
 
टिटिविजी नामक संस्थाले रु एक करोडभन्दा बढीको लगानीमा वायु ऊर्जा आयोजान निर्माण गरेको थियो ।  संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि वायु ऊर्जा आयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीय ठाकुर रसाइलीले जानकारी दिनुभयो । त्यसमा भएको लगानी पनि डुबेको उहाँको भनाइ छ । 
 
फलामखानीका वडाध्यक्ष गोविन्द विश्वकर्माका अनुसार समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाँडामा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त वायु ऊर्जा स्थापना गरिएको थियो । वायु ऊर्जा सञ्चालनमा आएपछि फलामखानी, भँगरा लगायतका सयौँ घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए । उक्त वायु ऊर्जा अहिले अलपत्र परेको अवस्थामा टुलुटुलु हेरेर बस्नु परेको विश्वकर्माले बताउनुभयो । 
 
त्यत्तिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन् । हावाको मापनसमेत गर्न सकिने उक्त डाँडामा आयोजनाको काम पुनः परीक्षण गरी अगाडि बढाउन सकिने उहाँले बताउनुभयो । उक्त योजनाबाट पुनः विद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, ऊर्जा मन्त्रालय लगायतसँग माग गरिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
 
संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमले तयार पारेको एक रिपोर्टअनुसार नेपालमा तीन हजार मेगावाट विद्युुत् हावाबाट उत्पादन गर्न सकिन्छ । उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हँुदै आएको थियो । वायु ऊर्जा आयोजना पुनर्निर्माण गर्न सकेमा फलमखानी करिब तीन सय घरधुरी र छिमेकी वडा भँगरा र पाखापानीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयको भनाइ छ । 
 
गाउँपालिकाले उक्त वायु ऊर्जा आयोजनाका बारेमा विस्तृत अध्ययन गरी पुनः सञ्चालनका लागि कार्ययोजना बनाउने तयारी गरेको अध्यक्ष ईश्वरी भुसालले बताउनुभयो । चालु आर्थिक वर्षदेखि नै अलपत्र आयोजनाको व्यवस्थापनमा लाग्ने उहाँले बताउनुभयो । 

प्रतिक्रिया